वामदेवको भावुकता : भएभरको रगत र पसिना बगाएको छु
नेपालका कम्युनिष्ट पार्टीहरुलाई एकीकृत गर्ने उद्देश्यसहित वामदेव गौतमले दुई वर्षअघि ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरेका थिए । यसबीचमा उनले नेकपा (एमाले)मा सम्मानजनक प्रवेशका लागि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘भैँसीपाटे क्षेत्रको जिम्मेवारी भए पनि दिनुस्’ भन्दै बिलौना गरेको खबर एमाले नेता तथा कार्यकर्ताहरुले प्रचार गरेका थिए ।
तर ओलीले त्यसतर्फ कुनै रुची नदेखाएपछि उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग हिमचिम बढाएको घटनाक्रमले देखायो । पछिल्लो एक महिनायता अध्यक्ष नेपाल र गौतमबीच विभिन्न चरणमा संवाद पनि भयो । पार्टी समायोजनका लागि दुई दलले वार्ता समिति बनाए । तर अहिले गौतम पुनः एमालेमै फर्किने मनसायमा पुगेको देखिन्छ ।
पुस १७ गते आलोकनगरस्थित माधव नेपालको पार्टी कार्यालयमा भेटेर निस्कँँदै गर्दा ‘हामी एक हुने भयौँ’ भनेका गौतमले आखिर कसरी एमालेमा फर्किने निर्णय गरे ? कारण खोज्दै जाँदा जोडिन्छ पुस २७ गतेको बैठक । उक्त दिन बसेको अभियानको केन्द्रीय कमिटीको बैठकले कुनैपनि दलसँग पार्टी समायोजन गरेपछि भविष्यमा सामना गर्नुपर्ने सम्भावित घटनाक्रमबारे छलफल गरेको थियो ।
अधिकांश नेताहरुले माधव नेपालको नेकपा एसभन्दा एमाले नै उपयुक्त पार्टी हुने तर्क राखेको बैठकमा सहभागी नेता डिबी कार्कीले जानकारी दिए । उनका अनुसार पार्टी समायोजनको निम्ति उपयुक्त हुने दलको पहिलो नम्बरमा एमाले, दोस्रोमा नेकपा (एस) र तेस्रोमा माओवादी केन्द्रको विकल्प राखियो । ‘नेकपा (एस)का कमरेडहरुले हामीलाई विश्वासको दृष्टिकोणले हेर्नुभएन’, कार्कीले जनआस्थासँग भने, ‘त्यसपछि एमालेसँग संवाद अघि बढ्यो । पहिले पनि कुरा भइराखेकै थियो, तर यसपटक निर्णायक रुपमा कुरा भएको छ ।’
अस्ति शुक्रबार प्रधानमन्त्री ओलीलाई भेट्न गौतम बालुवाटार पुगे । भेटमा गौतमले ‘किन झुलाइरहुनभएको मलाई ?’ भनेर सोधेपछि प्रधानमन्त्री ओलीले ‘पहिले के के कुरा मिलिरहेको थिएन, अब पुरानो कुरा छाडौँ, यतै आउनुस्, सँगै हिँडौँ’ भनेर जवाफ दिएपछि घटनाले नयाँ मार्ग लिन खोजेको बताइन्छ ।
प्रधानमन्त्री ओलीको ‘मूड’बारे राम्रैसँग जानकारी राख्दै आएका गौतमले आज बिहान पनि लामै संवाद गरेको कार्कीले बताए । प्रधानमन्त्री ओलीले फोनमा दिएको प्रतिक्रिया उद्धृत गर्दै कार्की भन्छन्, ‘तपाईं (गौतम)लाई यहाँ आएर सम्मानजनक तरिकाले बस्ने र काम गर्ने वातावरण म बनाउँछु, एक दुई दिनमा म फोन गर्छु अनि भेटेर औपचारिक घोषणाबारे निर्णय गरौँला ।’ नेता गौतम पनि बेला बेलामा ‘भएभरको रगत र पसिना एमालेमा बगाएको छु’ भन्दै भावुक हुने गरेको कार्कीले सुनाए ।
टिप्पणीहरू