तरकारी बजार मन्त्रालय

तरकारी बजार मन्त्रालय

भर्खरै सुन्नमा आयो कि बागमती प्रदेशको एउटा मन्त्रालय कतै ठाउँ नपाएर तरकारी बजारको भवनमा सारिएको छ रे । कठै ! मन्त्रालयको बिजोग । मन्त्रालय त बन्यो तर राख्ने ठाउँ छैन । यताउता खोज्दै गर्दा भर्खर बनेको तरकारी बजारको भवन भेटिएछ । मन्त्रालय त्यहीं राखियो । तरकारी पसलमा मन्त्रालय राखियो भनेर अहिले हेटौंडाका मेयर फायर छन्, नेताहरू रिसाएका छन् । 

हो पनि, तरकारी पसलमा मन्त्रालय राख्न नहुने हो । धन्न, मन्त्रालय राख्ने घर खोज्दै जाँदा तरकारी पसल भेटिएछ र त्यहीं हालेछन् । त्यसको सट्टा नगरपालिकाले बस पार्कमा बनाउँदै गरेको सार्वजनिक शौचालय भेटेको भए के गथ्र्यो होला ? मन्त्रालय त्यहीं हाल्थ्यो ? नहाली सुख्ख पनि छैन । किनभने सरकारले मन्त्रालय छुट्याइसक्यो, मन्त्रीले गाडीमा झण्डा हालिसक्यो । अनि शौचालयमा बनाएको मन्त्रालयमा बस्दिन भनेर पाइयो ?

तथापि, तरकारी बजारमा मन्त्रालय राखेर पनि ठिकै भयो । मन्त्रालय मात्र भएर के गर्नु, मन्त्रीको कामै छैन । अब तरकारी बजारमै मन्त्रालय राखेपछि मन्त्रीले तरकारी बेचेर भए पनि दिन काट्न त सकिने भयो नि । होइन र ?

टिप्पणीहरू