मैले सोध्दा सम्धिनीज्यू हाँसेर टार्नुहुन्छ

मैले सोध्दा सम्धिनीज्यू हाँसेर टार्नुहुन्छ

प्रथम राष्ट्रपति डा. रामवरण यादवकी भतिजी किरण यादव पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी हुन् । नेपाली कांग्रेसको मनोनीत केन्द्रीय सदस्यसमेत रहेकी उनी पहिलो संविधानसभामा समानुपातिक सांसद थिइन् । धनुषा माइती भएका कारण दोस्रो संविधानसभामा भने महोत्तरीबाट प्रत्यक्ष निर्वाचित भइन् । त्यसयता जननिर्वाचित सर्वोच्च थलो संसदमा उनको उपस्थिति छैन । संविधान बनेपछिको पहिलो आमचुनाव २०७४ मा महोत्तरी– २ बाट उठेकी उनी अहिलेका श्रम तथा रोजगारमन्त्री शरद्सिंह भण्डारीसँग पराजित भएकी थिइन् । गत निर्वाचनमा गठबन्धनका कारण सो क्षेत्र लोसपाको भागमा प¥यो । कांग्रेसका तत्कालीन महामन्त्री रामवरणको संरक्षणले राजनीतिमा उदाएको आरोप खेप्दै आएकी उनी अहिले झन् बढी सक्रिय देखिन्छिन् । किरणका एक्ला छोरा अभिषेकको पूर्वराष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमसँग बिहे भएको हो । दुई कार्यकालकी भण्डारीले ‘खोपीको देउता भएर नबस्ने’ अभिव्यक्ति दिएपछि सम्भावित राजनीतिक पुनरागमनबारे विभिन्न अड्कलवाजी भैरहेका छन् । सम्धिनी किरण भने पूर्व राष्ट्रपतिहरू राजनीतिमा फर्किने, नफर्किने विषय उनीहरूको व्यक्तिगत स्वतन्त्रता हो भन्ने मान्यता राख्छिन् । 

-राजकुमार राय

० केमा व्यस्त हुनुहुन्छ ?

– पार्टीले तराई–मधेश समन्वय विभागको जिम्मेवारी दिएको छ । जिल्लातिर आउने–जाने पनि चलिरहन्छ । 

० तपाईंले राजनीतिमा सक्रिय छु भनिरहँदा कांग्रेसले जनजीविकाका सवाल उठाउनै छाड्यो भन्ने जनगुनासो सुनिन्छ । नागरिकको पक्षमा आवाज उठाउन नसक्ने हो भने कोरा राजनीतिक सक्रियताको के अर्थ रहला र ?

– कांग्रेसमा कुनै विषय उठाएकै कारण कसैमाथि कारबाही हुँदैन । खासमा राष्ट्रका समस्या समाधान गर्न सरकार र संसदको बढी भूमिका रहन्छ । त्यसैले कतिपय कुरा नेताले पार्टीको बैठकमा भन्दा पनि सांसदले संसदमा उठाउनु राम्रो हुन्छ । मिडियाले ठूला नेताका कुरालाई मात्रै प्राथमिकता दिने गरेकाले पनि हामी ओझेलमा परेको हुन सक्छ । 

० संविधान संशोधनको मुद्दा उठाएर कांग्रेसले केपी शर्मा ओलीलाई काँध हालेको र कुहिरोको काग बनेको टिप्पणीमाथि तपाईंको के छ प्रतिक्रिया ?

– यो निर्वाचन प्रणालीमा केही कमजोरी छन् । यो रहिरहेसम्म कुनै एक दलले बहुमत ल्याउने अवस्था नै छैन । जसकारण राजनीतिक अस्थिरता बढेको हो । विगतमा छिटो–छिटो सरकार परिवर्तन हुँदा देशले आर्थिक विकासको गति समात्न नसकेको भन्दै हाम्रै पार्टीका वरिष्ठ नेता शेखर कोइरालाले आवाज उठाउनुभएको थियो । कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ भन्ने पनि उहाँ नै हो । दुई ठूला दल मिलेर बनेको सरकार जुन गतिले अगाडि जानुपथ्र्यो, त्यो हुन नसकेको चाहिँ पक्का हो ।  सात बुँदे सहमतिअनुसार सरकारले काम गर्न नसकेको मलाई पनि महसुस भएको छ । यो विषयमा कांग्रेस संवेदनशील हुनुपर्छ । १० वर्षपछि संविधान कार्यान्वयनको अवस्था पुनरवलोकन गर्ने प्रावधान संविधानमै छ, सोहीअनुसार विज्ञहरूसहितको कार्यदल बनाएर छलफल गर्नुपर्छ । 

० प्रधानमन्त्री स्वयंले ०८७ सम्म संविधान संशोधन हुँदैन भन्नुभयो । यसबाट त संविधान संशोधनको आवरणमा सत्तामा पुग्नलाई गठबन्धन बनेको रहेछ भन्ने पुष्टि भएन र ?

– प्रधानमन्त्रीज्यूले कतै बोल्नुभयो र सच्याउनु पनि भयो । हाम्रै पार्टीका कुनै नेताले पनि अन्यथा बोल्नुभयो र फेरि सच्याउनुभयो । संविधान संशोधन गर्ने भनेको देशसँगको कमिटमेन्ट हो । यसमा कोही पछि पर्नुपर्छ भन्न लाग्दैन ।

० त्यसोभए शेरबहादुर देउवा सभापति भएकै बेला संविधान संशोधन हुन्छ त ?

– हुनुपर्छ । किनकि, गठबन्धन बनाउँदाको सात बुँदे सहमतिको जग नै संविधान संशोधन हो, कांग्रेस त्यसबाट पछि हट्नु हुँदैन । शीर्ष नेताले अन्तरात्मादेखि नै चाहने हो भने संविधान संशोधन भोलिबाट नै शुरु हुन सक्छ । सभापतिज्यूको पदावधि त थोरै छ तर गम्भीर भएर लाग्ने हो भने काम थाल्न सकिन्छ । 

० संविधान संशोधनका नाममा कांग्रेस र एमाले समानुपातिक– समावेशी प्रणाली उल्टाउने र साना दललाई निल्ने षड्यन्त्रमा छन् भन्ने विपक्षीहरूको आरोप छ । सत्तापक्षमै रहेका मधेश केन्द्रित दलहरू पनि त्यसै भन्छन्, कुरा के हो ?

– कहिलेकाहीँ संघीयतालाई लिएर बहस चले पनि संस्थागत हिसाबले त्यसप्रति कसैको असहमति छैन । प्रदेशको संख्या कम गर्न सकिन्छ तर संघीयता हटाउन हुँदैन । संघीयता र समानुपातिक हटाउने कुरामा म आफैँ पनि सहमत छैन ।

० प्रमुख पार्टीहरूका गतिविधिले संघीयतालाई बलियो बनाउन योगदान दिएको देख्नुहुन्छ ?

– एमालेको आधिकारिक कुरा उनैले जानुन् तर नेपाली कांग्रेसभित्र संघीयतालाई कमजोर बनाउने गतिविधि भएजस्तो लाग्दैन । 

० सत्ता सहकार्य गर्दै जाँदा तपाईंहरूलाई दुई कम्युनिष्ट पार्टी एमाले र माओवादीमध्ये कुनसँग बढी अनुकूलता महसुस भएको छ ?

– केही कुरालाई सुधार गर्ने हो भने यो सरकार पनि राम्रै तरिकाले चलिरहेको छ । तर, एउटा गठबन्धन तोडेर तत्काल अर्को गठबन्धन बनाउने विगतको नजिरका कारण गठबन्धनप्रतिको विश्वास र भरोशा पक्कै टुटेको छ ।

० अब शेरबहादुर देउवालाई पार्टी नेतृत्वबाट बिदा गर्दै हुनुहुन्छ, ३० वर्ष सत्ता र शक्तिमा हुँदा उहाँले मुलुकका लागि के योगदान दिनुभयो भन्ने लाग्छ ?

– गिरिजाबाबुको नेतृत्वमा ०६२÷६३ को जनआन्दोलन भयो । सुशील कोइरालाको पालामा संविधान जारी भयो । जनआन्दोलन र संविधान निर्माणमा देउवाको उत्तिकै योगदान छ । सबै राम्रो मात्रै गर्नुभयो त भन्दिनँ तर पार्टी निर्माणको लागि खेल्नुभएको भूमिकाको म प्रशंसा नै गर्छु । नेतृत्वमा कमजोरी छैन त भन्न सकिंदैन । अब उहाँले विधान र प्रचलित अभ्यासअनुसार सहजै नेतृत्व सुम्पेर जानुहुन्छ भन्ने विश्वास छ ।

म दुई प्रर्व राष्ट्रपतिको परिवारसँग जोडिएको छु । नन्दबहादुर पुनजस्तै विद्या भण्डारी पनि पार्टीमा फर्किन सक्नुहुन्छ । पूर्व राजाले राप्रपाको नेतृत्व गर्दा पनि हुन्छ ।

बिपी कोइरालादेखि, सुवर्णसमशेर र किसुनजीहरूले सक्षम नेतालाई उत्तराधिकारी बनाएर जानुभयो । अहिले कांग्रेस जुन अवस्थामा छ, त्यो उहाँहरूको सपनाले भएको हो । राम्रो परम्परालाई देउवाले निरन्तरता दिनुहुन्छ भन्ने हामीले ठानेका छौं । 

० तपाईको नजरमा देउवापछि कांग्रेसको नेतृत्व सम्हाल्न सक्ने नेता को हो ?

– देउवासँग प्रतिस्पर्धा गर्नुभएका शेखर कोइराला हुनुहुन्छ । विमलेन्द्र निधि, कृष्ण सिटौला, प्रकाशमान सिंहसहित महामन्त्रीहरू पनि नेतृत्वको लागि तयार देखिनुभएको छ । अरु पनि हुनुहुन्छ ।

० सभापति देउवापत्नी आरजु राणाकै लागि विधान संशोधन गरेर उपसभापति (महिला कोटा) थप्न लागेको चर्चा सुनिन्छ, सत्य के हो ? 

– महिलालाई उपसभापतिमा ल्याउँदा जोसुकै प्रतिस्पर्धा गर्न पाउनुहुन्छ । अहिले अनुमानकै भरमा बोल्नु हुँदैन ।

० पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पारिवारिक भेटघाट हुँदा राजनीतिमा फर्कनेबारे केही भन्नुभएको छ कि ?

– म दुई पूर्वराष्ट्रपतिको परिवारसँग जोडिएको छु । म नेपाली कांग्रेसको राजनीतिमा भए पनि हामीबीच कुराकानी भइरहन्छ । मैले पनि प्रसंग कोट्याउँदा उहाँ हाँसेर टार्नुहुन्छ । अहिले देशभरि घुमिराख्नुभएको छ, एमालेभित्र पनि यसबारे छलफल भइरहेको पाउँछु । उहाँको सोच र इच्छालाई पार्टीले स्वीकार गरेमा अवश्य पनि राजनीतिमा आउनुहोला । त्यो उहाँको व्यक्तिगत स्वतन्त्रता पनि हो ।

० तपाईंको आशय उहाँ राजनीतिमा आउँदा हुन्छ भन्ने हो ? 

– नेपालको राष्ट्रपति आलंकारिक पद हो । राष्ट्रको अभिभावकीय भूमिका रहने सम्मानित पद हो । अवकाशपछि राजनीतिमा आउने कि नआउने भन्ने कुरा कानुनले प्रष्ट पारेको छैन । त्यसकारण मैले व्यक्तिगत स्वतन्त्रता भनेको हुँ । राजनीतिबाहेकको क्षेत्रमा पनि पूर्वराष्ट्रपतिको योगदान रहन सक्छ । जस्तो, प्रथम राष्ट्रपति चुरे संरक्षणका लागि काम गरिरहनुभएको छ । 

० त्यसोभए विद्यादेवी भण्डारीले लिने निर्णयलाई सबैले कदर गर्नुपर्छ भन्ने तपाईंको भनाइ हो ?

– एकदम हो । मैले त्यही भन्न खाजेको हुँ । उहाँको स्वतन्त्रतालाई हामी सबैले कदर गर्नुपर्छ ।

० सम्धिनीलाई तपाईंको सुझावचाहिँ के रहन्छ ?

– राष्ट्रपति भइसकेको व्यक्ति अरु कुनै ओहदामा जानु हुँदैन भनेर संविधानमा लेखिएको छैन । संवैधानिक हिसाबले छेकबार नभएपछि व्यक्तिगत स्वतन्त्रताको कुरा सम्बन्धित व्यक्तिलाई नै छोडिदिँदा राम्रो हुन्छ ।

० मुलुकको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति फेरि डे–टु–डे राजनीतिमा आउँदा त्यसले राष्ट्रपति पदकै गरिमा घट्छ भन्ने चिन्ता पनि जायज होइन र ?

– अहिलेको राजनीति विगतकै परम्पराबाट चलिरहेको छ । यही राजनीतिले देशलाई यहाँसम्म पु¥याएको छ । र, हामी सबै यही राजनीतिक प्रणालीको उत्पादन पनि हौँ । यसभित्रको फोहोरलाई सफा गर्न हामी सबै सक्रिय हुनुपर्छ । 

० पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको वक्तव्यलाई कसरी लिनुभएको छ ?

– उहाँले गर्नेजति सबै गरिसक्नुभयो, अब के बाँकी छ र गर्नलाई ? दलहरूका कारण देश बिग्रियो भन्ने उहाँको भनाइ नै बेठीक छ । दलहरूको आग्रहलाई लत्याउँदा राजतन्त्र ढलेको तथ्य बिर्सिनु भएन । सत्ता हातमा लिएर उहाँले निरंकुश काम गरेको प्रतिरोधस्वरूप कांग्रेस, एमालेजस्ता दल गणतन्त्रको पक्षमा जान बाध्य भएका हुन् । त्यसकारण उहाँले जे बोले पनि त्यसलाई नागरिकले पत्याउनेवाला छैनन् ।

० एउटा राष्ट्रप्रमुखलाई त्यस्तो चुनौती दिँदा अर्को राष्ट्रप्रमुख राजनीतिमा आउने कसरत गर्दै हुनुहुन्छ, तपाईंको कुरा आफैँमा बाझिएन र ?

– दलीय व्यवस्थामा संवैधानिक प्रक्रिया पूरा गरेर जो कोहीलाई पनि राजनीतिमा आउने छुट छ । पार्टी खोल्न र चुनाव लड्न पूर्व राजालाई संविधानले रोकेको छैन । राजनीति गर्ने रहर नै हो भने उहाँले राप्रपाको नेतृत्व गर्दा पनि हुन्छ । विगतमा माओवादी विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा फर्किएको नजिर हेरौं । मैले भनिसकें कि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीमा फर्किएजस्तै आदरणीय विद्या भण्डारी पनि एमालेमा फर्किन सक्नुहुन्छ ।
 

टिप्पणीहरू