सेनाको बर्दी, बालेनकै मुन्तिर मनपर्दी
अरुलाई ऐन–कानुन, आफूलाई जे गरे पनि सबैले मानुन् ! काठमाडौं महानगरपालिकामा । पुरानाको विकृति रोक्न भनी आएका नयाँको खेती झनै डरलाग्दो छ ।
जल्दोबल्दो उदाहरण हो, दुई वर्षदेखि कायममुकायम रहेका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे । सिनियरलाई पाखा लगाएर कामु नियुक्त एसएसपी दर्जाका पाण्डेलाई न स्थायी नियुक्ति दिइएको छ न त अर्काे ल्याउने महानगरको पहल नै छ । कामु बनाउनै परे पनि सिनियर विष्णु जोशी थिए । तर, बालेन र हाल बाराको सिडिओ रहेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सेटिङ्गमा उनलाई कामु प्रमुखको जिम्मेवारी दिएको अवस्था छ ।
विष्णु जोशी, राजु पाण्डे, दिनेश अर्याल, मनोजप्रसाद लामिछाने, धनपति सापकोटा सँगै सईदेखि एसपीसम्म भएका हुन् । यो टोलीमा सबैभन्दा ‘गफाडी’ पाण्डे भएको स्रोतको दाबी छ । उनका सिनियर जोशीले महानगर विपद् व्यवस्थापन शाखाको जिम्मेवारी सम्हालिरहँदा पाण्डे प्रमुख बनेपछि सापकोटाले जागिरबाटै राजीनामा दिए र हाल दर्शनशास्त्रमा पिएचडी गर्दैछन् । ‘यसलाई नयाँ पुस्ताको जोश भन्ने कि गुमाएको होश भन्ने ! बालेन आउनुअघि एसपी नगर प्रहरी प्रमुख हुने गर्थे । पाण्डेकै निम्ति एसएसपी पद सिर्जना गरी बढुवा दिइएको हो । रोचक प्रसंग त के भने, उनी कामु नियुक्त भएको भोलिपल्टै बालेनले दज्र्यानी चिह्न लगाएर सुशोभित गरिदिए । जबकि कामुलाई दज्र्यानी चिन्ह दिन मिल्दैन । यता, कामुको अवधि ६ महिना मात्र हुने कानुनी व्यवस्था छ ।
अवधि कटेपछि सो पदमा स्थायी पदपूर्ति हुनैपर्छ । तर, अहिले पनि महानगर प्रहरी बल कामुले नै हाँकिरहेका छन् । त्योसँगै बालेनको फौजले लगाउने पोशाक नेपालको प्रमुख सुरक्षा निकायसँग मेल खाने खालको छ । ठ्याक्कै सेनाको जस्तै देखिने पोशाक महानगर प्रहरीको छ । पाण्डेले लगाउने सेतो सर्ट, हरियो प्यान्ट र क्याप हुबहु सेनाको युनिफर्मसँग मिल्न जान्छ । फुली भने नेपाल प्रहरीको जस्तै खुकुरी क्रस र तारा रहेको छ ।
सिपाहीहरूले लगाउने पोशाक सेनाको भन्दा फरक छैन । झट्ट हेर्दा आम नागरिक सेना नै भनेर झुक्किने गर्दछन् । सुरक्षा निकायसँग मिल्दोजुल्दो पोशाक नलगाउने गृह मन्त्रालयको कडा निर्देशनका बाबजुद पनि महानगर प्रहरीले अटेर गरिरहेको पाइन्छ । स्रोत भन्छ, ‘गृह राज्यको एउटा प्रमुख निकाय हो । उसले दिएको निर्देशनसमेत कार्यान्वयन हुँदैन । निर्देशन नमान्नेलाई गृहले कारबाही गर्नुपर्ने होइन र !’
बर्दी सम्बन्धमा आमनागरिकमा द्विविधा उत्पन्न भएपछि गत असोज ११ गतेको गृहमन्त्रीस्तरीय बैठकले सुरक्षा निकायसँग मिल्ने पोशाक लगाउनेलाई कारबाही गर्ने चेतावनी दिएको थियो । यता, प्रहरीले गृहको निर्णय कार्यान्वयनका लागि काठमाडौं महानगरसहित एक दर्जन पालिकालाई पत्राचार ग¥यो । तर, महानगरले भने उक्त निर्देशनकै धज्जी उडाइरहेको छ । सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसी पोशाकको नियमन गर्ने बताउँछन् । उनले जनआस्थासँग भने, ‘गृहले बारम्बार पत्राचार गरिसकेको छ । एउटै खालको पोशाक हुँदा नागरिकमा द्विविधा उत्पन्न हुन्छ । तैपनि, उहाँहरूले लगाउन छोड्नुभएको छैन । हामीले बेलाबखत नियमन गरिरहेका हुन्छौं । महानगरको पोशाकका हकमा अब हेर्छौं ।’ पाण्डेको टोलीले महानगरका अन्य विभाग–शाखाको अधिकारमाथि पनि हस्तक्षेप गरिरहेको पाइएको छ । बजार अनुगमनदेखि सवारी व्यवस्थापनसम्ममा उनको सिपाही परिचालन भएका छन् । सडकमा सवारी साधनको प्रदूषण चेकजाँच महानगर प्रहरी बलकै टोलीले गरिरहेको छ । औषधि पसलदेखि होटल–रेष्टुरेण्ट, किराना पसल, अन्य दोकानमा समेत उनीहरूले छापा मारिरहेका हुन्छन् ।
महानगरले नगर प्रहरीले गर्नुपर्ने झण्डै चार दर्जन काम तोकिदिएको छ । कतै छापा हान्नुपरे सम्बन्धित विभागबाट निर्देशन हुनुपर्छ । गलत नियत राखेर उनीहरूबाट बजार अनुगमन हुने गरेको स्रोतको दाबी छ । पर्यटकीय एरिया ठमेलमा गस्ती गर्ने काम पनि उनीहरूले नै गरिरहेका छन् ।
‘मेसिन’ जस्ता नगर प्रहरी
नगर प्रहरीलाई बिहान ६ बजेदेखि राति ११ बजेसम्म काममा खटाइन्छ । दिनरात नभनीकन खटिनेले ड्युटी अवधिभर बुटसमेत खोल्न पाउँदैन । क्यामेरा पर्सन सँगै लिएर हिँड्ने राजु पाण्डेले तीन दशकभन्दा बढी समयदेखि काम गरिरहेका छन् । नगर प्रहरीसम्बन्धी विनियमावली, २०७२ मा सेवा अवधिको ३० वर्षपछि अनिवार्य अवकाश दिइने व्यवस्था छ । नियम ७८ मा अनिवार्य अवकाशबारे उल्लेख छ । भनिएको छ, ‘यो विनियमावली जारी भएपछि नियुक्त देहायका कर्मचारीको उमेर पुगेपछि वा सेवा अवधि ३० वर्ष कटेपछि अवकाश दिइनेछ ।’ त्यसैगरी, नगर प्रहरी प्रमुख प्रशासकीय अधिकृतमातहत हुन्छन् । तर, बालेनले सो अधिकार खोसेर आफ्नो हिसाबले नगर प्रहरी परिचालन गर्दै आएका छन् ।
पाण्डेको ‘डिफेन्डर’ भूपदेव
मेयरका स्वकीय सचिव भूपदेव साहसँग मिलेर पाण्डेले तोडफोड गर्छन् । आफूलाई फाइदा दिनेलाई जोगाउने र अन्यको संरचनामा डोजर चलाउने पुरानै प्रवृत्ति हो ।
जनप्रतिनिधिलाई असुरक्षित, नगर प्रहरीलाई ठीक
महानगरको ऐतिहासिक भवन ‘बागदरबार’ लाई वि.सं. २०७२ वैशाख १२ गते गएको महाभूकम्पले क्षतिग्रस्त बनाएको छ । त्यहाँबाट सरेर महानगर कमलादीस्थित काठमाडौँ प्लाजा, आएको छ । नेपाल ट्रष्टको सो भवन मापदण्डविपरीत छ । तर, बालेनले त्यसको हकमा आँखा चिम्लिएका छन् । ‘राइट टु वे’ कुनै पनि संरचना बनाउन मिल्दैन । त्यस्ता संरचनाको नक्सा पास हुँदैन । सो भवनको नक्सा पास नै नभएको स्रोतको ठोकुवा छ । वार्षिक करोडौं भाडा तिरेर बसेको महानगरले आफ्नो भवन निर्माणमा चासो देखाएको छैन । टेकुमा आफ्नै जग्गा छ । यसअघिका मेयर विद्यासुन्दर शाक्यको पालामा त्यहाँ भवन बनाउन टेण्डर आह्वान गरिएको थियो । भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुर पर्यो । वर्तमान मेयरले अन्यत्र भवन बनाउँदा भ्रष्टाचारको उजुर पर्ने डरले कि नेपाल ट्रष्टलाई करोडौं पोस्ने दाउले आफ्नो भवन बनाउन चासो नदेखाएका हुन् ? भनेर व्यापक चर्चा चलिरहेको छ । अर्कोतर्फ, बागदरबारको मर्मतसम्भारमा महानगरले चासो देखाएको छैन । जनप्रतिनिधि र कर्मचारीलाई बस्न अयोग्य भवनबाटै नगर प्रहरीले कार्यसम्पादन गरिरहेको छ ।
टिप्पणीहरू