रुपन्देहीले के गर्ला र रविलाई ?

रुपन्देहीले के गर्ला र रविलाई ?
सुन्नुहोस्

सहकारी ठगीको अभियोग लागेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । उनी आज अपरान्ह बुद्ध एयरको जहाजमार्फत् त्यता गएका हुन् । 

कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका रविविरुद्ध जिल्ला अदालत रुपन्देहीमा पनि मुद्दा दायर भएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगीमा उनीसहित २२ जनाविरुद्ध सरकारी वकिल कार्यालयले अस्ति पूरक अभियोजन दर्ता गरेको हो । भोलि बिहान उनी रुपन्देही जिल्ला अदालत उपस्थित हुने बताइएको छ । 

१८ सय बचतकर्ताको झण्डै ८७ करोड हिनामिना भएको उक्त सहकारीबाट रवि प्रबन्धक निर्देशक रहेका बखत गोर्खा मिडिया नेटवर्क प्रालिमा करिब १४ करोड गैरकानुनी ढंगले प्रवाह भएको प्रहरीको निष्कर्ष छ । अभियोग पत्रमा चार करोड १५ लाख बिगो मागदाबी गरिएको छ । 

सूर्यदर्शन सहकारी ठगी मुद्दामा गत पुस २५ गते कास्की अदालतका न्यायाधीश नितिज राईको इजलासले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो । त्यसको एक हप्तापछि माघ २ गते स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुध्दामा काठमाडौँ जिल्ला अदालतको आदेशले ६० लाख धरौटीमा छुटे । 

रुपन्देहीमा भने उनलाई पुर्पक्षमा पुर्याउन तुलनात्मक रुपमा बलिया प्रमाण रहेको प्रहरी स्रोतको दावी छ ।

टिप्पणीहरू