दरबार हत्याकाण्डमा आमा गुमाएका चेलीहरू प्रकट

दरबार हत्याकाण्डमा आमा गुमाएका चेलीहरू प्रकट
सुन्नुहोस्

७ वर्षसम्म आमा, बुवा दुवैको भूमिका निर्वाह गरेका गोरखसमशेर राणा नेपालस्थित विदेशी बैंकको पहिलो सिइओ बन्नु र उनकी स्वर्गीय पत्नी श्रुति राज्यलक्ष्मी शाहतर्फका छोरीहरू एकैचोटि सार्वजनिक कार्यक्रममा देखिनु कुनै शुभ संकेत त होइन ? लामो समयदेखि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा कार्यरत उनी प्रमुख कार्यकारी बन्ने पहिलो नेपाली हुन् । यसैबीच, उनका दुई छोरी आफ्नो जिजुबाजे केशरसमशेरको १३३ औं जन्मोत्सवको अवसरमा राज्यद्वारा आयोजित कार्यक्रममा प्रकट भएका छन् । 

वि.सं. २०५८ जेठ १९ गते भएको दुःखद नारायणहिटी दरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य र आफ्नी आमासहित मावलीतर्फको सम्पूर्ण सदस्य गुमाएका उनीहरू पुस २३ गते जिजुबाजेको स्मरणमा केशर पुस्तकालयले पहिलोपटक आयोजना गरेको कार्यक्रममा उपस्थित भएका थिए । गोरखसमशेरसहित जेठी छोरी गिर्वाणी, कान्छी सुराङ्गना र कान्छी आमा दिप्तीतर्फबाट जन्मिएकी सौरभी पनि उक्त कार्यक्रममा सहभागी थिए । केशरसमशेरले शिक्षा क्षेत्रमा दिएको योगदानको सम्झनास्वरुप उनको परिवारजनसँगको सल्लाहमै पुस्तकालयले पहिलोपटक कार्यक्रम आयोजना गरेको हो । 

करिब ३४ रोपनी क्षेत्रफलमा फैलिएको केशर पुस्तकालयमा स्वप्न बगैँचा छ । केशरसमशेरले २५ हजार पुस्तक उक्त पुस्तकालयलाई दान दिएका छन् । शिक्षाविद्समेत रहेका उनले दिएको योगदानको कदरस्वरुप पुस्तकालयले आइन्दा हरेक वर्ष यस्तो कार्यक्रम गर्ने भएको छ । 

जिजुबाजेको सम्मानमा आयोजित कार्यक्रममा सरिक दिदीबहिनीको अनुहार निकै मलिन देखिन्थ्यो । सँगै बसेका उनीहरूको चेहरामा आमाको अभाव प्रष्टै झल्किएको थियो । सानै उमेरमा आमाको न्यानो काख र ममता गुमाएका ती दिदीबहिनीलाई देखेपछि उपस्थितहरूलाई सो कालरात्रिको झल्झली याद आउने नै भयो । दरबार हत्याकाण्डको २३ वर्ष बितिसकेको छ । तर, शुक्रबारको त्यो त्रासदीपूर्ण रातलाई सर्वसाधारणले अहिलेसम्म बिर्सिन सकेका छैनन् । दरबार हत्याकाण्डमा राजा वीरेन्द्र वीरविक्रम शाहदेवको वंश सखाप भएको थियो । 

सो दिन श्रुतिसँगै दरबार गएका गोरख पनि गोली लागेर गम्भीर घाइते भएका थिए । लामो समय छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत उनले ती अवोध छोरीहरूलाई कसरी हुर्काए होलान् ? कल्पना पनि गर्न सकिँदैन । दूधे अवस्थामै आमा गुमाएका छोरीहरूलाई उनले बिदेशमा पढाए,भौतिक सुविधामा कुनै कमी हुन नदिई बढाए । तर,बुवाले जतिसुकै प्रयास गरे पनि आमाको अभाव त कसरी पूर्ति हुन सक्थ्यो र ! दरबार हत्याकाण्ड हुँदा जेठी गिर्वाणी भर्खर दुई वर्ष ११ महिना ११ दिन पुगेकी थिइन् । वि.सं.२०५५ असार ८ गते जन्मिएकी उनले केही समय भए पनि आमाको ममता अनुभव गर्न पाइन् । 

तर,कान्छी छोरी सुराङ्गना सात महिना १४ दिनको हुँदा नै आमाको छहारी खोसियो । वि.सं. २०५७ कात्तिक ५ गते जन्मिएकी उनलाई आमाको अनुहारसमेत राम्ररी स्मरण छैन होला । आमा श्रुतिझैं उनीहरूले पनि जावलाखेल र विदेशमै पढेका हुन् । आमाले पढेकै सेन्ट मेरिज स्कूलमा अध्ययनरत उनीहरूलाई बुवाले भारत पठाए । मिडियाबाजीका कारण मानसिक तनाव हुने डरले देहरादुनस्थित वेल्हम गल्र्स स्कूलमा भर्ना गरिएका उनीहरूले त्यहीँबाट माध्यमिक शिक्षा पुरा गरी बेङ्ग्लोर गए र हाल दुवैले दिल्ली युनिभर्सिटीबाट मास्टर्स सकाएका छन् । 

गिर्वाणी हाल बेलायतमा अध्ययनरत छिन् । सानैदेखि शिक्षा क्षेत्रमा औधी रुचि राख्ने उनी जावलाखेलस्थित एक गैरसरकारी संस्थामा जोडिएकी थिइन् । ट्युसन फि तिर्न नसक्ने बालबालिकाका लागि स्रोत जुटाइदिन्थिन् । कान्छी सुराङ्गना पनि बिदेशमै उच्च शिक्षा अध्ययनरत रहेको बुझिएको छ । दरबार हत्याकाण्डबाट विक्षिप्त गोरखसमशेरले सात वर्षपछि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको भाइकी छोरी दिप्ती चन्दसँग विवाह गरेका छन् । 

भक्तपुरस्थित एसओएस हर्मन माइनर स्कूल पढेकी दिप्ती र गोरखको एक छोरी छिन् । भदौ २४ गते  उच्च शिक्षाका लागि बहिनीसङ्गै बेलायत गएकी गिर्वाणी बुवा सिइओ नियुक्त हुनुभन्दा एकदिन अगाडि सोल्टी होटेलमा आयोजित खुशियाली कार्यक्रममा सहभागी हुन पुस ३ गते नेपाल आएकी हुन् । सुराङ्गना भने कात्तिक २७ गते साथीहरूसँग अजरबैजान घुम्न गएर मंसिर १० गते स्वदेश फर्किइन् । सर्वसाधारणझैं केशर पुस्तकालयको कार्यक्रममा उपस्थित उनीहरूलाई पत्रकारहरूले तपाईंहरूमध्ये कुन कान्छी,कुन जेठी ? भनेर प्रश्न गरेका थिए । 

गिर्वाणीले ‘म जेठी हुँ’ भनी शालिन पाराले जवाफ फर्काइन् । ठमेलस्थित हिमालयन जाभा र जिएएको आडमा पछाडि बस्ने उनीहरूको सार्वजनिक कार्यक्रममा सरल शैलिको उपस्थिति देख्ने कतिपयले दल र नेताहरूप्रति आक्रोश पोख्दै बेलायतझैं राजसिंहासनमा बसाल्नुपर्ने त यी पो हुन् भनेर टिप्पणी गरेका थिए  । 

एकताकाका राजाको नातिनी भए पनि उनीहरूमा थोपै घमण्ड छैन । न हाईफाई गरेर हिँडेकै देखिन्छ  । सञ्चारमाध्यमबाट टाढै र गुमनाम छन् । सार्वजनिक कार्यक्रममा पनि बिरलै उपस्थिति जनाउने उनीहरू सामाजिक सञ्जालमासमेत खासै सक्रिय छैनन् । राजतन्त्र हुँदा उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिआइपी कक्ष उपलब्ध हुन्थ्यो होला । अहिले सर्वसाधारणझैं लाइन लागेर सुरक्षा जाँच पार गर्दै विमानसम्म जान्छन् । सर्वसाधारणजसरी स्वतन्त्र भएर आफ्नो कर्ममा लाग्न पाउँदा खुशी नै देखिन्छन् ।

टिप्पणीहरू