वरिष्ठ म्याडमलाई कामु, नयाँ अनुहारको खोजी शुरु

नेपाल राष्ट्र बैंकको आगामी चैत २४ गते रिक्त हुने गभर्नर पदका निम्ति नियुक्तिको सरगर्मी बढेको छ । गतसाता क्याबिनेट बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिका लागि स्वीकृति दिएको छ । समितिमा रहने दुई सदस्यमध्ये एकजना पूर्व गभर्नर र अर्का अर्थशास्त्री वा उच्च प्रशासकको खोजी भइरहेको मन्त्रालय स्रोतले बतायो । पूर्व गभर्नरमध्ये सम्भवतः विजयनाथ भट्टराईलाई मन्त्रालयले प्रस्ताव गर्ने सम्भावना बलियो देखिँदै छ ।
आगामी दुई साताभित्र नयाँ गभर्नरका लागि बैंकका दुईमध्ये कम्तीमा एक जना डेपुटीसहित तीन जनाको नाम क्याबिनेटमा सिफारिस गरिने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् । बजारमा चर्चामा ल्याइएका नाम र चलाइएका हल्लामा भन्दा पनि केन्द्रीय बैंकका चुनौतीलाई सामना गर्दै सफल मौद्रिक नीतिको तर्जुमा र कार्यान्वयनमा जोड दिने व्यक्तिको खोजी गर्न थालिएको उनीहरुको भनाइ छ ।
गभर्नर महाप्रसाद अधिकारी आगामी चैत ५ गतेदेखि अनिवार्य १० दिने भ्रमण बिदामा बस्दै छन् । गभर्नरदेखि पियनसम्मलाई वर्षको १० दिन भ्रमण बिदा र २० दिन बराबरको दैनिक भ्रमण भत्ता दिने व्यवस्था छ । यस्तो बिदा हरेक वर्ष बैशाखदेखि चैत मसान्तभित्र लिइसक्नुपर्छ । सोही प्रयोजनका लागि बैंकले भ्रमण बिदा लिन लागेको व्यहोरा उल्लेख गर्दै अर्थ मन्त्रालयमा १० दिनसम्म डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायम मुकायममा मुकरर गरिदिन पत्र पठाएको छ । त्यसबीच एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन तिम्सिनाले विदेश जाने तरखर गर्दै गर्दा अधिकारीले आफू बिदामा बस्ने भएकाले ‘वरिष्ठ’ डेपुटीलाई कामु दिन तालुक अड्डामा निवेदन पठाएपछि उनको विदेश यात्रा रोकिएको बताइन्छ ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अर्थमन्त्री पौडेलसम्मले भावी गभर्नरको रुपरेखा कोर्न थालेको बुझिएको छ । त्यसका लागि तीन वटा फरक फरक क्षेत्र उल्लेख गर्दै उपयुक्त उम्मेदवारको खोजी गरिएको बालुवाटार निकट स्रोतको दाबी छ । पहिलो एमाले निकटस्थ राष्ट्र बैंक क्याडरहरुमध्येबाट, दोस्रो एमाले निकटस्थ अर्थशास्त्री,बैंकर तथा पूर्व प्रशासकहरुमध्येबाट र तेस्रोमा बहालरत डेपुटी गभर्नरहरु,तटस्थको रुपमा चिनिएका तर काँग्रेस निकटस्थ अर्थशास्त्री,बैंकर तथा प्रशासकहरुमध्येबाट एक एक जना छनौट गर्न आवश्यक देखिएको हो ।
पहिलो समूहमा योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ,पूर्व कार्यकारी निर्देशक देवकुमार ढकाललगायतको नाम छनौटमा परेको बुझिएको छ । दोस्रो समूहमा हाल राष्ट्रपति कार्यालय पुर्याइएका यसअघिका राजश्व तथा अर्थसचिव डा. रामप्रसाद घिमिरे,प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई राखिएको छ ।
त्यस्तै तेस्रो समूहमा दुबै जना डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्रका साथै विनोद चौधरीका खास मान्छेको रुपमा परिचित नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना,बूढानीलकण्ठ निकटस्थ अर्थशास्त्री विश्व पौडेल, पूर्व अर्थसचिव रामेश्वर खनाललगायत सम्भावित छन् ।
प्रस्तावित ती नाममध्ये सबैको राजनीतिक संलग्नता र विज्ञतामाथि एकसरो छलफलसमेत भएको बुझिएको छ । जसअनुसार लुम्बिनी प्रदेशका डा. प्रकाशलाई यसअघि डेपुटी गभर्नर बनाउन नसकिएको, क्षमतावान अर्थशास्त्रीको रुपमा एमाले महासचिव शंकर पोखरेल, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र स्वयम् अर्थमन्त्रीले अघि सारेको स्रोतको दाबी छ । मोरङका देवकुमार ढकालको हकमा प्रधानमन्त्री स्वयम् उनी र उनका परिवारका सदस्यहरुको बारेमा धेरै अघिदेखि परिचित रहेको बुझाई छ ।
पूर्व अर्थसचिव तथा हाल राष्ट्रपति कार्यालयमा कार्यरत सचिव डा. घिमिरेको एमालेसँग आवद्धताको बारेमा कुनै शंका नरहेको बालुवाटार स्रोतले पुष्टि गरेको छ । उनी निजामती सेवामा प्रवेश गर्नुअघि राष्ट्र बैंकमा थिए भने अर्थ सचिव हुँदा बैंक सञ्चालक रहे । किरण श्रेष्ठ प्रधानमन्त्री ओलीले माया गर्ने नेवार समुदायका थोरैमध्येका एक र अशोक पनि थकाली समुदायबाट थोरैमध्येका एक निकटवर्ती भएकाले पनि धेरैले भावी गभर्नरको निम्ति सिफारिसमा पर्नेमा उनीहरुको नाम लिएको बुझिन्छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अर्थमन्त्री पौडेलले अशोक राम्रो बैंकर भन्ने गरेको पाइन्छ ।
यता महिला डेपुटी भएकाले निलमलाई धेरैले सम्भावना देखेका हुन् । तर,यसबीच उनले बैंकभित्रैका एक जना कर्मचारीको आडमा बूढानीलकण्ठसँग सामिप्यता गाँसेको थाहा पाएकाले बालुवाटार भरंग भएको चर्चा पनि छ । २०७८ असारमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि तिम्सिना देउवाको नातेदार भनिएका बैतडीका उनै कर्मचारीको आडमा साउनमा गभर्नरलाई पत्तै नदिई बालुवाटार छिरेकी थिइन् । तेह्रथुमकी ढुंगानाको माइती परिवार काँग्रेस निकट र झापाका तिम्सिनाको घर परिवार अधिकांश रवि लामिछानेको रास्वपा निकट रहेकाले पनि उनीसँग एमाले नेतृत्व झस्किएको हुनसक्छ ।
बिचौलिया दीपक भट्ट,व्यापारी विनोद चौधरीहरुले ज्ञानेन्द्रलाई पहिलो उम्मेदवार र विकल्पमा उनकी भतिजी निलमलाई अघि सारेको अवस्था छ । ज्ञानेन्द्रका बा र निलमका हजुरबा एउटै खलकका दाजुभाइ पर्छन् । पूर्व अर्थसचिव खनालको विरुद्ध भने चौधरीहरु हात धोएर लागेको देखिन्छ ।
टिप्पणीहरू