मुखले मात्रै भनेर कहाँ चिनिन्छ नटवरलाल !
कसैले नराम्ररी ठग्यो भने त्यस्तालाई भारतमा मिष्टर नटवरलाल भनेर चिनिन्छ । तर, बोलिचालीमा चिनिने ती नटवरलाल खासमा हुन्चाहिँ को त ? बिहारको राजधानी पट्नादेखि १५० किलोमिटरको दूरीमा रहेको जिरादहीमा उनको घर थियो । सन् १९१२ मा जन्मेका उनी गाउँलेका लागि सम्मानको नाम हो । वास्तविक नाम थियो, मिथिलेशकुमार श्रीवास्तव । १९९६ मा अन्तिम पटक दिल्लीबाट गायव भएका नटवरलालको मृत्यु भइसकेको अनुमान गरिन्छ ।
भारतभरि १५० भन्दा बढी मुद्दा चलेका उनलाई १०९ वर्षको जेल सजायँ तोकिएको थियो । धेरै वर्ष सजायँ तोकिए पनि जम्मा २० वर्ष मात्रै जेलमा बसेर छुटेका थिए । कतिपय सन्दर्भमा त उनलाई अरु सजायँबाट उन्मुक्ति पाउन उनी भागेका थिए पनि भन्ने गरिन्छ । बाउन्न नामबाट चिनिएका नटवरलालले समाजसेवी र एनजिओकर्मीको रूपमा मानिसलाई छक्याउ“थे । रतन टाटा र धिरुभाइ अम्बानीजस्ता ठूला व्यापारीलाई समेत झुक्याए । मिष्टर नटवरलाल, बन्टी और बब्लीजस्ता फिल्म उनको चटकका आधारमा बनिसकेका छन् ।
सानैमा मिथिलेशकुमार श्रीवास्तव अर्थात् नटवरलालले अर्काको हस्ताक्षर हुबहु चोरेर ठगी गर्न सिकेका थिए । कुनै छिमेकीले बैंकबाट पैसा ल्याइदिन अह्राएपछि उनले हस्ताक्षर कसरी दुरुस्तै गर्न सकिन्छ भनेर सिके । त्यसपछि पटक–पटक झिक्न थाले । जब बैंकमा रकम सकिएको थाहा पाएर ती छिमेकीले सोधपुछ गरे त्यसबेला तिनै मिथिलेश भन्ने व्यक्ति आएर सबै रकम लगेको बैंकबाट थाहा पाए । कानुनको समेत पढाइ गरेका उनले मान्छेहरूलाई कसरी छक्याउँथे भन्ने कुरा आश्चर्यजनक विषय बन्ने गरेको छ । कन्नडका सुरेन्द्र शर्माको घडी पसलमा उनले कसरी ९३ वटा घडी ठगेका थिए भन्ने कहानी त झनै रोचक छ ।
राजीव गान्धी प्रधानमन्त्री र नारायणदत्त तिवारी अर्थमन्त्री भएका बेला नटवरलाल घडी पसलेकहाँ पुगी आफूलाई पिएको परिचय दिएछन् । मन्त्रीज्यू, एउटा समारोहमा सबैलाई घडी उपहार दिन चाहन्छन्, त्यसैले मलाई सबै घडी प्याक गरिदेऊ भनेछन् र भिआइपी कार्यालय रहेको नर्थ ब्लकमा एउटा स्टाफलाई पेमेण्ट लिन पठाउनु भनेछन् । रकम भुक्तानीको लागि बैंकमा पुग्दा, चेक नक्कली भएको थाहा भएपछि नटवरलालबाट ठगिएकोमा छक्क पर्ने पालो पसलेको थियो ।
उनी पढ्न कलकत्ता बस्दा घरबेटीलाई कसरी ठगेका थिए भन्ने कहानी पनि रोचक छ । घरबेटीको छोरालाई ट्युसनसमेत पढाउन थालेका नटवरलालले घरबेटीसँग पैसा मागेछन् । तर, उल्टै पैसा नदिएपछि साढे चार लाख ठगी गरेर बेपत्ता भएछन् । अंग्रेजी बोल्न र राम्रोसँग मान्छेलाई पत्याउने गरी कुरा गर्न सिपालु उनले तीन पटक संसद भवन र ताजमहलसमेत बेचेका थिए । दुरुस्तै कागजात र सरकारी छाप लागेको डकुमेण्ट देखाएर नटवरलालले ती सरकारी भवन विदेशीलाई बेच्ने गरेको इतिहास छ । उनी जेलमा भएको बेला श्रीमतीको पटक–पटक पत्र आउने तर एउटा पनि पत्रको जवाफ श्रीमतीलाई पठाएनन् । ६–७ पटकसम्म पनि जवाफ नफर्काएपछि जेलका अधिकारीले सोधेछन् – किन पत्र नफर्काएको ?
यत्तिकैमा एउटा पत्र लेखेर जेलको पोष्ट बक्समा राखिदिएछन् । अधिकारीले खोलेर हेर्दा । लेखिएको थियो– ‘मैले खेतमा गहना गाडेर राखेको छु, त्यहीँबाट काम चलाउनू ।’
खेतभरि अधिकारीले खोतलेछन् । तर गहना भेटिएन । नटवरलालले लगत्तै अर्काे पत्र श्रीमतीलाई लेखेछन्– ‘जेलमा बसेर मैले यति नै सहयोग गर्न सकेँ । खेत खनिइसकेको छ, अब फसल लगाउनू ।’ अर्काे एउटा प्रसंग । एउटा सुनुवाइमा न्यायाधीशले नटवरलाललाई सोधेछन् –मानिसलाई ठग्न कसरी सम्भव छ ? उनले भनेछन्, तपाईं मलाई एक रूपैयाँ“ दिनुस् अनि म बताउँछु । न्यायाधीशले एकको नोट नटवरलाललाई दिन्छन् । त्यसपछि नटवरलाल भन्छन्– ‘म कसैलाई ठगी गर्दिनँ, माग्दा खुरुक्क दिन्छन् भने यसमा मेरो के दोष !’
टिप्पणीहरू