आफ्नै छात्रा ताक्दाचाहिँ जेल जान नपर्ने ?

आफ्नै छात्रा ताक्दाचाहिँ जेल जान नपर्ने ?

लिखतसम्बन्धी कसूरमा दोषी ठहरिएका हेड सरले अदालतको अवहेलना गरेको पाइएको छ । अदालतले जेल सजायँ तोकिसकेका ती हेडसरले पदमा बसेर कामकाज गर्न पाऊँ भन्दै काठमाडौं महानगरपालिकालाई पत्र लेखेको खुलेको छ । राजधानीको धुम्बाराहीस्थित प्रोलिफिक माध्यमिक विद्यालयका प्रिन्सिपल गोपालबहादुर महतले महानगरलाई लेखेको पत्र जनआस्थाले फेला पारेको छ । 

महतलाई लिखतसम्बन्धी कसूरमा ६ महिना कैद र पाँच हजार रूपैयाँ जरिवानाको सजायँ सुनाइएको छ । काठमाडौं महानगरसमेतले दायर गरेको मुद्दामा न्यायाधीश कपिलमणि गौतमको इजलासले गत भदौ ७ गते सुनाएको फैसलाको पूर्णपाठ आइसकेको छ । अदालतले सजायँ सुनाइसकेपछि सोही पदमा बसेर काम गर्न पाऊँ भन्न नैतिकता र कानुन दुवैले नमिल्नुपर्ने हो । तैपनि, उनले सञ्चालक समिति तथा शेयर धनीहरूबाट निर्णय गराएर दर्ताका लागि महानगरमा पत्र पठाएका हुन् । 

भदौ २० गते महानगरको शिक्षा विभाग प्रमुखलाई संबोधन गर्दै लेखिएको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा सम्पूर्ण क्रियाशील शेयरधनी तथा विद्यालय सञ्चालक समितिको बैठकबाट यस विद्यालयलाई पूर्ण समय दिई अगाडि बढाइरहनुभएका श्री गोपालबहादुर महतज्यूलाई अर्को व्यवस्था नहुँदासम्म प्रधानाध्यापक पदमा नै रही कामकाज गराउन, गर्न लगाइएको जानकारी सम्बन्धित पक्षमा सूचित गरिन्छ ।’

कानुन व्यवसायीकाअनुसार अदालतबाट दोषी ठहर भएको व्यक्तिले सो पदमा बसेर काम गर्न मिल्दैन । उनले भने कानुन लत्याएर अहिले पनि विद्यालयका सम्पूर्ण प्रशासनिक कामकाज आफैंले सम्हालिरहेका छन् । विद्यार्थीको रिपोर्ट कार्डमा पनि उनले नै हस्ताक्षर गरेका छन् । जुन गैरकानुनी हो । महतले पैसा लिएर विद्यार्थीको प्रवेशपत्रमा तलमाथि गर्ने मात्र नभई सञ्चालक समितिमा भएकाहरूको पनि नक्कली हस्ताक्षर गर्दै आएको प्रमाण भेटिएको छ । 

समितिमा रहेकी अञ्जना महत नेपालमा छैनन् । महतको पारिवारिक नाता पर्ने अञ्जना लामो समयदेखि अष्ट्रेलियामा बस्छिन् । तर, महतले उनको नाम राखेर आफैंले हस्ताक्षर गर्दै आएका छन् । महानगरमा पठाइएको पत्रमा अञ्जनाको नाम लेखेर हस्ताक्षर गरिएको छ । 

‘उनले विगतदेखि नै बेइमानी गर्दै आएका छन् । अदालतको आदेश लत्याएर पदमै बसिरहेका छन् । उनले किर्ते गरेको जानकारी पाउँदापाउँदै पनि काठमाडौं महानगरको शिक्षा विभागले कारबाहीमा चासो देखाएको छैन । यसले विभागका पदाधिकारी र उनको मिलेमतो भएको प्रष्ट छ’, स्रोतले भन्यो । उनले झुक्याएर सो पत्र राष्ट्रिय परीक्षा बोर्डमा दर्ता गराएको स्रोतको दाबी छ । 

महानगरले पत्र दर्ता गर्न इन्कार गरेपछि जालझेल गरेर बोर्डमा पत्र दर्ता गराएका हुन् । स्रोतकाअनुसार शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्माले विद्यालयबाट गएको सो पत्र दर्ता गर्न मानेका थिएनन् । महतको यो काण्ड हालसम्म बाहिरिएको भन्दा गम्भीर रहेको छ । प्रवेशपत्रमा गडबडीजस्तो अपराध गरेका उनले एक छात्रामाथि यौन दुव्र्यवहार गरेको स्रोत बताउँछ । उनको दुव्र्यवहार सहन नसकेर ती महिला विदेश भासिएकी छन् ।
 

टिप्पणीहरू