राजा र रविको सम्बन्धवारे बल्ल रहस्योदघाटन

जान्नेलाई छान्ने नारा दिएर एकाएक राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विचार र एजेण्डाबारे नागरिकमा जिज्ञासा छ ।
नेपाली कांग्रेस पृष्ठभूमिका थुप्रै नेता अहिले सो पार्टीको अग्रपंक्तिमा देखिएकाले धेरैको बुझाई छ- रास्वपा प्रजातान्त्रिक पार्टी हो । तर, रास्वपाबाट निश्कासित महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछाने राजसंस्थाको पक्षमा रहेको खुलासा गरेका छन् ।
रास्वपा संस्थापकसमेत रहेका उनले पार्टी गठनताकाको एउटा सन्दर्भ जोड्दै लामिछानेको बैचारिक टाटपल्टाईको पर्दाफास गरेका हुन् । रास्वपा कसरी निर्माण भयो भन्नेबारे उनले केही किस्सा सार्वजनिक गरेका छन् ।
‘राजा बोल्न तयार भएनन् । त्यसपछि पनि रवि दाइले राजतन्त्रलाई लाई कुनै न कुनै ढङ्गले समेटौँ भनिराख्नुभयो ।’
ढकालका अनुसार रास्वपा निर्माण हुँदै गर्दा राजतन्त्रको बाटो हिँड्ने कि गणतन्त्रको भन्नेमा बृहत छलफल भएको थियो । ‘त्यतिबेला छलफल गर्नका लागि कोही थिएन,जे जति हुन्थ्यो, हामी दुई बीच नै हुन्थ्यो’, उनले भनेका छन्, ‘रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो ।’
पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न लामिछाने झापासम्म पुगेको र दुई-चार पटक कुरा पनि भएको उनको दाबी छ । तर, आफूले ‘पूर्वराजा स्वयंले बोल्नुपर्छ’ भनेकाे उनले स्मरण गरे । अगाडि भनेका छन्, ‘राजा बोल्न तयार भएनन् । त्यसपछि पनि रवि दाइले राजतन्त्रलाई लाई कुनै न कुनै ढङ्गले समेटौँ भनिराख्नुभयो ।’
पार्टीलाई राजतन्त्रको बाटोमा हिँडाउन त्यतिबेला केही प्रस्तावसमेत तय गरिएको ढकाल बताउँछन् । ती प्रस्ताव सम्झिदै थप्छन्, ‘राजाको निजी सम्पत्ति नहुने,जनताले राजालाई पाल्ने, राजाको सम्पत्ति ट्रस्टमा लगेर सकेसम्म सबै जिल्ला, नत्र कम्तिमा हालका प्रदेश राजधानीमा एकएक वटा ठूला स्कूल र अस्पताल खोलौँ । यति घोषणा गरेर एकैपटक स्कूल र अस्पतालहरूको शिलान्यास गरौँ ।'
तर, पूर्वराजाको पक्षबाट सकारात्मक प्रतिक्रिया नआएपछि पार्टीलाई गणतन्त्रकै बाटोमा हिँडाउने तय भएको ढकालको भनाई छ ।
त्यसो त, लामिछाने स्वयंले पनि राजावादीहरुले पूर्वराजाको स्वागत गरेको विषयमा शंकास्पद अभिव्यक्ति दिएका छन् । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले मागेको एक करोड धरौटी खारेजीको मागसहित बुटवल उच्च अदालतमा निवेदन दर्ता गराएपछि उनले सञ्चाकर्मीसँग भनेका थिए, ‘यसको जवाफ दिने र जिम्मेवारी लिने त सरकार नै हो । तर, एयरपोर्टबाट निर्मल निवाससम्म देखिएको हुल जनताकै हुल हो । त्यो हुलमा सहभागी हुने नेपाली जनता नै हुन् ।’
टिप्पणीहरू