सरकारी बिजनेस कम्प्लेक्स
डेढ अर्ब स्वाहाऽ पारेर बनाएको ‘दमक भ्यू टावर’ हालै उद्घाटन भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट हालै यसको उद्घाटन भएको हो । उहाँकै हातबाट शिलान्यास भएको थियो । उहाँकै हातबाट उद्घाटन भयो । तर शिलान्यासदेखि उद्घाटनसम्म पुग्दा यसको नामचाहिँ परिवर्तन भइरहेको रहेछ । शिलान्यास गर्दा ‘दमक भ्यू टावर’ थियो । उद्घाटन हुँदा ‘दमक बिजनेस कम्प्लेक्स’ भइसकेछ । प्रम ओलीले भन्नुभयो– ‘यो अब ठूलो बिजनेस कम्प्लेक्स बन्छ । यहाँ ठूलो बजार बन्छ । दमकको मुहारै बदलिन्छ ।’
यो सुनेरचाहिँ निकै अनौठो लाग्यो । बिजनेस कम्प्लेक्स भनेको त बिजनेसम्यानहरूले बनाउने हो । सरकारले किन बनाउनुपर्यो ? आखिर सरकारको काम बिजनेस गर्ने त होइन । ठूलै विडम्बना छ । सरकारले बनाउनुपर्ने अस्पताल र विद्यालयजस्ता निकायचाहिँ बिजनेसम्यानहरूले बनाउँछ । अनि बिजनेसम्यानले बनाउनुपर्ने बिजनेस कम्प्लेक्सचाहिँ सरकारले बनाउँछन् । के हो यो ? जनतालाई सेवा दिनुपर्ने क्षेत्र व्यापारीले बनाउँछन्, अनि ब्यापार गर्ने क्षेत्रचाहिँ सरकारले बनाउँछ । यो सरकार सेवकहरूले चलाइरहेको छ कि बिजनेसम्यानहरूले ?
संविधानमा लेखिएको छ– समाजवादउन्मुख समाज बनाउने । अनि सरकारचाहिँ बिजनेस कम्प्लेक्स बनाउँदै हिँड्ने ? बरु बयलगाडाबाट गइयो भने समाजवादतिर पुगिएला, यसरी त कसरी पुग्नु ?
टिप्पणीहरू