सभापति छुटे पनि नछुटे पनि मुन्तिरकालाई सकस

सभापति छुटे पनि नछुटे पनि मुन्तिरकालाई सकस
सुन्नुहोस्

सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पूपक्र्षको निम्ति थुनामा पठाउन पर्याप्त आधार हुँदाहुँदै कास्की जिल्ला अदालतले गत बिहीबार साँझ ६५ लाख धरौटीमा रिहा गर्न आदेश दियो । आदेश दिएका न्यायाधीश नितिज राईविरुद्ध न्याय परिषदमा उजुरी परिसकेको छ । 

पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा सभापति लामिछाने धरौटीमा रिहा भएपछि रास्वपा कार्यकर्ताहरुमा खुशी छाएको देखिन्छ । तर पार्टीकै केही नेताहरु भने आश्चार्यमा परेको रास्वपाभित्रै एकथरीको चर्चा छ । खासगरी उपसभापति डा. स्वर्णिम वाग्ले सभापति लामिछानेको धरौटीमा रिहाइपछि अचम्ममा परेको भन्नेहरु पनि कम छैनन् ।

रास्वपा स्रोतका अनुसार कास्की जिल्ला अदालतले लामिछानेलाई धरौटीमा नछाड्ने विषयमा उपसभापति वाग्ले अन्य केही नेताझैँ लगभग ढुक्क देखिन्थे । लामिछानेविरुद्ध अन्य जिल्लामा पनि ठगीमा अनुसन्धान भइरहेको र सो क्रममा प्रहरीले विभिन्न प्रमाण फेला पारेको सूचना उनीहरुले पनि प्रहरी संयन्त्रबाटै लिएको स्वतः बुझिन्छ । 

लामिछाने पूर्पक्षको निम्ति थुनामा जाने भन्ने अनुमानपछि पार्टीको नेतृत्वबारे आफू अनुकूलको धारणा बनाउन एकथरी लागिपरेका थिए । ‘तर सभापतिज्यूको रिहाले उहाँहरुलाई अप्ठेरो परेको पाइयो । बरु डिपी दाइ जसरी पनि सभापतिज्यूलाई बाहिर ल्याउने रणनीतिमा हुनुहुन्थ्यो । तर स्वर्णिम दाइहरुले हामीसँगको अनौपचारिक गफमा धेरैपटक सभापतिज्यू भित्र (थुना) जाने ठोकुवा गर्नुभएको थियो । त्यो उहाँहरुको भित्रैदेखिको चाहना थियो वा सतही भगवान जानून,’ स्रोतले भन्यो । 

उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारीमा छाडिदिनु पनि वाग्लेको निकट भविष्यमा पार्टी नेतृत्व हातमा लिने रणनीति अन्तर्गतकै एक कदम भएको उनी इतरका नेताहरुको भनाई छ । ‘नत्र उहाँ (वाग्ले) त्यत्तिकै साइड लाग्ने मान्छे होइन । आगामी महाधिवेशनमा डिपीसँग चुनाव लड्ने रणनीति छ । तर सभापतिज्यूको मुद्दामा आउने फैसलाले मात्रै उहाँको रणनीतिलाई आकार दिन्छ’, स्रोतले खुलायो । 

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा यता काठमाडौँ जिल्ला अदालतले भने लामिछानेलाई न्यायिक हिरासतमा पठाएको छ । हिजोबाट शुरु थुनछेक बहसको क्रम आज सार्वजनिक बिदा भएकाले भोलि पुनः हुनेछ । त्यस्तै, सुप्रिम सहकारी ठगी प्रकरणमा पनि लामिछानेविरुद्ध पर्सि (बिहीबार) रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ताको तयारी छ ।

टिप्पणीहरू