अर्काे सहकारी पनि नेताले पारे चुर्लुम्मै
जो अगुवा उही बाटो...भन्ने उखान चरितार्थ गर्दै धनकुटामा माननीय भैसकेका र बहालवाला सांसदसहित सत्ताधारी दल एमालेका नेता–कार्यकर्ताले एउटा सहकारीलाई चुर्लुम्मै पारेको प्रमाण भेटिएको छ । जिल्लाकै प्रतिष्ठित संघसंस्था र पालिकाको नेतृत्व गरिसकेका, प्रतिनिधिसभाको सांसद तथा अहिले पनि‘माननीय’ रहेकाहरूले ऋण लिएर नतिर्दा जिल्ला सदरमुकामकै एक सहकारी संकटग्रस्त अवस्थामा पुगेको छ ।
१ करोड ७ लाख ९२ हजार पुँजी र ८ सय ७७ जना शेयर सदस्य रहेको त्यो सहकारी धनकुटा बचत तथा ऋण सहकारी संस्था लि. को साँवा मात्र साढे ३ करोड रूपैयाँभन्दा बढी ऋण कालोसूचीमा राख्नुपर्ने अवस्थाका कारण साधारणसभामा बोनस र भत्ताको त कुरै छाडौं, शेयर माग्नेलाई फिर्ता दिनसक्ने अवस्थासमेत छैन ।
यस्तै अवस्था उजागर गर्दै एमाले समर्थक खेमनाथ घिमिरेको नेतृत्वमा सञ्चालक समिति रहेको संस्थाले बडो हिम्मतका साथ आफ्नै माननीयसहित १ सय जना ऋणीको नामावली सार्वजनिक गरेको छ । पुस २५ गते सम्पन्न २० औं बार्षिक साधारणसभाको प्रतिवेदनमा ब्ल्याक लिस्टेड भिआईपीहरूको नाम मुछिएको हो । कालो सूचीमा पर्नेमा तीन चार हजारदेखि तीस चालिस लाख नतिर्ने पनि छन् । जसमा धनकुटाकै पालिकाका पूर्वजनप्रतिनिधि, कोशी प्रदेशका वर्तमान माननीय इन्द्रमणी पराजुलीदेखि प्रतिनिधिसभाका पूर्वसदस्य गोपाल गुरागाइँसम्म छन् । गुरागाइँले यो सहकारीबाट २०७६ साल कात्तिक ९ गते डिपोजिट लोन शीर्षकमा ४ लाख लिएका थिए ।
०८०/८१ को अन्त्यसम्म सो ऋणको ब्याज मात्रै ३ लाख ७५ हजार ५ सय ५० रूपैयाँँ पुगेको छ । त्यसो त अहिले धनकुटा ‘ख’ बाट निर्वाचित एमाले सांसद इन्द्रमणि पराजुली नौ–दश वर्षसम्म ऋण नतिर्ने खतरनाक ऋणीको रूपमा देखिएका छन् । उनले २०७२ साल असार ३१ गते बिजनेस लोन शीर्षकमा लिएको ऋणको साँवा ७ लाख ८६ हजार ७ सय ७० रूपैयाँँ तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । हाल कालोसूचीमा परे पनि उनले ब्याज र हर्जाना भने तिर्दै आएको देखिन्छ । ब्याजबापत १ लाख १२ हजार ३ सय ९५ रूपैयाँँ तिर्न बाँकी छ ।
कालोसूचीमा पर्ने खराब ऋणीमा धनकुटाको चौबिसे गाउँपालिकाकी एमालेबाट निर्वाचित पूर्वउपाध्यक्ष यज्ञकुमारी रुचाल पनि छिन् । उनले पनि २०७२ सालमै ऋण लिएकी थिइन् । कालोसूचीको १ सयौँ नम्बरमा नाम रहेकी लोन नम्बर ४००१००१०८६ की रुचालले २०७२ असार ३१ गतेकै मितिमा २१ लाख ९७ हजार ५ सय ४५ रूपैयाँँ ‘बिजनेस लोन’ लिएकी थिइन् । ऋणको ब्याज ७ लाख ५ हजार ८४ रूपैयाँँ पुगिसकेको छ । सहकारीलाई धराशायी बनाउनेमा राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधि मात्रै होइन, संघसंस्थाको नेतृत्व गरिसकेका व्यक्ति पनि छन् । जसमा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उमेश घिमिरे पनि पर्छन् ।
उनले सहकारीबाट २०७० साल असार ३२ गते बिजनेस लोन शीर्षकमा लिएको ऋणको साँवा मात्रै २९ लाख ५१ हजार ७ सय ३० रूपैयाँँ तिर्न बाँकी छ । सो ऋणको ब्याज अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म ८ लाख ११ हजार १ सय १३ रूपैयाँँ पुगेको छ । उमेश मात्रै होइन, श्रीमती कल्पना घिमिरेको नाममा अघिल्लो वर्ष अर्थात २०७९ असार ३२ गते २० लाख १८ हजार ६ सय ३७ रूपैयाँँ बिजनेस ऋण लिइएको प्रतिवेदनमा उल्लेख छ । सो ऋणको ब्याज तथा हर्जना ७ लाख ४६ हजार ८ सय ९३ रूपैयाँँ पुगिसकेको छ ।
कालोसूचीमा पर्ने एक सय जनामा धेरैजसो सर्वसाधारण परे पनि सामाजिक र राजनीतिक रूपमा परिचित अन्य ब्यक्ति पनि छन् । जसमा २०७६ सालमा ९ लाख १७ हजार ऋण लिएर नतिर्ने बुद्धिकान्त घिमिरे, २०७५ सालमा ७५ हजार ऋण लिएर ब्याजसमेत नतिरेका ज्ञानबहादुर कटुवाल, २०७६ सालमा १ लाख ऋण लिएर तिर्नुपर्ने झण्डै दोब्बर बनाउन लागेका फुर्वा तामाङ, २०७६ सालमै ३७ लाख ४८ हजार ५ सय ऋण लिएर तिनुपर्ने १५ लाखभन्दा बढी ब्याज पकाइसकेका सन्देश राई, २०७६ चैत ९ गते ३५ लाख १७ हजार २ सय ५० रूपैयाँ ऋण लिएर १७ लाख ७७ हजार ८ सय ९७ रूपैयाँ ब्याज भइसक्दा पनि नतिर्ने सुरेन्द्र राई, २०७९ असार २३ गते २४ लाख ७२ हजार १ सय ऋण लिएर ९ लाखभन्दा बढी ब्याज तिर्नुपर्ने अवस्थाका सुन्दर खड्का, २०७९ सालमा १२ लाख ३४ हजार ७ सय ३० ऋण लिएर नतिर्ने अनित अधिकारी, सोही वर्ष १३ लाख ४५ हजार ७ सय ५८ रूपैयाँ ऋण लिएर साँवा ब्याज नै नतिर्ने गणेश पोख्रेल, २०७६ सालमा ९ लाख ६२ हजार ५ सय ऋण लिएर हालसम्म एक सुको पनि नतिर्ने चन्द्रप्रसाद रोक्कालगायत छन् ।
कूल १ करोड ७ लाख ९२ हजार मात्रै शेयर पुँजी रहेको संस्थाले लगानी गरेको र १ सय जनाले लगेको ऋण साँवा ३ करोड ५४ लाख ९६ हजार २ सय ३८ रूपैयाँ नउठेर कालोसूचीमा परेको छ । सोको ब्याज र हर्जाना जोड्दा १ करोड ५६ लाख ८५ हजार ६ सय ६५ रूपैयाँ हुन आउँछ । सहकारीले ऋण लिएर नतिर्नेहरूको नामावली कालोसूचीमा राखेर सार्वजनिक मात्रै गरेको छैन, अध्यक्षको प्रतिवेदनमा नै एक महिनाभित्र हिसाबकिताब नगरेमा ऋणीको नामावली नियमानुसार पत्रपत्रिका तथा सञ्चार माध्यममा प्रकाशन गरी कर्जा सूचना केन्द्रमा पठाउने र कारबाही तथा समन्वयका लागि नियामक निकायमा लेखी पठाइने उल्लेख छ । सहकारी यति कठोर भएको छ कि ३ हजार ९ सय ६८ रूपैयाँ ऋणको साँवा र ८ सय ३५ रूपैयाँ मात्रै ब्याज तिर्न बाँकी ऋणीको नाम पनि कालोसूचीमा परेको छ ।
प्रतिवेदनमा लेखिएको छ ‘सदाशयता रहँदा रहँदै पनि हामी अब धितो लिलामको प्रक्रियामा पुग्नुपर्ने अवस्थामा छौं ।’ यद्यपि, धितोमा कति र बिनाधितो कति ऋण लगानी गरिएको छ भन्ने खुलाइएको छैन । हाल सहकारीको ७ जनाको सञ्चालक समितिमा खगेन्द्र सुवेदी उपाध्यक्ष, धनकुटाको चौबिसे गाउँपालिकाका पूर्वअध्यक्ष खजिन्द्र राई सचिव, केदार दाहाल कोषाध्यक्ष र घुममाया राई, उर्मिला श्रेष्ठ र विशाल तामाङ सदस्य छन् । सबैजसो एमालेकै नेता, कार्यकर्ता सञ्चालक रहेको संस्थामा हाल १ जना कम्प्युटर अपरेटर र ५ जना बचत संकलक छन् ।
यसअघि यो संस्थाले एम्बुलेन्ससमेत चलाएको थियो । केही वर्षअघि रहस्यमय तरिकाले गायब पारेर बिक्री गरियो । बिक्री गरेको केही समयपछि सो एम्बुलेन्स जिल्ला प्रहरी कार्यालय धनकुटाले जफत गरी फिर्तासमेत ल्याएको थियो । तर, त्यसपछि सो एम्बुलेन्स चलेन । त्यसैले त्यो एम्बुलेन्स पनि सम्झनामा मात्रै सीमित भएको छ ।
– संकल्प निरौलाबाट
टिप्पणीहरू