गलत ऊर्जा

विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई ऊर्जामन्त्रीज्यूले तेस्रो स्पष्टीकरण सोध्नुभयो र घिसिङले पनि तेस्रो जवाफ फर्काउनुभयो । त्यो स्पष्टीकरण मूलतः घिसिङलाई पदबाट हटाउनका लागि सोधिएको थियो । तर, स्पष्टीकरण सोधे पनि सरकारले पदबाट भने अझै हटाएको छैन ।
ऊर्जामन्त्रीले त एकपटक भन्नुभएको थियो– सरकारले चाह्यो भने कुलमानलाई १० मिनेटमा हटाउन सक्छ । तर खोइ, सरकार आएको दश महिना भइसक्यो, त्यो दश मिनेट अझै आएको छैन । घिसिङ बसेको बस्यै छन्, सरकारले केही गर्न सक्या होइन । यसले गर्दा मलाई त यो सरकारको क्षमतामाथि नै शंका भइसक्यो । जाबो एउटा कुलमानलाई हटाउन नसक्ने सरकारले अरु के गरिखाला र हँ ? चाह्यो भने दश मिनेटमा हटाउन सकिने एउटा कुलमानलाई त अहिलेसम्म हटाउन सकेको भने देशबाट महँगी, गरिबी, अशिक्षा, पछौटेपनजस्ता कुरा हटाउला भनेर कसरी विश्वास गर्ने ?
प्रधानमन्त्री केपी ओलीले त ठाउँ ठाउँमा भाषण गर्दा यही भन्नुहुन्थ्यो— हामी यो देशबाट कुरीति हटाउँछौं, बेथिति हटाउँछौं, अविकास हटाउँछौं, महँगी हटाउँछौं । खोइ हटाएको ?कुरा भने ठुल्ठूलो गर्ने, व्यवहारमा चाहिँ एउटा कुलमान पनि हटाउन नसक्ने । कसरी पत्याउने यो सरकारलाई ? हिम्मत छ भने एउटा कुलमान हटाएर देखाऊ । त्यसपछि विश्वास गरौंला अरु पनि केही हटाउला कि भनेर ।
अब कुलमान हटाउन नसकेर बिचरा ऊर्जामन्त्रीको ऊर्जा जम्मै खेर गइरहेको छ । नामै ऊर्जामन्त्री, उहाँ जत्तिको ऊर्जा अरु कोसँग होला ? तर, त्यत्रो ऊर्जा भएको मन्त्रीले आफ्नो सारा ऊर्जा लगाउँदा पनि कुलमानलाई हटाउन सकेन । यस्तो लाग्छ, ऊर्जामन्त्रीले देशको ऊर्जा गलत ठाउँमा प्रयोग गरिरहेको छ । यही ऊर्जा सही ठाउँमा प्रयोग गरेको भए बन्द भइरहेको हेटौंडा सिमेन्ट कारखाना, जनकपुर चुरोट कारखाना चलाउन सकिन्थ्यो कि ?
टिप्पणीहरू