मास्कले मुख छोपेर दिनहुँ मन्त्रालय

मास्कले मुख छोपेर दिनहुँ मन्त्रालय

‘चन्दने’ अर्थात रामचन्द्र भट्टलाई माथ खुवाउने गरी एक जना बिचौलिया स्कोर्पिओमा दिनहुँ मन्त्रालय धाउने र सामान्य प्रशासन, भूमि, गृहमा अड्डा जमाएर बस्ने गर्दै आएका छन् । उनकै चाहनाअनुसार कर्मचारी खटन–पटन हुने गरेको छ । मास्क कहिल्यै नखोल्ने र क्याप (टोपी) ले अनुहार छोपेर हिँड्ने ती हुन्, प्रमोद खड्का । उनलाई कर्मचारी प्रशासन महाशाखा र मन्त्री‑सचिवको कार्यकक्षमा देख्न पाइन्छ । तिनले भक्तपुर, डिल्लीबजार, साँखु, कलंकी र ललितपुरका हाकिम परिवर्तन गराएकै थिए । पछिल्लो समय पोखरा मालपोतको प्रमुख परिवर्तन गर्न हात धोएर लागिपरेका छन् । त्यसका लागि बहालवाला भूमि व्यवस्था मन्त्रीमात्र होइन निवर्तमान मन्त्रीलाई नै प्रयोग गरेर सामान्य प्रशासन मन्त्रालयमा दुई सातादेखि धर्ना दिइरहेका छन् ।

क्यान्सर रोगी श्रीमतीको उपचार र रेखदेख गर्नुपर्ने भएको कारण घर पायक सरुवा मागेर कास्की गएका थिए, चिरञ्जीवी पौडेल । तर तीन महिना नपुग्दै उनलाई त्यहाँबाट नझिकी भएको छैन, बिचौलियाको समूहलाई । ०५६ सालको लटमा १ नम्बरका अधिकृत हुन्, पौडेल । ब्याजी कोषहरि निरौला, नेत्र सुवेदी, इन्दु घिमिरे सहसचिव छन् । रामेश्वर दंगाल सचिवै भए । श्रीमती रोगी हुँदा अध्ययन र परीक्षामा जुट्न नसकेका कारण उपसचिवमै छुटेका उनी अबको आठ महिनापछि घर जाँदै छन् । जागिरे जीवनको १३ वर्ष दमौली, लमजुङ, स्याङ्जा मालपोतमै बिताएका पौडेलभन्दा तीन वर्ष जुनियर (५९ का शाखा अधिकृत) हुन, गोकर्णमणि दुवाडी । उनी भूमि मन्त्रालयको सचिव हुँदा कास्की मालपोतमा खटाइएको थियो पौडेललाई तर एक दिनमै लखेटिएर लमजुङ्ग पुर्‍याइए । कास्कीमा दुई वर्षभन्दा बढी बिताएका रामचन्द्र अधिकारीलाई लमजुङ पठाएर पौडेललाई कास्की सरुवा गरिएको थियो असोज ६ गते । अवधि नपुगी सरुवा गरिएको भन्दै रामचन्द्र अदालत पुगे । अदालतले स्टे अर्डर नदिएपछि पुस २६ देखि हाजिर भए । तर, तीन महिना नबित्दै उनको सरुवा गर्न बिचौलियाको समूह लागिपरेको छ । सो समूहले आफू अनुकूलको उपसचिव रामचन्द्र अधिकारीलाई नै खोज्नुको रहस्य हो– भाट, राणा, शाह हुँदै थकालीहरूका नाममा कास्कीको बाटुलेचौरमा रहेको १३५ रोपनी क्षेत्रफलको लिची बगैँचा । सो जग्गा हत्याउने योजनाअनुरूप बिचौलियाले पूर्वमन्त्री रञ्जिता श्रेष्ठ चौधरीलाई प्रयोग गरिरहेका छन् भने सामान्य प्रशासन मन्त्रीलाई समेत कन्भिन्स गराइसकेका छन् । 

उदयपुरे प्रमोद मोहनकृष्ण सापकोटा सचिव हुँदादेखि नै मन्त्रालयमा प्रवेश पाएका र यसरी सरुवाको खेतीपाती गर्दै आएका कर्मचारी हुन् । भूमिसुधारमा रञ्जिता हुँदा गोकर्णमणिमार्फत उनैले धेरै ठाउँमा अनुचित लाभ उठाएको बताइन्छ । यसरी अकस्मात् आफ्नो सरुवा हुन लागेको चाल पाएपछि अस्ति मन्त्रालय पुगेका पौडेलले सचिव रविलाल पन्थलाई भेटेर वस्तुस्थिति जानकारी गराएका छन् । पन्थ उनीभन्दा जुनियर ५७ सालका शाखा अधिकृत हुन् । पछिल्ला सात दिनमध्ये पाँच दिन लगातार सामान्य प्रशासनमन्त्रीको कार्यकक्षमा किन पुग्नुभयो भन्दै रञ्जिता श्रेष्ठसँग जिज्ञासा राख्दा टक्टकिँदै भनिन्, ‘कर्मचारी सरुवा होइन, तराई–मधेश समृद्धि कार्यक्रमबारे मन्त्रीज्यूसँग छलफलका लागि भेट भएको हो ।’ उनले भनिन्, ‘पोखरा मेरो निर्वाचन क्षेत्र होइन, त्यहाँको कर्मचारी सरुवामा किन दबाब दिनु मैले ?’ 

उसो त पछिल्लो समय भूमिव्यवस्था मन्त्रालयमा नापी चलाएर आएका कर्मचारीको बोलवाला छ । सहसचिव गणेश भट्ट, महानिर्देशक प्रकाश जोशी उपसचिव दामोदर वाग्ले, सञ्जीवन श्रेष्ठकै टिमको दबाबमा सार्वजनिक जग्गा, सडक विस्तार तथा संघीय संरचनासँग सम्बन्धित विवादबाहेक अन्य अवस्थामा हालसाविक गरिरहनु नपर्ने व्यवस्था लागू गरिएको छ । यो निर्णयका कारण सर्वसाधारणले अझै सास्ती पाउने मालपोतका प्रशासकहरू बताउँछन् । 
 

टिप्पणीहरू