निकिताले पनि रविलाई छाड्ने दिन आउँछ

निकिताले पनि रविलाई छाड्ने दिन आउँछ
सुन्नुहोस्

पुस २९ गते आइतबार नर्भिक हस्पिटलबाट डिस्चार्ज भएको छु । सात–आठ लाख रूपैयाँँ खर्च भयो । मुटुका दुइटै भल्भमा स्टेन राखिदिएका छन् डाक्टरले । एउटा भल्भ नाइन्टी फाइभ र अर्को पनि नाइन्टी प्रतिशत ड्यामेज भएको रहेछ । सबैसँग भेट्न लेख्या रैछ र त म बाँचें । मैले साई स्वागत सहकारीबाट ८३ लाख रूपैयाँ लिनुपर्ने थियो । त्यो नै कटाउने शर्तमा छोडिएको हो । अघिल्लो महिना मलाई प्रहरीले किन समाते भनेर निकै बेर घोत्लिएँ । त्यस सहकारीको पुरानो अध्यक्ष भएको नाताले समातिएको रहेछु । मैले खाए/मासेको केही होइन, मेरा पालामा कारोबार भएको पनि होइन ।

सहकारीमा रवि लामिछानेकी पत्नी निकिता पौडेलसँग जोडेर मलाई व्यर्थैमा बदनाम गरियो । त्यसो त निकिताका नाममा नटवरलालले पैसा लगेका हुन् । तैपनि, मलाई हिरासतमा केही दिन राखियो । त्यसपछि मुटुको रोगी भएको कारण उपचारका लागि नर्भिक हस्पिटलमा ल्याएर भर्ना गरियो । केही बिसेक भएपछि पुस १५ गते घर फर्किएँ । यसैबीच, भारतको बैंग्लोरबाट मलाई सम्मान गर्ने खबर आयो । सम्मान थापेर फर्किएलगत्तै नर्भिक हस्पिटलमा उपचारका लागि पुनः भर्ना भएँ । आइतबार डिस्चार्ज भएको छु । मेरो उपचार वरिष्ठ चिकित्सक यादव भट्ट र शिवजी सिलवालले गर्नुभएको हो । ०७० सालमा पनि यही स्वास्थ्य समस्याबाट गुज्रेको थिएँ । यिनै डाक्टरका कारण ७८ वर्षको उमेरमा भ्रष्टाचारविरोधी म बाँच्न पुगेँ । 

यसबीच सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा ६५ लाख धरौटी बुझाएर जेलबाहिरबाटै मुद्दाको पुर्पक्षका निम्ति पूर्वगृहमन्त्री रवि लामिछानेले छुटकारा पाएका छन् । तर, उनलाई क्लियरेन्स लिन निकै गाह्रो छ, अहिले पनि उनी अभियुक्त नै हुन् । कानुनअनुसार मुक्त भएका होइनन् । र, लामिछानेले सहजै मुक्ति पाउने अवस्था पनि छैन किनभने सारा प्रमाण उनको खिलाफमा छन् । कान्छा न्यायाधीश नितिजकुमार राईले चोख्याएर छोडेको होइन । धरौटी राखेर बाहिर बसी मुद्दाको पुर्पक्ष गर्ने अवसर मात्र दिएका हुन् । उनले ठगी त ठहर नै गरेका छन् ।

यस्तो मुद्दामा तारेख लिनका लागि अर्को मान्छे वा वारेस राख्न पाइँदैन, उनी स्वयं प्रत्येक तारिखमा हाजिर बजाउन कास्की अदालतसमक्ष आफैं उपस्थित हुनुपर्छ । राईले राम्रो गरे पनि नराम्रो गरे पनि ९० दिनभन्दा बढी थुनामा राख्न नसक्ने अवस्थालाई मात्रै निरन्तरता दिएका हुन् । मैले नजिकबाट चिनेका रवि लामिछानेको हात्तीका झैँ देखाउने र चपाउने दाँत फरक छन् । उनी क्रिमिनल माइण्डका मान्छे हुन् । पृष्ठभूमि हेरियो भने पनि यो कुरा प्रष्ट हुन्छ । उनको पृष्ठभूमि नै अपराधीको छ । हिन्दी उखान जाते–जाते सनम हमको भी बर्बाद कर दिया भने जस्तै मलाई भएको छ । ५५ वर्षको मेरो करिअरमा यस्तो धब्बा लगाए पनि मलाई चिन्ने कसैले यो कुरा पत्याउँदैनन् । 

कान्तिपुरले मेरो बारेमा नभएर उसैको लागि लेखेको हो । प्रहरीले अनुसन्धान गर्दा मलाई सहकारीको भूतपूर्व अध्यक्ष भनेको छ, उल्टै मेरो पैसा सहकारीसँग लिन बाँकी देखिएको पनि भनेको छ । मलाई कुनै कागज गराएको छैन । लामिछाने र उनकी पत्नी निकिताबारे केही सोधेको छैन । यी दुवैसँग सम्बन्ध नभए पनि त्यत्तिकै छड्के हानेर मलाई हिरासतमा राखिएको हो भन्ने लाग्छ । रवि लामिछानेलाई मात्रै पूर्वाग्रह राख्यो, प्रतिशोध साँध्यो भनेर घण्टीहरूले हल्ला गरेपछि मलाई हिरासतमा लिइएको हो । एमालेका इच्छाराज तामाङ, देवकुमार नेपाली, शिवशिखर र तुलसी सहकारीका केदार शर्माहरू जेलमा छन् ।

एमाले नेता तथा सहकारी बैंकका केन्द्रीय अध्यक्ष केबी उप्रेतीसमेत डिल्लीबजार कारागारमै छन्, संसदीय लेखा समितिका सभापति ऋषि पोखरेलपत्नी अञ्जला पोखरेल धरौटीमा छुटे पनि अभियुक्त नै हुन् । यसैबीच, धनराज गुरुङले श्रीमती ज्योतिले सहकारीको नामबाट खाएको ८४ लाख रूपैयाँ पनि तिरेको अवस्था छ । यस्तो बेला मलाई पुलिसले बोलायो तर बयान भने लिएन । यतिखेर रवि लामिछानेको बारेमा जति सत्य बोल्यो त्यति आपूm छुच्चो हुने अवस्था छ । मेरो ५५ वर्षको करिअरलाई एकै झट्कामा समाप्त पार्न खोजे तर म सिद्धिन्न, सूर्यलाई हत्केलाले छेक्न खोजेर छेकिन्न । साई स्वागत सहकारीको मुद्दामा निकितालाई पनि तान्छन् भन्ने लाग्दैन । तर, एउटा कुरा भने पक्का छ, निकिताले रविलाई छोड्ने दिन डेफिनेट्ली आउँछ, आउँछ ।

 

टिप्पणीहरू