भारतद्वारा नेपाली सेनालाई राइफल फेर्न सुझाव
नेपाली सेनाको मुख्य हतियार इन्सास राइफलको सट्टा एके २०३ प्रयोगका लागि भारतले पहल थालेको छ । इण्डियन डिफेन्स रिसर्च विङका अनुसार नेपाली सेनाको क्षमता अभिवृद्धि र नेपालसँगको सम्बन्ध थप मजबुत बनाउन भारतले उक्त प्रस्ताव गरेको छ । उसले सेनालाई इन्सास प्रतिस्थापन गर्दै ‘मेड इन इण्डिया एके २०३ हतियार’ प्रयोगका लागि सुझाएको बताइन्छ ।
इन्सास पनि भारतबाट सन् २००१ देखि खरिद गरिएको हो । त्यतिबेला भारतले ७० प्रतिशत अनुदान दिएको भन्दै २६ हजार थान इन्सास राइफल खरिद गरिएको थियो । विश्वमा भारतीय सेनापछि नेपाली सेना त्यस्तो हतियार प्रयोग गर्ने दोस्रो ठूलो सेना हो ।
नेपाली सेनाले तीमध्ये छ सय थान इन्सास हतियार सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गरेको पनि उक्त विङले जनाएको छ । भारतले पछिल्ला दिनमा आफ्नो मुलुकमा बनाइएको एके २०३ राइफलको मोडल नेपाललाई प्रस्ताव गरेको र यो हतियार रुससँगको सहकार्यमा उत्तर प्रदेशको अमेठीमा उत्पादन गरिएको हो । भारतले उक्त हतियार पहिलो चरणमा नेपाललगायत छिमेकी मुलुकहरुमा बिक्रीको प्रयास गरेको सहजै अनुमान लगाउन सकिन्छ ।
टिप्पणीहरू