रामदेव र बालकृष्ण आचार्यलाई खोज्दै प्रहरी
चर्चित भारतीय आयुर्वेदिक कम्पनी पतञ्जलीका संस्थापक बाबा रामदेव र उनका ‘दाहिने हात’ भनेर चिनिने प्रबन्धक निर्देशक आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भारतको केरलास्थित पलक्काड जिल्ला अदालतले दुई वर्ष पुरानो (भ्रामक विज्ञापन) प्रकरणमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताइएको छ ।
पतञ्जली समूहले आफ्ना उत्पादनहरुले उच्च रक्तचाप र मधुमेहजस्ता रोगहरु निको पार्ने दावीसहित विज्ञापन सामाग्री तयार पारेका थियो । तर नेत्र विशेषज्ञ डा. केभी बाबुले पतञ्जलीले भ्रामक प्रचार गरिरहेको भन्दै केरला औषधि नियन्त्रण विभागको ध्यानाकर्षण गराएका थिए ।
विभागले गत वर्ष अक्टोबरदेखि पतञ्जलीउपर कानुनी कारवाही सुरु गरेको थियो । विभागले रामदेव र आचार्यविरुद्ध ड्रग्स एण्ड म्याजिक रेमेडिज ऐन, १९५४ को कसुरमा मुद्दा दर्ता गदै सोही ऐनको दफा ३ (डी) बमोजिम कारबाही माग गरेको थियो । पतञ्जलीको भ्रामक विज्ञापनविरुद्ध भारत विभिन्न जिल्ला अदालतमा ११ मुद्दा दर्ता भएको छ । तीमध्ये १० मुद्दा केरलाका अदालतमा विचाराधीन छन् ।
पछिल्लो समय पलक्काड जिल्ला अदालतले रामदेव र आचार्यलाई जनवरी १६ तारिखमा अनिवार्य उपस्थित हुन आदेश दिएको थियो । तर उनीहरु उपस्थित भएनन् । त्यसपछि अदालतको ४ नम्बर इजलासले उनीहरुलाई पक्राउ गरेर फेब्रुअरी १ तारिखमा उपस्थित गराउन आदेश दिएको छ ।
रामदेवको पतञ्जली योगपीठमाथि नेपालको काभ्रेपलाञ्चोकमा पनि ३५३ रोपनी जग्गा अपचलन गरेको आरोप छ । आयुर्वेद फार्म चलाउने भनिएको उक्त जग्गामा डोजर लगाएर प्लटिङ गरिएको छ ।
टिप्पणीहरू