एक मगन्तेको एक दिन
माग्ने मात्र भनेर हुँदैन । माग्नेहरू विभिन्न प्रकारका हुन्छन् । तर, प्रकार धेरै भए पनि माग्ने भनेपछि मनोविज्ञानचाहिँ सबैको एउटै हुने रहेछ, चाहे त्यो लोकल माग्ने होस्, चाहे राष्ट्रिय माग्ने ।
हालैको कुरा हो, काठमाडौँमा मागेर गुजारा चलाउने एउटा मगन्तेलाई एउटा ठूलो महाजनले भेटेछन् । शहरको एउटा कुनामा बसेर भीख मागिरहने त्यो मगन्तेलाई महाजनले धेरै दिन अघिदेखि ‘नोटिस’ गरिरहेका रहेछन् । अस्तिचाहिँ उनी मगन्तेको छेउमै गएर कुराकानी गरेछन् । महाजनले भने, ‘ए मगन्ते भाइ, तिमीले यो कुनामा बसेर मागिरहेको धेरै भइसकेको छ । किन यसरी माग्छौ हँ ?’
मगन्तेले भन्यो, ‘पेट पाल्न । घरमा परिवार छ । खान–लाउन परिहाल्यो । त्यही भएर मागेको ।’ पुनः महाजनले सोधे, ‘तिमी त हेर्दा हट्टाकट्टा नै छौ । माग्नुभन्दा बरु काम गरेर खाए हुन्थ्यो नि ! काम गरेको भए चाँडै कमाइ हुन्थ्यो, यसरी मागिरहनुपर्ने अवस्था हुन्नथ्यो ।’
जवाफमा मगन्तेले भन्यो, ‘त्यो त हो । तर, काम गर्न त लगानी चाहियो । हामीजस्ता मगन्तेसँग त्यत्रो लगानी कहाँबाट आउँछ र ?’
‘म दिन्छु नि’, महाजनले भने, ‘काम गर्ने हो भने पैसा म दिन्छु । कति चाहिन्छ ? एक लाख दिऊँ ?’ मगन्ते छक्क प¥यो । अनि सोध्यो, ‘कस्तो पैसा दिनुहुन्छ तपाई ? अनुदान दिनुहुन्छ कि ऋण ?’
महाजन पनि छक्क । भने, ‘म तिमीलाई ऋण दिन्छु । तर, साह्रै सस्तोमा । काम गर । कमाइ भयो भने मलाई विस्तारै तिरे हुन्छ ।’ ‘ऋण रे ?’ मगन्ते झस्कियो । उसले कतै सुनेको थियो ‘ऋण’ लिनु हुँदैन । ‘ऋण त म लिन्न’ उसले भनिहाल्यो । ‘के लिन्छौ त ?’ महाजनले सोधे ।
‘अनुदान भए लिन्छु । फिर्ता गर्नु नपर्ने । म मगन्तेले कसरी फिर्ता गर्नु ?’ ‘त्यो पनि ठीकै हो । तर, अनुदान भए म एक लाख दिन्नँ । एक सय दिन्छु । हुन्छ ?’ मगन्ते दंग भयो, ‘एक सय भए नि हुन्छ । तर फिर्ता तिर्नु नपर्ने हो नि, होइन ?’
‘पर्दैन, पर्दैन । एक सय रूपैयाँ पनि के फिर्ता लिनु । ल लेऊ, एक सय ।’
मगन्तेले पैसा थाप्यो । अनि दंग हुँदै घरतिर दौडियो । श्रीमतीलाई भन्यो, ‘आज ठूलै उपलब्धि भयो । एउटा महाजनले मलाई झण्डै एक लाख ऋण बोकाउन खोजेको थियो । मैले बोकिनँ । बरु एक सय रूपैयाँ लिएर आएँ । आज टन्न मासु भात खाने है !’
लोग्ने–स्वास्नी दुबै खुशी भए । त्यो दिन मासु भातै खाए । मगन्ते भोलिपल्ट फेरि कचौरा लिएर माग्न गयो ।
टिप्पणीहरू