भावी गभर्नरमा क्षेत्रीको नाम बाहिरिएपछि गगन थापा क्रुद्ध

भावी गभर्नरमा क्षेत्रीको नाम बाहिरिएपछि गगन थापा क्रुद्ध

वर्तमान सरकारले नागरिकमा सकारात्मक भावना र आशा जगाउन नसकेको आरोप लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र विभागीय मन्त्रीहरुको कार्यशैलीमाथि जनस्तरबाटै व्यापक प्रश्न उठाइएको छ । सरकारको ‘ब्याड पर्फमेन्स’ कै कारण प्रतिगामी शक्तिले टाउको उठाउन थालेको राजनीतिक वृत्तमा विश्लेषणसमेत हुन थालेको छ । यस्तो बेलामा सत्ता साझेदार दलहरुले प्रधानमन्त्री ओलीलाई सल्लाह सुझाव दिएर ट्याकमा ल्याउनुपर्ने तर त्यस्तो प्रयास भएको देखिँदैन ।

अबको १५ महिनापछि छैठौँ पटक प्रधानमन्त्री बन्ने आशमा बसेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकारका कामकारबाहीलाई समर्थन गरेको अवस्था एकातिर छ । केही दिनअघि राजधानीको एक कार्यक्रममा उहाँले भन्नुभएको  थियो, ‘ओलीजीप्रति म पूर्ण विश्वस्त छु, शंका गर्नुपर्ने कुनै कारण छैन ।’ जबकि, सोही पार्टीका अन्य नेताहरुले खुलेआम प्रधानमन्त्री ओली र सरकारको चर्को आलेचना गरिरहेका छन् । 

‘प्रधानमन्त्रीको रवैया ठीक भएन’ भन्नेहरुमा काँग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, शेखर कोइराला, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, रामहरी खतिवडा, सुनिल शर्मालगायत छन् । 

एउटै पार्टीका नेताहरू आखिर किन फरक–फरक धारणा बनाउन अभिशप्त भएका होलान् ? जानकार स्रोत भन्छ, ‘आन्तरिक द्वन्द्व र देउवाको सत्तामोह हो ।’

पार्टीका विभिन्न बैठकमा नेताहरुले ‘प्रधानमन्त्रीलाई सचेत गराउनुपर्यो’ भन्दै सभापति देउवालाई आग्रह पनि गर्दै आएका छन्, तर देउवाले ती आग्रहलाई बूढानीलकण्ठमै थन्काइदिएको आरोप सुझाव दिनेहरुले लगाउन थालेका छन् । चैत १६ गतेको पदाधिकारी बैठकमा सहभागीमध्ये आधा दर्जन नेताले ‘ओलीको कारण कांग्रेसलाई पनि दाग लागेको’ आशय व्यक्त गरेका थिए । उनीहरुले सभापतिलाई ‘सरकारप्रति नागरिकमा राम्रो धारणा नभएको र त्यसको बाछिटा कांग्रेसलाई लागेको’ बताएका थिए । 

प्रधानमन्त्री ओलीले केही बोल्ड निर्णय गरेर जनतामा राम्रो सन्देश प्रवाह गनुपर्ने उनीहरुको तर्क थियो । नेताहरुको कुरो सुनेपछि सभापति देउवाले पनि टाउको हल्लाउँदै ‘म कुरा गर्छु नि’ भनेको स्रोतको दाबी छ । तर उनले प्रधानमन्त्रीसँग ती कुरा गरे वा गरेनन्, कसैलाई थाहा छैन । उल्टो देउवाले ओलीको प्रंशासा गर्दै हिँडेपछि अन्य नेताहरु अचम्मसँगै रनभुल्लमा परेका हुन् ।

तीनकुने घटनाको समीक्षा गर्न बोलाइएको उक्त बैठकमा प्रधानमन्त्री ओली र सरकारको समीक्षा गरिएको स्रोत बताउँछ । यसैबीच, महामन्त्री थापाले प्रधानमन्त्री ओलीले बिचौलियाहरुलाई सरकारी निवासको भित्रैसम्म पुग्न अनुमति दिएको बताएका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बिचौलियाको कारण अर्थतन्त्र कमजोर बन्दै गएको र त्यसलाई नरोके मुलुकमा ठूलो संकट निम्तिने बताएका हुन् । 

‘प्राइभेट सेक्टर र बिचौलिया भनेको फरक कुरा हो, हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो’, उनले भने, ‘बिचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म पुग्यो, यस्तो पनि हुँदोरहेछ भन्ने मलाई थाहा थिएन ।’ 

पूर्वमन्त्री समेत रहेका थापाले नयाँ गभर्नर नियुक्तिको लागि भइरहेको सेटिंग देखेर अच्चम लागेको पनि बताए । ‘पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला की, त्यो बन्ला की भन्ने कुरा हुन्थ्यो । तर अहिले खुलमखुला बिचौलियाको क्यान्डिडेट यो र उन भन्न थालियो, भनेपछि हामी कहाँ पुग्यौं त ?’, उनको चिन्ता छ । काँग्रेस नेतृत्वको दबाबमा प्रधानमन्त्री केपी शर्मा ओली पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीलाई गभर्नर बनाउन तयार हुनुभएको खबर पनि आजै बाहिरिएको छ । कानुनका क्षेत्री सचिव भएपछि जलस्रोत मन्त्रालयमा पुगे र विवादमा मुछिएका थिए ।

त्यस्तै सरकार ट्याक्टरको गतिमा चलिरहेको महामन्त्री थापाको अनुभव छ । विस्तृत अवस्थाबारे खुलाउँदै अघि भने, ‘दुई ठूला दलको सरकार बन्दै गर्दा संविधान संशोधन गरेर सरकार सञ्चालन र सुशासनमा व्यापक सुधार गर्छौ भन्ने सोचेका थियौँ । खासगरी इकोनोमिक फ्रन्टमा काम गर्ने भनेर उत्साहका साथ धेरै कुरा बदल्न सकिन्छ भनेर गरेको हो । देशलाई चाहिएको कंकर्डको गति हो, तर अहिले सरकार ट्याक्टरको गतिमा छ ।’

टिप्पणीहरू