ट्रम्प–जेलेन्स्की वार्ता

अमेरिकाको ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच चर्काचर्की भएको भिडियो त सबैले देखिहाले । दुई सार्वभौम देशका राष्ट्रपतिबीचको वार्ता यस्तो पनि हुन सक्दोरहेछ । उक्त दिनको वार्ता हेर्दा यस्तो लाग्छ कि त्यहाँ दुई राष्ट्रपति होइन, दुई डनबीच विवाद भइरहेको छ । एउटाले भन्यो, ‘मलाई जसरी हुन्छ वार गर्नु छ, वार गर्न चाहिन्छ, पैसा दिने कि नदिने ?’
अर्कोले भन्छ, ‘कस्तो तोरेलाउरे कुरा गर्छौ यार तिमी । वार गर्नुछ भने आफै गर न, मलाई किन् झिक्झिक् ।’
— वार गर मात्र भनेर हुन्छ ? वार गर्न पैसा चाहियो नि । खै पैसा ?
— मेरो पैसाले अरुसँग वार गर्न लाज लाग्दैन तिमीलाई ? आफ्नो वार त आफ्नै पैसाले गर्ने नि !
— पैले त दियाथ्यौ । अहिले बीच बाटोमा पुगिसकेपछि दिन्न भनेर हुन्छ ?
— मैले दिएको छैन । जसले दिएको हो उसैसँग सोध ।
— दिएको त तिम्रै देशले हो ।
— दियो होला मूर्खहरूले, अब दिन सक्दिनँ ।
— त्यसो भनेर त भएन नि डोनाल्ड । पहिले म पैसा दिन्छु भनेर खुब उक्साएर वार गर्न लगायौ । अहिले दिन्न भनेपछि म त घरको न घाटको भइहाल्छु ।
— भए होस्, मलाई के मतलब ? अर्काको लहलहैमा लागेपछि यस्तै हुन्छ । होइन, तिमीलाई पैसा मागी मागी वार गर्न लाज लाग्दैन र भन्या ? युद्ध गर्नलाई पनि पैसा माग्ने भन्ने हुन्छ ?
— अब टाठ पल्टेपछि के गर्ने त ? माग्नु परेन ? म त अहिले एक्लै परेको छु । सहयोग गर्न कोही अघि आउँदैन । अलिकति पैसा दे न यार ।
— अहिले पैसाको कुरै नगर । पैसा नभएर त्यहाँ मैले नेपालमा एमसीसीको पैसा समेत बन्द गरिसकेँ ।
— अब के गर्ने त ?
— केही नगर्ने, खुरुक्क यहाँबाट गइहाल्ने । ल गइ हाल ।
(वार्ता समाप्त ।)
टिप्पणीहरू