सरकार कमिटी बनाउने, ऋणीहरु मोसो दल्ने,गभर्नर घुम्ने

सरकार कमिटी बनाउने, ऋणीहरु मोसो दल्ने,गभर्नर घुम्ने

सरकारले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंका माग सम्बोधन गर्न भन्दै वार्ता समिति बनाएको छ । प्रसाईंको राष्ट्र, राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाऊ महाअभियानले राखेका मागमाथि छलफल गर्न सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा समिति गठन गरिएको छ । 

समितिमा प्रधानमन्त्रीका सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना सदस्य छन् । प्रसाईंका तर्फबाट पनि तीन जना प्रतिनिधि सिफारिस गर्न भनिएको छ । 

यसअघि प्रधानमन्त्री सुशीला कार्की र प्रसाईंबीच मंसिर २२ गते वार्ता भएको थियो । अर्को वार्ता पर्सि हुने सहमति छ । बैंकहरुबाट लिइएको ऋणमध्ये २० लाखभन्दा कमको ऋण मिनाहा हुनुपर्ने, लघुवित्त वित्तीय संस्था र सहकारी संस्थाका ऋण तिर्न नपर्ने,सरकारी कर्मचारी, सेना तथा प्रहरीको तलब न्यूनतम एक लाख रुपैयाँ हुनुपर्ने भन्दै समाज भड्काउने र मान्छे उराल्ने मागबारे छलफल गर्न सरकारले कमिटी बनाएको छ । प्रसाईंले कर्जा नतिरेपछि,बैंकिङ कसूर गरेपछि कालोसूचीमा परेकालाई हटाउनुपर्ने माग पनि अघि सारेका छन् ।

उनै प्रसाईंको आडमा ऋणीहरुले कर्जा चुक्ता नगर्ने,ताकेताका लागि ऋणीको घर पुगेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने कार्य शुरु भएको छ । कतिपय स्थानमा बैंक तथा वित्तीय संस्थाले कर्जा चुक्ता नगरेपछि सकारेको जग्गा तथा घरमा राखिएको बोर्ड हटाएर सम्बन्धित ऋणीले भोग गरेको अवस्था छ । 

ऋण असुली गर्न गएका ज्योति विकास बैंकको सप्तरीस्थित रुपनी शाखाका कर्मचारीहरुलाई मोसो दल्दै कुटपिट र गालीगलौज गरिएको छ । मंसिर २५ गते कर्मचारीहरु माथि उक्त दुर्व्यवहार गर्नेमा ऋणी र उनीहरुका आफन्त तथा ग्यारेन्टी बस्नेहरु हुन् । यस्ता घटना बढ्दै जाँदा नियामक निकाय नेपाल राष्ट्र बैंकले त्यस्तो घटना रोक्नेतर्फ कुनै पहल गरेको देखिँदैन । 

बरु उल्टै गभर्नर डा. विश्व पौडेलले दुर्गा प्रसाईंले राख्दै आएको कालोसूची हटाउनुपर्ने मागलाई सहयोग पुग्नेगरी धारणा दिँदै आएका छन् । अघिल्लो साता राजधानीको होटल र्याडिसनमा आयोजित कार्यक्रममा पौडेलले कालोसूचीबारे विचार गरिने जानकारी दिँदै राष्ट्र बैंक त्यसमा लागेको बताएका थिए । पौडेलको भनाइ सार्वजनिक भएको भोलिपल्ट प्रसाईंले आफ्ना मागबारे गभर्नर र अर्थमन्त्री सकारात्मक रहेको प्रचार गरिसकेका छन् ।

गभर्नर पौडेल हिजो फेरि घुम्न निस्केका छन् । प्रायः घुम्न जाने उनी हिजो पूर्व अर्थमन्त्री तथा गभर्नर डा. युवराज खतिवडाका ज्वाईं एवम् बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक रामशरण खरेलसहित अर्का एकजनालाई लिएर रुकुम गएको बताइन्छ । बैंकले औपचारिक रुपमा कुनै जानकारी दिएको छैन । दुई साताअघि उनी मध्य पहाडी लोकमार्ग हुँदै पूर्व गएका थिए ।

खोटाङमा वित्तीय साक्षरता कार्यक्रममा सहभागी भएर फर्केका उनी फेरि केही दिनपछि झापा हुँदै ताप्लेजुङ गएर आएका थिए । ती सबै यात्रामा उनले खरेललाई छुटाएका छैनन् । कार्यालयमा निर्णय हुन बाँकी विभागीय फाइलहरु अलपत्र छाडेर गभर्नर भ्रमणमा रमाउने, केन्द्रीय बैंकले खासै निर्णय क्षमता नदेखाएको अवस्थामा सरकारले प्रसाईंसँग पर्सि वार्ता गर्दैछ । उनका मागहरु राजनीतिकभन्दा पनि समाज भाँड्ने र मान्छे उराल्ने प्रकृतिका आर्थिक अराजकता निम्ताउने मागहरु देखिन्छन् । प्रसाईं आफैँ ठूला बैंक तथा वित्तीय संस्थाहरुबाट लिइएका ७ अर्ब बढीका ऋणी हुन् ।

टिप्पणीहरू