रवि, दुर्गा र राजेन्द्रतिर लाग्दै राजावादी

रवि, दुर्गा र राजेन्द्रतिर लाग्दै राजावादी

-लक्ष्मण चौलागाईं विद्रोही

झण्डै ८४ दिन सहकारी ठगीका अभियुक्त रवि लामिछानेमाथि प्रहरीले अनुसन्धान गर्‍यो र अन्त्यमा ६५ लाख धरौटीसहित प्रहरीको सम्पर्कमा रहने गरी रिहा गरिदिएपछि विजयीभावमा झुट प्रचार गर्न रास्वपा क्रियाशील छ ।

करोडौं जनतालाई गणतन्त्रले उदासीन बनाएको कारण डिप्रेसनग्रस्त मतको साथ पाएर रवि लामिछाने माननीय बनेका हुन् । त्यहाँ कुनै निःस्वार्थ समाजसेवाको ‘स’ पनि भेटिँदैन । टिभीमा ज्यादा चिच्याएको महँगो तलबका लागि रहेछ र मन्त्री, सांसद अझ प्रधानमन्त्री बन्नेसम्मको सपना मात्र त्यसपछाडि रहेछ भनेर जान्न धेरै बेर सोचिरहनुपर्ला जस्तो लाग्दैन । लामिछानेको उदय गणतन्त्रमा बढेको छाडातन्त्रको कारण पनि हो, सँगै उनीहरूको उदय साइबर सञ्जालमा चरित्रहत्या गर्नेहरूको भीड जमेको छ । खासमा गणतन्त्र छाडातन्त्र होइन । प्रायः धेरैजसो राजावादीले रवि लामिछाने, दुर्गा प्रर्साइं र राजेन्द्र लिङदेनलाई बरोबर साथ दिएको देखिन्छ सञ्जालमा ।

आज लोकतन्त्र विरोधीहरूले लोकतन्त्रकै विरोध गरेर लोकप्रियता कमाइरहेका छन् । तिनै विरोधका साथहरू जोडिएर नीलो विकृतिको उदय भएकोमा दोमन हुनै पर्दैन । स्वतन्त्रताका लागि लड्दै नलडेको पात्रले स्वतन्त्र पार्टी खोल्दा म स्वतन्त्र भन्नेहरूको मुखमा बुजो लगायो । यो सबैको मुल कारण सरकार फितलो हुनु हो । राज्यसत्तामा मस्ति गर्नेहरूले देश बिर्सिए, सामाजिक सञ्जालमा विकृति भर्नेहरूलाई छाडा छोडे । त्यसैको उपजस्वरुप मोबाइलबाट चिच्याउने पात्रले सलामी र परिवर्तनको निमित्त आहुति दिनेहरूले गालीगलौज खाने दिन आएको छ ।

यस्तो प्रवृत्ति अझ हुर्किंदै गयो भने एक पोका चिनी दिएर समाजसेवा गर्ने समाजसेवीले निर्वाचन जित्ने र इतिहास निर्माणमा जुट्नेहरूले हार्ने उल्टो श्रृंखला शुरु हुनेछ । त्यसैको सुरुवात हो घण्टीवाला २१ सिट र १४ सिटवाला राजेन्द्र लिङ्देनहरूको उदय । यसैलाई गिन्ती गरेर कहिलेकाहीँ प्रचण्ड रविप्रति नरम देखिने गरेका छन् ।

सत्ताका लागि गणतन्त्रविरोधीलाई समर्थन गर्नु, कुर्सीको लागि बेमेल चारलाई साथ दिनु पतनतिरको प्रचण्डजीहरूको प्रस्थान हो । लोकतन्त्र यस्तै पाराले चलिरह्यो भने नीलो विकृतिले रातो संस्कृतिलाई अन्त नगराउला भन्न सकिन्न । विद्युतीय अपराधीलाई ठाडो इन्काउण्टर गर्न सरकार तयार भएन भने भोलि सञ्जालमा लाइभ आएर समाजसेवी बनेकाले निर्वाचन जित्ने पक्का छ ।

हामी एक्काइसौं शताब्दीको वैज्ञानिक युगमा आइपुगेर पनि १४ औँ शताब्दीमै रहेको भान हुन्छ । सुशासनबिना मुलुक समृद्ध र जनता सुखी हुँदैनन् । जबसम्म डिजिटल बिकृति बाँचिरहन्छ तबसम्म नीलो विसंगतिको अन्त्य हुँदैन । राज्य सुशासनका खातिर निर्मम बनेन भने देश झन् झन् पिछडिएको अवस्थामा पुग्छ । मुलुकको क्रान्तिकारी आन्दोलनमा सहभागी हुन छाडेर भाग्नेले गणतन्त्रको सत्ता हाँक्ने भ्रम पाल्न सक्छन् । जनता अझै यस्ता साइबर स्मार्टको झुण्डबाट टाढै रहनु बेस हुन्छ ।
 

टिप्पणीहरू