अर्का नेतामाथि पनि एमालेमा कारवाहीको आशंका
एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्ष लिनेहरू अध्यक्ष केपी शर्मा ओलीको ‘कर्के नजर’ मा परेको चर्चा भैरहँदा एक नेतामाथि कारवाहीको डण्डा बर्सिनै लागेको छ । पूर्वराष्ट्रपतिलाई ‘गल लगाएर’ पार्टीमा फर्काउने प्रयास स्वीकार्य नहुने अध्यक्षको चेतावनीका बाबजुद कृष्ण राईलाई ‘भीम रावल’ बनाउन लागिएको बुझिएको छ ।
एमाले काठमाडौँका पूर्वइञ्चार्ज तथा सांसद राईले हालै एक सञ्चार माध्यममा पूर्वराष्ट्रपति भण्डारी पार्टी अध्यक्ष हुनसक्ने आशयको अभिव्यक्ति दिएका थिए । त्यसतर्फ संकेत गर्दै ‘विद्यालाई उचालेको’ आरोपमा ओलीले अनुशासनको कारवाही गर्ने चेतावनी दिनुभएको हो । गत बिहिबार बसेको सचिवालय बैठकमा उहाँले राईको नाम लिँदै भन्नुभयो– पार्टीभित्रको कुरा बाहिर ल्याउने ? तिनलाई पनि अब अनुशासनको कारवाही हुन्छ !
माधव नेपालहरूले छोडेर हिँडेपछि एकलौटी पार्टी चलाइरहनुभएका अध्यक्ष ओलीलाई अहिलेसम्म चुनौती दिने नेता एमालेमा देखिएको छैन । अर्को एक कार्यकाल अध्यक्ष खाने तयारीका साथ विधानबाट ७० वर्षे उमेर हद निलम्बन गर्नुभएका उहाँको एकछत्र चलिरहेको अवस्था छ । दशौँ महाधिवेशनयता यसरी विरोधीविहीन पार्टी चलाइरहनुभएका ओलीमाथि पछिल्लो समय भने आन्तरिक तथा बाह्य चुनौती बढिरहेको छ । आमरूपमा निरन्तर लोकप्रियता ओरालो लाग्दा पार्टीभित्र पनि विगतमा जस्तो ‘आई लभ यु केपी बा’ भन्नेहरू देखिएका छैनन् । यो स्थितिमा एमालेको एघारौँ महाधिवेशनमा विद्या भण्डारीलाई अघि सारेर ओलीलाई रोक्ने रणनीतिका साथ एउटा खेमा भित्रभित्र सक्रिय छ । एमाले स्रोतका अनुसार चुनावै हुँदा पनि ७० प्रतिशत कार्यकर्ता विद्याको पक्षमा खुल्ने अवस्था छ ।
कतिसम्म भने भण्डारी पोखरा जाँदा उहाँनिकट भनिएकाहरूलाई भेट्नसम्म नदिइएको गुनासो छ । पूर्वराष्ट्रपतिलाई पार्टीमा सक्रिय गराउन भित्रभित्र भूमिका खेलिरहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकटहरूको प्रभावमा पर्नसक्ने देखेर स्थायी समिति सदस्य खगराज अधिकारीले बाटो छेकेको बताइएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर केसीलाई भ्रमणको व्यवस्थापक बनाइएको थियो । खगराजनिकट उनी विवादित जग्गा व्यापारीको रूपमा बदनामी कमाएका राप्रपा नेता सूर्यबहादुर केसीका भतिजा हुन् ।
पृष्ठभूमिमा घटनाक्रम यसरी विकसित भैरहँदा एकाएक कृष्ण राईको प्रसंग ल्याइनु अनि सचिवालय बैठकलाई जानकारीसम्म नगराई भण्डारीलाई भेट्न ओली अकस्मात सोझै बुढानिलकण्ठ पुग्नु आफैँमा अर्थपूर्ण छ । दुई जनाबीच भएको कुराकानीको औपचारिक र विस्तृत विवरण त बाहिर आएको छैन, तर छलफल एमालेको आन्तरिक राजनीतिमै केन्द्रित रहेको बताइएको छ । ‘दुई जनाको वान टु वान कुरा भएकाले ठ्याक्कै भन्न त सकिंदैन, तर उहाँ (ओली) को मनमा केही न केही चिसो पसेको पक्कै हो’, भण्डारी निकट स्रोतले जनआस्थालाई सुनायो ।
भण्डारीलाई पार्टी राजनीतिमा पुनरागमन गराउने प्रयासलाई बल पुग्नेगरी यता माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई पेरिस डाँडामा स्वागत गरेको छ । माओवादीको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै कुर्सी व्यवस्थापन गरिएका उनलाई उपाध्यक्ष बनाएर महत्वपूर्ण जिम्मेवारी दिने तयारी छ भनिंदैछ । देशको सम्मानित पदमा पुगिसकेको र साझा व्यक्तित्व बनिसकेको अवस्थामा एउटा दल विशेषको भूमिकामा सीमित भएको भन्दै उठेका आलोचनामा पासाङको प्रतिक्रिया रहने गरेको छ– वैशाखमै सदस्यता रिन्यु गरेर विद्याले नै बाटो खोल्दिनुभएको हो । उहाँले गर्दा मलाई सजिलो भयो ।
विश्वासपात्रहरूसँगको कुराकानीमा पासाङले माओवादीमा आफ्नो पुनरागमनले वाम एकताको पक्षमा माहोल बनाउने दावी गरेको समेत बताइएको छ । ‘उहाँ र म एकै कार्यकालका राष्ट्रपति र उपराष्ट्रपति हौँ, पार्टीमा सक्रिय हुने भनेको पद प्राप्त गर्ने कुरामात्र होइन’, पूर्व उपराष्ट्रपतिको भनाइ निकट स्रोतले सुनायो, ‘पार्टी एकीकृत गराउनेमै हाम्रो कोशिस रहन्छ । यो तालले न एमालेको भविश्य छ न माओवादीको ।’
पासाङका कारण दबाबमा परेका ओली सम्झौता गरेर विद्यालाई अध्यक्ष छोड्ने र ८४ पछि आफू राष्ट्रपति बन्ने बाटोतिर जानसक्ने अर्थमा पनि विश्लेषण भैरहेको छ । तर, राष्ट्रपति बन्ने कुरा आमचुनावसँग जोडिएकाले अहिले हिसाबकिताव गरेजस्तो सजिलो भने हुने छैन । यसबीच चुप लागेर बसेमा विद्यालाई उपयुक्त बेलामा अध्यक्षसँगै प्रधानमन्त्री पनि बनाउने आश्वासन जानसक्ने पनि कतिपयको आकलन छ ।
विन्दा र उषालाई थप चेतावनी, पद्मालाई शुभकामना !
पार्टीका बैठक, सभा–समारोह र सार्वजनिक कार्यक्रममा घण्टौं भाषण गर्ने ओली बिहिबार भने धेरै बोल्नुभएन । सधैँजस्तो एक घण्टा ढिला पुग्नुभएका उहाँ फरक रूपमा प्रस्तुत हुनुभयो । केहीबेर हाँसोमजाक र ठट्टासमेत चल्यो ।
पार्टीबाट निकालिएका भीम रावलले अघिल्लो दिन बुधबार निरङ्कुश, तानाशाही र स्वेच्छाचारी चरित्र देखाउँदै ओलीले आफ्नो सदस्यता खाइदिएको आरोप लगाएका थिए । पार्टीभित्र उठेका आलोचनाका स्वर दबाउन दमनकारी शैली अपनाएको भन्दै उनले दर्जनौँ प्रश्न उठाएका थिए । आफूविरुद्ध बोल्नेमाथि कडा टिप्पणी गर्ने ओलीले त्यसको जमेर जवाफ फर्काउने ठानिएको थियो । तर, उहाँ त्यसरी प्रस्तुत हुनुभएन ।
संक्षिप्तमा भन्नुभयो– ‘कारवाही गर्न पो ढिला भएछ कि क्या हो !’, विन्दा र उषाको हकमा थप कारवाही हुनसक्ने संकेत गर्दै ‘अस्तिको निर्णयपछि पनि अनुशासन उल्लङ्घन गरिरहेका छन्, यो कुरा कसरी सहने ?’ उहाँको भनाइ थियो ।
सचिव पद्मा अर्यालको जन्मदिन परेकाले औपचारिक रूपमा बैठक शुरु हुनुअघि मिठाई बाँडेर ‘बर्थ डे’ मनाइयो । त्यसपछि केन्द्रीय समितिमा प्रस्तुत गर्न ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन सबैलाई एक–एक कपी हातमा थमाएर भनियो– ‘केही सुझाव भए भोलि १२ बजेसम्म प्रदीप ज्ञवालीलाई बुझाउनुहोला ।’
रघुवीरको असन्तुष्टि
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो नपाएको विषयले एमालेको प्रायः सबैजसो बैठकमा चर्चा पाउने गरेको छ । अघिल्लो सचिवालय बैठकमा केही नेताले जिज्ञासा राख्दा अध्यक्ष ओलीले ‘बोलाए न जाने हो, नबोलाए के गर्नु !’ भन्ने जवाफ दिनुभएको थियो ।
‘सबैले मलाई सोध्छन्, म विदेश विभाग प्रमुख तर केही थाहा छैन’, उनले सोधेका थिए, ‘अहिले बुझ्दा त केही पनि होइन रहेछ, अनि यस्तो कुरा गर्दा फाल्तु होइँदैन ?’ ‘तपाईं सचिवजस्तो मान्छे मलाई सिधै फोन गरेको भए भैहाल्थ्यो, नभए भेटेर सोधेको भए पनि म बताइहाल्थें नि !’ अध्यक्षको जवाफपछि रघुवीरले फेरि अर्को प्रसंग जोड्दै सोधे, ‘चीन र भारतबीच भएको भनिएको सीमासम्बन्धी सहमतिको कुरा के हो ?’
दुई देशबीच भएको सहमतिमा नेपालको विषय उल्लेख भएकाले त्यसबारे छलफल चलाएर पार्टीको धारणा सार्वजनिक गर्न उनले माग गरेका थिए । त्यसपछि उपमहासचिव प्रदीप ज्ञवालीले अनलाइनतिरबाट खोजेर सम्झौताका बुँदाहरू पढी सुनाए । तर, त्यहाँ कतै पनि नेपालको प्रसंग नभएको भन्दै ‘कमेन्ट गर्नु आवश्यक’ नरहेको निश्कर्षमा बैठक पुगेको बताइएको छ ।
टिप्पणीहरू