न्यायाधीश छान्ने ठाउँमा कांग्रेस झन् बलियो

न्यायाधीश छान्ने ठाउँमा कांग्रेस झन् बलियो
सुन्नुहोस्

दर्जन प्रतिस्पर्धीका बीच न्यायपरिषद्को सदस्यमा आखिर वरिष्ठ अधिवक्ता दामोदर खड्काले बाजी मारेका छन् । शनिबार बसेको बार कार्यसमितिको बैठकले सर्वसम्मत सिफारिस गरेसँगै खड्कालाई चार वर्षका लागि परिषद् सदस्य बन्न मार्गप्रशस्त भइसकेको छ । न्यायाधीश नियुक्ति, कारबाही, सरुवा, बर्खास्तजस्ता विषयमा परिषद् शक्तिशाली निकाय हो । 

बार प्रतिनिधिका रूपमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठले पुस १५ गते अवकाश पाएपछि सदस्य पद रिक्त थियो र सर्वोच्च, उच्च र जिल्ला न्यायाधीश नियुक्तिमा बाधा–अड्चन उत्पन्न हुँदै आएको थियो । उक्त एक सिट सदस्यका लागि एक दर्जन वरिष्ठ अधिवक्ता आकांक्षी थिए । स्रोतका अनुसार वरिष्ठ अधिवक्ता खड्काका अतिरिक्त हरिशंकर निरौला, प्राडा अम्बरप्रसाद पन्त, प्राडा रजितभक्त प्रधानांग, महादेव यादव, गुणनिधि न्यौपाने, सुजन लोप्चन, रेवत खरेल, सविता भण्डारी बराललगायतको नाममा छलफल चलेको थियो ।

खड्कालाई सिफारिस गराउन कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ उपसभापति पूर्णबहादुर खड्का ‘फ्याक्टर’ ले काम गरेको प्रतिस्पर्धीमध्येका एक वरिष्ठ अधिवक्ताले जानकारी दिए । खड्का पूर्णबहादुरका प्रिय थिए । खड्का, यादव, रन्जितभक्त र निरौलामध्ये कसलाई सदस्य बनाउने भनेर देउवा दोधारमा परेका बेला पूर्णबहादुरले खड्काको पक्षमा दह्रो अडान राखेको र परराष्ट्रमन्त्री रहेकी देउवापत्नी आरजु राणासमेत उभिएकी थिइन् । खड्काको विकल्पमा देउवा प्रधानमन्त्री हँदा ०५८ सालमा महान्यायाधिवक्ता बनेका यादवलाई हेरिएको थियो । 

कांग्रेसकै अन्तर्घातका कारण सर्वोच्च बारको अध्यक्ष हारेका खड्काप्रति देउवाले समेत अन्तिममा सहानुभूति दर्शाएका हुन् । यति मात्र नभै खड्का बूढानीलकण्ठ नगर कांग्रेसको सभापति भइसकेकाले पनि देउवालगायतसँग बाक्लो हिमचिम थियो । उनलाई परिषद्मा पुर्‍याउन देउवा सरकारका पूर्व न्यायाधिवक्ता खम्मबहादुर खातीको पनि जोडबल रहेको बताइन्छ । उनका लागि देउवाले शनिबार बिहान बार अध्यक्ष गोपालकृष्ण घिमिरेलाई फोन गरेर निर्णय गर्न भनेका थिए । ‘नियुक्त हुने अन्तिम समयमा अरु प्रतिस्पर्धीलाई ढिला भयो भन्दै सभापतिले फर्काउनुभएको थियो,’ बूढानीलकण्ठ स्रोत भन्छ, ‘खड्कालाई पूर्णबहादुर र आरजुको दबाब नभएको भए सायद यादव परिषद् सदस्य हुन्थे होलान् ।’ 

बार महासचिव अञ्जिता खनाललगायत माओवादी र समाजवादीबाट सदस्य बनेकाहरूले ९८ वर्षीय वयोवृद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी सविता बराललाई पठाउँदा समावेशी हुने भन्दै प्रस्ताव गरेका थिए । तर, बारमा डेमोक्र्याटको बहुमतका अगाडि उनीहरूको केही जोड चलेन । परिषद्मा खड्काको उपस्थितिपछि कांग्रेसनिकटको प्रष्ट बहुमत पुग्ने अवस्था देखिएको छ ।

परिषद् अध्यक्ष रहेका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत पनि कानुन व्यवसायी छँदा देउवाको सल्लाहकार थिए । पदेन सदस्य रहेका कानुनमन्त्री अजयकुमार चौरसिया पनि कांग्रेसकै हुन् । उनी विद्यार्थी नेता हुँदै देउवानिकटका रूपमा चिनिन्थे । खड्का पनि थपिएपछि परिषद्मा कांग्रेस संस्थापनको बलियो उपस्थिति हुने अवस्था आएको छ । बाँकी दुई सदस्य सपना मल्ल प्रधान र रामप्रसाद भण्डारी ‘सम्भव’ को पृष्ठभूमि एमालेनिकट थियो । 

टिप्पणीहरू