सडकमा मेलम्ची

सडकमा मेलम्ची
सुन्नुहोस्

काठमाडौंका जनताले मेलम्चीको पानी खान करिब ३० वर्ष कुर्नु पर्‍यो । जम्माजम्मी सात पटक शिलान्यास गरेपछि बल्ल पानी आयो । पानी आएपछि सबै जना खुशी भए । तर पानी त आयो, यसरी आयो कि अब जनताले पानी आएको हो कि बाढी आएको हो छुट्याउन नसक्ने अवस्था छ ।

अचेल तपाइँ काठमाडौंको भित्री शहर एक पटक घुम्नोस्, ठाउँ ठाउँमा पाइप फुटेर बाटोमा पानी बगेको बग्यै गरेको देख्नुहुन्छ । पानीले गर्दा सडक हिलो भएको छ । कहिले यता पाइप फुट्यो भनेको छ, कहिले उता पाइप फुट्यो भनेको छ । पाइप मात्रै फुटेर पानीको सत्यानाश भएको छ । स्थानीय जनता कराएपछि अस्ति त एक पटक स्वयम् खानेपानी मन्त्री प्रदिप यादव राति नै आएर मर्मत गर्नुभएछ । 

मेलम्चीको पानी यसरी सडकमा बगेको देखेर धेरै जना चिन्तितै छन् । तर, मचाहिँ के भन्छु भने यो चिन्ता गर्नुपर्ने विषय होइन । किनभने जुनबेला स्वर्गीय कृष्णप्रसाद भट्टराई देशको प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले उतिबेलै भन्नुभएको थियो कि मेलम्ची आएपछि मेलम्चीको पानीले काठमाडौंको सडक धोइदिन्छु ।

अहिले मेलम्चीको ढल फुटेर पानी आएको वास्तवमा त्यही काठमाडौंको सडक धुनलाई हो । भट्टराईले चुनावताका बचनै दिनुभएको थियो, मेलम्चीको पानीले काठमाडौंको सडक धोइदिने । अहिले उहाँ नभए पनि त्यो वचन पूरा गरिँदैछ । बचन दिएपछि पूरा त गर्नैपर्छ ।

अहिले त्यही पूरा गरिरहेको अवस्था हो । त्यसैले कृपया यसलाई ‘ढल फुटेको’ भनेर आलोचना नगर्नुहोला । यो त मेलम्चीको पानीले सडक धोएको हो । सडक धुनु र ढल फुट्नु उही कुरा होइन । बुझ्नुभयो नि ?

टिप्पणीहरू