मैले रविको साथ छाडिसकेँ
सुनेको थिएँ, खाएको विष लाग्छ । तर, ममाथि खाँदै नखाएको विष लागेको छ । गर्दै नगरेको गल्तीको बात लाग्दा चित्त दुखेको छ । अनाहकमा दुःख पाउनुपरेको छ । सहकारी ठगीमा फरार गितेन्द्रबाबु उर्फ जिबी राईको मेरो टेलिभिजन ‘मुनलाइट टेलिभिजन एचडी’ मा प्रत्यक्ष सेयर रहेको समाचार प्रकाशन भएपछि कम्पनी रजिष्ट्रारको कार्यालयले छानबिन गरी प्रमाण फेला नपरेपछि छाडिदिएको छ ।
मेरो टेलिभिजनमा जिबीको एक रूपैयाँ पनि लगानी छैन । सिम्रिक एयर र अन्नपूर्ण मिडिया हाउसका साहुजी क्याप्टेन रामेश्वर थापासँग सहकार्यमा टेलिभिजन खोल्ने सहमति भएको थियो । तर, उहाँ बीचमै निस्किहाल्नुभयो । त्यसपछि सो टेलिभिजन मैले नै चलाएको हुँ । त्यसमा जिबीको कुनै संलग्नता छैन ।
केही समयदेखि टेलिभिजनमा गीत मात्रै बजिरहेको छ । कारोबार ठप्प छ । विज्ञापन बजाउन पनि छाडिएको छ । एकचोटि दर्ता गरिसकेको च्यानल किन बन्द गर्नु भनेर वर्षैपिच्छे नवीकरण गराइराखेको हुँ । नवीकरणबाहेक टेलिभिजनको न कुनै खर्च छ न आम्दानी । बाध्यात्मक रूपमा चलाइरहेको टेलिभिजनमा जिबीको लगानी भनी समाचार प्रकाशन भएपछि मलाई धेरैले सम्पर्क गरे ।
नभएको कुराको जवाफ कसरी दिऊँ ? अर्कोतर्फ समाचारमा मलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तत्कालीन चितवन जिल्ला सभापति भनिएको छ । मैले रास्वपा छोडेको धेरै भयो । त्यहाँबाट म प्रभु शाहको आम जनता पार्टीतिर आएँ । केन्द्रीय सदस्य बनेँ । आइटी आर्मीमा पनि सक्रिय थिएँ । छोडिसकेको पार्टीसँग जोडेर नाम नउछालिदिएको भए हुने थियो ।
– धर्मेन्द्र सापकोटा, सञ्चालक
टिप्पणीहरू