घर घरमा सहकारी, नेता जति जेलभरि
गाउँ–गाउँमा सहकारी, घर–घरमा भकारी भन्ने एमाले नारा अहिले एमालेकै नेताहरूका लागि गलपासो हुन थालेको छ । अहिले घर–घर सहकारी, नेता जति जेलभरि भन्ने अवस्था आएको छ । राजधानी काठमाडौँस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता हुँदा काभ्रेकी कल्पनाकुमारी श्रेष्ठ पनि घानमा परेकी छन् ।
उनी २०७९ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार थिइन् । एमाले जिल्ला कमिटी सदस्य पनि हुन् । एमाले काभ्रेबाट प्रतिनिधित्व गर्ने तेमाल घर भएका प्रदेश सांसद ज्ञानबहादुर लामा पनि सहकारी ठगीमा जोडिएका छन् । एमाले नेता जेनिस लामा र गोकुल बाँस्कोटाकै जन्मथलो नयाँ गाउँका रुद्र तामाङलाई पनि सहकारीको रकम बचत फिर्ता गर्न नसकेको आरोप लागेको छ । भुम्लु गाउँपालिका ५ सल्ले घर भएकी कल्पना सहकारी ठगीमा फरार देखिएपछि मुद्दाको किनारा नलाग्दासम्म पार्टी सदस्यबाट समेत निलम्बन गर्ने तयारी छ । अहिले जिल्ला कारागार कार्यालय काभ्रेमा दर्जनभन्दा धेरै सहकारी ठगी प्रकरणका नेताहरू छन् भने फरारको सूचीमा पनि उत्तिकै छन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविसहितका व्यक्तिसँग बयान र थुनछेकको बहसबाट धरौटीमा रिहा भए पनि काठमाडौँ, चितवन, रूपन्देही र वीरगञ्जलगायत जिल्लामा अनुसन्धान जारी छ । काभ्रेका विभिन्न सहकारीमा संलग्न व्यक्तिहरू ठगी अभियोगमा पक्राउ परेका छन् भने कान्तिपुर फाइनान्सका कांग्रेस नेता सिबी लामा समातिएका छन् । पातलेखेत घर भएका रामबहादुर गौतमको सहकारी पनि ठगीको सूचीमा छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा सहकारीसम्बन्धी मुद्दा दर्ता हुने क्रम जारी छ । ऋण नउठेर ऋणीविरुद्ध सहकारीले पनि मुद्दा दर्ता गरिरहेका छन्् । काठमाडौँ जिल्ला अदालतमा कल्पनाकुमारीसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
दैलेख जिल्ला घर भई भुम्लु गाउँपालिका वडा नम्बर ५ सल्ले घर भएकी कल्पना उक्त सहकारीको पूर्वअध्यक्ष तथा कर्मचारीका रूपमा कार्यरत थिइन् । नागरिकता नम्बर ९३१२१/२०४४, जारी मिति २०५५ साल भदौ १२ गते उनले दैलेखबाट लिएकी थिइन् । एमाले सम्पर्क मञ्चलगायत विभिन्न कमिटीमा काम गर्दागर्दै भुम्लुका रामबहादुर श्रेष्ठसँग विवाह गरेर सक्रिय भइन् । जिबी राईलगायतलाई सहकारी हस्तान्तरण गरेकी उनी सामान्य परिवारकी हुन् । स्वर्णलक्ष्मी सहकारीमा कल्पनाकुमारी पहिले अध्यक्ष थिइन् । रवि लामिछानेसहितको प्रवेशपछि कर्मचारीमात्रै रहिन् । प्रहरीले उनलाई फरार भनेको छ । एमाले काभ्रे जिल्ला कमिटीमा उनी दोश्रो कार्यकालको सदस्य हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पुस २१ गते आइतबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । सहकारीको एक अर्ब १९ करोड ९५ लाख रूपैयाँ अनियमितता गरेको आरोपमा रवि लामिछानेसहित जिबी राई, छविलाल जोशी, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हेमन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता गरेको छ । त्यस्तै, सविना आले मगर, भक्तबहादुर भ्लोन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्वलेखा समिति सदस्य सुनिता नेवा, पूर्वसदस्य शान्तिकुमारी सुवेदी, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नवीन अछामी, पूर्वअध्यक्ष कल्पनाकुमारी श्रेष्ठ, पूर्वसञ्चालक समिति सदस्य राजु बरालविरुद्ध पनि मुद्दा छ ।
टिप्पणीहरू