न्यायको मन्दिरमा किन यति साह्रो कुस्ती

न्यायको मन्दिरमा किन यति साह्रो कुस्ती

न्याय र अन्यायको छिनोफानो गर्ने थलोलाई पहलमानीको अखडामा बदल्ने अभ्यासमा बृद्धि भएपछि न्याय क्षेत्रमा चिन्ता छाएको छ । पछिल्लो घटनाका रूपमा सहकारी पीडितहरूको पक्षबाट पैरवी गर्ने व्यवसायिक दायित्व बोकेर मैदानमा ओर्लिएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरभित्रै आक्रमण भएपछि यस्तो चिन्ता जताइएको हो । त्रिपाठीविरुद्ध रास्वपा कार्यकर्ताले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी थुनछेक बहसका क्रममा आक्रमण गरिएको थियो । 

त्यसो त २०६९ साल जेठ १८ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको दिनदहाडै ललितपुरको शंखमूलमा गोली हानी हत्या भएको थियो । हत्याको अभियोगमा चुरे भावर राष्ट्रिय एकता पार्टीका नेता बाबु थापा र कार्यकर्ताहरू भगवान थापा, शिवकुमार चौधरी, प्रेम खड्का र सञ्जय इस्माली मगर पक्राउ परेका थिए । उक्त पार्टी विभाजन हुँदा केशवप्रसाद मैनाली नेतृत्वको दललाई अदालतले आधिकारिकता दिएको भन्दै फैसला गर्ने न्यायाधीश बमको हत्या गरेको अभियुक्तहरूले सकारेका थिएनन् । दल र नेतामा देखिएको अतिमहत्वाकांक्षा र कार्यकर्ताको अन्धभक्तिका कारण न्याय दिने न्यायाधीशदेखि न्यायको पैरवी गर्ने वकिलसम्मले पिटाइ खानुपर्ने डर उत्तिकै छ । 

वकिलहरूले नै एकअर्कामाथि लात्ता हान्ने घटनाका रूपमा विराट न्यौपाने र भूमिनन्द चुँडालको कुटाकुटलाई लिइन्छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको पक्ष र विपक्षमा देखिएका यी दुवै अधिवक्ताले अदालत परिसरभित्रै उद्दण्डता देखाएका थिए ।

जाहेरवालाहरूले आवेशमा आएर अदालतभित्रै वकिल कुटेका घटना पनि प्रशस्तै छन् । हुँदाहुँदा सेवाग्राहीले आफ्नै वकिलविरुद्ध पनि मुद्दा हाल्न थालेका छन् । यस्तो चरम बेथितिले गर्दा न्यायालयप्रति जनताको विश्वासमा संकट उत्पन्न हुने खतरा बढ्दो छ । उसो त वकिल अमिर लामिछानेले जिल्ला अदालत ललितपुरभित्रै एक जना महिला कर्मचारीलाई कुटपिट र अभद्र व्यवहारसमेत गरेको घटना सार्वजनिक भएको थियो । अदालतको मिसिल नदिएको झोंकमा लामिछानेले उनलाई कुटपिट र अभद्र व्यवहार गरेको बात लागेको थियो । 

सामान्य नागरिकले जहाँबाट न्याय र सुरक्षाको अनुभूति गर्छन्, त्यसै स्थललाई पहलमानीको अखडा र लुटको धन्दा बनाउने काममा केही वकिल नै अघि सरेको अभियोग पनि लगाइएको छ । ४० लाख रुपैयाँ भन्दा बढी फिस लिए पनि मुद्दा बिगारेको भन्दै वकिल कुमारप्रसाद आचार्यविरुद्ध उनकै सेवाग्राही निप्सा श्रेष्ठ कर्माचार्यले उच्च अदालत पाटनमा ११ महिनाअघि मुद्दा दायर गरेकी थिइन्, जसको फैसला अहिलेसम्म भएको छैन र यस्तै यस्तै प्रकरणका कारण नेपालको कानुन दैवले जानुन् भन्ने आहानले प्रश्रय पाएको र बारले राम्रै शुद्दीकरण अभियान चलाउनुपर्ने खाँचो देखिएको छ। 
 

टिप्पणीहरू