आफ्नै कमाण्डरमाथि चर्काे आक्रमण
मुलुककै सबैभन्दा व्यवस्थित दल भनी विपक्षीहरूद्वारा समेत प्रशंसा गरिएको नेकपा (एमाले)को आफ्नै प्रचार संयन्त्रचाहिँ कुन हालतबाट गुज्रिरहेको छ भन्ने झाँकी बुझ्न हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणी नै काफी हुनेछ ।
सम्पूर्ण सरकारी सञ्चारमाध्यमको साँचोसमेत आफ्नै हातमा लिई बस्नुभएका प्रधानमन्त्री ओलीले ‘हाम्रो पार्टीमा प्रचार विभाग भन्ने पनि एउटा छ क्यारे ! देखिन्छ के भने पशुपतिको भजनमा नाचिरहेको एउटा भाङ्ग्रेलाई ‘लैबरी..’ आधुनिक गीतमा उफारेजस्तै भयो ।’ भन्नुभएको थियो । यस्तो टिप्पणी सुनेपछि सहभागी सबैजसो हाँसे । चित्त दुखाउने पालो भने विभागीय प्रमुख राजेन्द्र गौतमको थियो । च्यासलको बैठकमा टि ब्रेक हुँदा साथीभाइसँग गफ गर्दै उनले भने, ‘यसरी बेइज्जती गर्नु नै थियो भने अलग्गै बोलाएर, हप्काएर, चित्त नबुझेको कुरा भनेर हटाइदिए हुन्थ्यो नि ! यसरी देशभरका साथीभाइको भेला डाकेर हुर्मत लिनुपर्ने नै थिएन ।’
यस्तो किन भनियो होला भन्ने सूत्र पनि आफैँले खोले, ‘एउटा ओभरसियर छ नि बालुवाटारमा, त्यसले नै कान फुकेर कुरा बिगारेको हुनुपर्छ । अध्यक्ष र महासचिव दुवैले मलाई मन पराएरै यो विभाग जिम्मा लगाएका हुन् । मैले राम्रै काम गरिरहेकै थिएँ । अचेल त न मलाई अध्यक्षसँग भेट्न दिन्छन्, न कुनै कामको जस नै दिन्छन् ।’
आफूमाथि सामाजिक सञ्जालमार्फत् निरन्तर आक्रमण हुँदा पनि प्रचार विभागले प्रतिवाद गर्न नसकेको, पार्टीविरुद्ध छरिएका भ्रमलाई चिर्न नसकेकोमा ओली सन्तुष्ट हुनुहुन्न । गौतममाथिको आक्रमण त्यसैको परिणाम हो । त्यसो त पार्टीविरोधी गतिविधिको विपक्षमा मिडिया क्याम्पेन सञ्चालन गर्न नसक्ने तर गणेश पाण्डे र हरिवल्लभ नेपाललाई प्रेस चौतारी नेपालको अध्यक्ष र महासचिवमा सर्वसम्मत गराउँछु भन्दै काँध थापेको सूचनाका आधारमा यसरी झाँको झारेको भन्नेहरू पनि छन् ।
हरिवल्लभ सिन्धुपाल्चोक घर भएका पत्रकार हुन् भने पाण्डे लमजुङका । त्यसमाथि अहिले एमालेमा बाइलाइन पत्रकारभन्दा दाइलाइन पत्रकारको बिगबिगी रहेको गुनासो व्याप्त छ । यसबीच प्रेस चौतारीले केन्द्रीय सदस्यहरूलाई वर्षको सात हजार रूपैयाँ लेबी तिर्न सर्कुलर जारी गरेको छ । यसबाट तीन वर्षको एकमुष्ट २१ हजार रूपैयाँ जम्मा गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । लेबीका रूपमा एउटा श्रमजीवी पत्रकारको निम्ति यो निकै ठूलो रकम हो । श्रमजीवी पत्रकारले फागुन २५, २६ र २७ गते विराटनगरमा हुने भनिएको महाधिवेशनमा एकमुष्ट २१ हजार रूपैयाँ कसरी जम्मा गर्न सक्लान् ? प्रश्न जटिल छ ।
चौतारीले ३ वर्षमा १ पटक केन्द्रीय समितिको बैठक राख्न सक्यो भने पछिल्लो बैठक खर्च अभावमा जुम मिटिङबाट सल्टाइएको थियो । वीरगञ्जमा एक बैठक राखेपछि एमालेले झुलाघाटदेखि चिवाभञ्ज्याङ्सम्म गरेको संकल्प यात्रा अघिको मौका पारेर दार्चुला बैठकमा कोरम नपुगेपछि त्यत्तिकै स्थगन भएको थियो । हरेक ६–६ महिनामा डाकिएको बैठक राख्नुपर्ने विधानको व्यवस्थाअनुसार कम्तीमा ३ वर्षमा ६ पटक बस्नुपथ्र्यो ।
टिप्पणीहरू