नियुक्ति खान नमान्ने कमरेडका ताँती

नियुक्ति खान नमान्ने कमरेडका ताँती

पार्टीका काम र योजना हेरेर संगठित हुने र नेताका शैली तथा व्यवहार भोगेपछि विश्रृंखलित हुने क्रम नेकपा एमालेभित्र निकै बढेको छ । बागमती प्रदेश कमिटीले भर्खरै आयोजना गरेको सल्लाहकारहरुको शपथग्रहण समारोहमा यस्तै देखियो । प्रदेश कमिटीको अध्यक्ष रामेछापका कैलाश ढुंगेल छन् । डाडु पन्यु आफ्नै हातमा भएका बेला दामाशाही नगर्ने यिनको पुरानै बानी हो । सल्लाहाकार नियुक्ति होस् वा विभागीय कमिटी सबैमा रामेछापको हुल नै छिराएका छन् । सल्लाहकारमा ३० जनाको नाम हाले । अरु जिल्लाका भाग खोसी नियुक्त ३० मध्ये १९ कार्यकर्ताले अस्वीकार गरिदिएका छन् । 

एक कार्यकर्ता भन्छन्– बागमतीमा १३ जिल्ला छन्, रामेछापका मात्र ३० जनाले शपथ खाने हो भने अनुपातमा अरुले पनि त्यति नै पाउनुपर्‍यो नि ! यसरी हेर्दा ३९० जना त सल्लाहकार नै पो हुनेभए । यस्तो पक्षपातपूर्ण नियुक्ति कसरी स्वीकार्नु ? एक सामान्य कार्यकर्ताको जत्ति पनि विवेक नपु¥याई गरिएको आफ्नै जिल्लाको नियुक्ति नखानेहरुको संख्या झण्डै दुई तिहाइ रहेको छ । यस्तो अवस्थामा एक नेताले जिल्लामा कसरी राजनीति गर्नु ? अर्का कार्यकर्ताको टिप्पणी छ ।

कैलाशको एकलौटी नियुक्ति अस्वीकार गरी विद्रोह गर्नेहरुमा कुमार कार्की, कमल कडरिया, उद्धव कडरिया, जिएन दाहाल, पुष्प पौडेल जीवन्त, युवराज पाख्रिन, समर बोहोरा, रमेश बस्नेत, महेश श्रेष्ठ, कृष्णहरि अधिकारी, इन्द्र तामाङ, केशर बुढाथोकी, टंक चौलागाईं, पाल्देन लामा, ज्ञानकुमार योञ्जन, प्रदीप योञ्जन र यतनहरि सुवेदीलगायत छन् । 
अपहरणकर्तालाई मानव अधिकार

कैलाशले प्रदेश कमिटीद्वारा गठित मानवअधिकार विभागमा भने ०७४ सालको निर्वाचनअगाडि उनैलाई अपहरण गर्ने ठेकेदार दिपेन्द्र कार्कीलाई सदस्य बनाएका छन् । कार्कीले ०७४ सालको टिकट अर्का ठेकेदार रत्न गौतमलाई दिन्छु भनेर पनि नदिएको भन्दै कैलाशलाई मन्थलीबाट अपहरण गरी गाडीमा काठमाडौं ल्याएका थिए । प्रदेशको टिकट मिलाइदिने भन्दै कैलाशले ठेकेदारद्वय रत्न र दिपेन्द्रसँग लामो समयदेखि आर्थिक सहयोगदेखि अन्य लाभ लिइरहेको बताइन्छ ।

तर जब केन्द्रले टिकट नै उनैको हातमा दिई पठायो, रत्नलाई दिनुको सट्टा कार्कीले आफ्नै नाम सिफारिश गरे । त्यसपछि क्रुद्ध बनेका ठेकेदार र पेटी ठेकेदारहरुको समूहले कैलाशलाई अपहरण गरी काठमाडौं ल्याएको हो । मन्थलीमा कैलाशलाई समाउनासाथ उनले लगाइरहेको कोट फुकालेर हुर्‍याई लछारपछार गर्ने दिपेन्द्र नै भएको घटनामा संलग्न एक कार्यकर्ता बताउँछन् । तर अहिले कैलाश यही समूहसँग मिलेर फेरि प्रदेश संसदमा उठ्ने तयारीमा छन् । बागमती प्रदेशको पूर्ण कार्यकाल अर्थमन्त्री भएर पनि रामेछापबाट हार व्यहोरेका कैलाशले संघीय संसदको उम्मेदवारमा ठेकेदार रत्न गौतमलाई सिफारिश गर्ने र आफू फेरि प्रदेशमै उठी मुख्यमन्त्री हुने योजना बनाएको सुन्नमा आएको छ । 

– टुका भट्ट
 

टिप्पणीहरू