प्रधानमन्त्रीको फोनपछि राष्ट्रपतिद्वारा अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
गत शुक्रबार राति बसेको क्याबिनेटको बैठकले राष्ट्रपतिसमक्ष पाँच वटा अध्यादेश सिफारिस गरेको थियो । तर, चार वटा अध्यादेश जारी हुँदा भूमिसम्बन्धी अध्यादेश भने रोकिएको थियो । अध्यादेशको सम्बन्धमा अध्ययन गर्न बाँकी रहेकाले रोकिएको राष्ट्रपति कार्यालयले जनाएको थियो ।
अध्यादेशमा सरकारी र सार्वजनिक जग्गामा बसेका देशभरका भूमिहीन जनतालाई कुनै स्थानको जग्गा लालपुर्जा सहित उपलब्ध गराउने व्यवस्था छ । यस्तो कानुनी प्रवन्धले सरकारी जमिन दुरुपयोग हुनसक्ने आशंकामा राष्ट्रपतिले होल्डमा राखेको भनिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान वालुवाटारमा उद्योगीहरुसँग छलफलका क्रममा आजै अध्यादेश जारी हुने बताउनुभएको थियो । बिहान उहाँले राष्ट्रपतिसँग फोनमा यसबारे कुरा गरेको बताइएको छ ।
टिप्पणीहरू