एमाले केन्द्रीय सदस्यलाई बलात्कार काण्डमा पक्राउ पुर्जी जारी हुँदै
जबर्जस्ती करणीको आरोप लागेका एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी हुने भएको छ ।
पीडित महिला रश्मिलाकुमारी धामीले हालेको मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले भर्खरै महर विरूद्ध तामेलीमा रहेकाे मुद्दा जगाएर राम्राेसँग अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
बझाङवासी पूर्व अखिल अध्यक्ष महरविरुद्ध जबर्जस्ती करणीको जाहेरी प्रहरी र सरकारी वकिलले दर्ता गर्न नमानेपछि पीडित अदालत पुगेकी थिइन् । उनको पक्षमा बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, इन्द्र अर्याल र अञ्जना अर्यालले आज बहस गरेका थिए ।
धामीका आमा-बाबु र बहिनीसमेत अदालतमा गएर न्यायको याचना गरेका थिए । केही दिनअघि महरका भाइले अदालतमै कुटपिट गरेको भिडियो प्रमाणसमेत इजलासमा प्रस्तुत गरिएको थियो ।
आफूमाथि पटकपटक यौन शोषण भएको तर प्रतिवादीले कुनै जिम्मेवारी नलिई निरन्तर प्रताडित गर्दै आएको भन्दै उजुरी लिएर धामी बालकोट,प्रहरी र सरकारी वकिल कार्यालय धाउँदै आएकी थिइन् । कतैबाट सुनुवाइ नभएपछि माइतीघर मण्डलामा धर्नासमेत बसिन् ।
सत्ताको आडमा महरले प्रहरी लगाएर थुनाउने, मानसिक तनाव दिने क्रम झन् तीब्र पारेपछि धामीले अदालत परिसरमै विष सेवनको प्रयाससमेत गरेकी थिइन् । अन्तत: आज अदालतले न्यायका लागि उनले राखेको याचना स्वीकार गरेको छ ।
सरकारी वकिलले मुद्दा लिन आनाकानी गरेपछि शुरुमा हुलाकबाट पठाएर दर्ता गराएकी धामीले पछि थप दुई वटा मुद्दा दर्ता गराएकी थिइन् । त्यसमध्ये शुरु र अन्तिममा दर्ता रिट खारेज गर्दै अदालतले दोस्रो रिटमा यस्ताे आदेश दिएको हाे ।
टिप्पणीहरू