बालेन गाडीमा कसको लाग्याे आँखा

बालेन गाडीमा कसको लाग्याे आँखा
सुन्नुहोस्

काठमाडौं महानगरका मेयर बालेन साह चर्चामै छन् । सिंहदरबार जलाउँछु भन्ने अभिव्यक्तिदेखि एमालेको जनसभामा फोहोर गरेकाले एक लाख जरिवानाको पुर्जी काटेर पनि उनले सामाजिक सञ्जालमा वाहवाह कमाइरहेका छन् । 

तर उही बालेन नेतृत्वको कार्यालयमा भने बालेन कारतिर कसले आँखा लगाइरहेको छ भन्ने कुरा कसैले वास्तै गरेका छैनन् । फोटोमा देखिएको नीलो रंगको गाडीलाई बालेन ब्राण्ड बनाइएको छ । यो कार पूर्वमेयर विद्यासुन्दर शाक्यले चढ्ने गर्दथे । मेयरका लागि दुईवटा सवारीसाधन सुविधा नभएकाले कार्यालयले किनिदिएको यो सुजुकी कम्पनीको बालेनो गाडी उनले निकै कम प्रयोग गरे । 

तर यही बालेनो कार अहिले बालेन कारमा फेरिएको छ । यसलाई बालेन ब्राण्ड बनाएर चढिरहेका छन् बालेनसँगै भारतमा पढेका बुटवलका सुनिल लम्सालले । सुनिलले बालेनको पूर्वाधार सल्लाहकारका रुपमा मेयरका लागि किनिएको गाडी चढिरहेका छन् । 

बालेन जत्तिको मान्छेले बालेनो ब्राण्डलाई बालेन ब्राण्ड बनाउन सक्नु पनि खुबीकै कुरा हो । त्यसमाथि पनि सल्लाहकारलाई सरकारी गाडी दिएर महानगरको नीति नियमलाई चाहिँ धोती लगाइदिएका छन् । 

मेयर, उपमेयर र जनप्रतिनिधिका लागि महानगरले सेवा सुविधासम्बन्धी कार्यविधि बनाएर सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । तर बालेनो गाडीलाई बालेन गाडी बनाएर कार चढ्ने सुविधा भने कसैलाई छैन । तथापि बालेनको करबलले सहकर्मी साथी सल्लाहकारलाई कार, इन्धनसमेत सुविधा दिइएको छ । 

बालेन साहका पिए भूपदेव साहले पनि सरकारी सवारी दुरुपयोग गरिरहेका छन् । जुन कानुनतः मिल्दैन तर महानगरमा बालेन राज छ ।

मेयरको सचिवालयमा दर्जनभन्दा धेरै व्यक्ति छन् । अवैतनिक सल्लाहकार भन्दै नियुक्ति दिने र विभिन्न बैठक वा अनुगमन भत्ताका नाममा लाखौ रुपैयाँ सुविधा दिइएकै छ । 

बालेनो गाडीलाई बालेन बनाएर चढ्नेलाई सवारी दुरुपयोगसम्बन्धी उजुरी लाग्न सक्छ । तर, त्यही बालेन गाडी सुनिल लम्सालले दुर्घटना गराएपछि महानगरको वातावरण विभागका अमुक कर्मचारीको नाममा राखेर मर्मत गरिएको श्रोतले जानकारी दिएको छ । 

अहिले काठमाडौं महानगरमा बालेनको भन्दा पनि सचिवालयको मनोमानी चल्छ । दशौं दहका विभागीय प्रमुखहरुलाई सचिवालयका नाममा काम गरिरहेका दारीहरुले तह लगाइरहेका छन् । 

अहिले महानगरको मुख्य योजनाकारहरुमा कुमार व्यञ्जनकार, सुनिल लम्साल, भूपदेव शाह, शहरी योजना आयोगका नाममा शैलेन्द्र झा, सूचना प्रविधिको अवैतनिक सल्लाहकारका रुपमा बुटवलको तिलोत्तमा नगरपालिकातिर कम्प्युटरमा काम गरिहेका सुदिप ढकाललाई ल्याएर सूचना प्रविधि विभागमा राखिएको छ । 
 

टिप्पणीहरू