आधी संसार यस्तरी लाग्यो लाइन

आधी संसार यस्तरी लाग्यो लाइन
सुन्नुहोस्

मिश्रित निर्वाचन प्रणालीलाई राजनीतिक अस्थिरताको कारक देखाउँदै देशभित्र चुनाव प्रणाली फेर्ने बहस चलिरहँदा अन्तर्राष्ट्रिय मञ्चमा भने नेपालको निर्वाचन प्रणालीले प्रशंसा पाएको छ । छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीमा अघिल्लो महिना सम्पन्न निर्वाचन आयोगको अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीहरूले समावेशी सिद्धान्त बोकेको चुनाव प्रणालीको खुलेर तारिफ गरेका हुन् । 

विश्वभरका निर्वाचनसम्बन्धी विज्ञहरूको सहभागिता रहेको दुई दिने सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको प्रतिनिधित्व गरेका थिए । ‘फ्युचर अफ इलेक्सन’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै उनले समावेशितामा नेपालले हासिल गरेको उपलब्धि सुनाए । समावेशी–समानुपातिक प्रतिनिधित्व प्रणालीबारे चर्चा हुँदा भारतसहित विभिन्न देशका प्रतिनिधि उत्साहित देखिन्थे । 

नेपालको संविधानले राज्यका सबै तहमा महिला, जनजाति, दलित, अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ भने त्यसको व्यावहारिक कार्यान्वयनका लागि समानुपातिक निर्वाचन प्रणाली अंगीकार गरेको छ । अहिले स्थानीय तहमा ४२, प्रदेशमा ३६ र संघीय संसदमा ३४ प्रतिशत महिला प्रतिनिधित्व छ । समावेशी सिद्धान्तका दृष्टिले यसलाई विश्वमै उत्कृष्ट मानिन्छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले समावेशिताको सवालमा नेपालले प्राप्त गरेको महत्वपूर्ण उपलब्धिबारे प्रस्तुति दिँदा सम्मेलनमा सहभागी विभिन्न देशका प्रतिनिधिले चाखपूर्वक सुनेका थिए । त्यस्तै, देशभर एकैचोटि निर्वाचन गर्ने नेपालको अभ्यास पनि सम्मेलनमा बहसको विषय बनेको थियो ।

सम्मेलनलाई सम्बोधन गर्न पुगेका भारतका कानुनमन्त्री अर्जुनराम मेघवालले आफ्नो देशमा पनि ‘वन नेशन वन इलेक्सन’ र ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नेगरी कानुन संशोधन गर्ने बताएका थिए । यसबाट पनि नेपालको चुनाव प्रणाली विश्वका लागि अनुकरणीय रहेको बुझिन्छ । 

सन् २०२४ चुनावी इतिहासमै धेरै मतदाताले एकैचोटि भोट हालेको वर्षका रुपमा समेत चर्चामा रह्यो । यसवर्ष विश्वकै सबैभन्दा बढी जनसंख्या भएको भारत, ठूलो लोकतान्त्रिक मुलुक मानिएको अमेरिकादेखि धेरै मतदाता भएको फ्रान्स, इण्डोनेसियालगायत ७० देशमा चुनाव भएको थियो । यस हिसाबले विश्वको आधाभन्दा बढी जनसंख्याले भोट हालेको अनुमान गरिएको छ । २०२४ लाई निर्वाचन वर्ष अर्थात् इलेक्सन इयरका रुपमा पनि मनाइयो । 

सम्मेलन समापनपछि अन्तर्राष्ट्रिय प्रतिनिधिलाई गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष समारोहमा सामेल गराइएको थियो । भारतमा जनवरी २५ लाई ‘भोटर्स डे’ का रुपमा मनाइन्छ भने भोलिपल्ट २६ तारिख गणतन्त्र दिवस पर्छ । ब्रिटिश साम्राज्यबाट मुक्त भएको दिन अर्थात् गणतन्त्र दिवसलाई भारतमा राष्ट्रिय पर्वको रुपमा लिने गरिन्छ । 
 

टिप्पणीहरू