युवायुवतीले होली खेल्दा गाली गर्नुपर्ने स्थिति किन आयो ?

नयाँ पुस्ताका लागि भन्दै पूर्वसभामुख अग्नि सापकोटाले चुनावी मैदान खाली गरिदिएपछि ०७९ सालमा सिन्धुपाल्चोक– १ बाट निर्वाचित भएका थिए– माधव सापकोटा ‘सुवोध’ । अहिले संसदको तेश्रो ठूलो दल माओवादी केन्द्रबाट ३२ जना सांसद छन् तर सापकोटा नयाँ अनुहार भए पनि उनको प्रस्तुति माओवादीका पुराना नेतासमेतलाई छायाँमा पार्ने खालको छ । विषयवस्तुको गम्भीर अध्ययन, उठान, प्रस्तुतिका कारण उनी लोकप्रिय छन् । ०५१ सालमा अखिल (क्रान्तिकारी) बाल एकाइ समितिबाट माओवादीमा संगठित हुँदै अगाडि बढेका सापकोटा अहिले केन्द्रीय सदस्य छन् । ०५८ मा तत्कालीन जनमुक्ति सेनाको स्क्वायड कमाण्डर हुँदै कम्पनी कमिसारसमेत रहेका उनी ‘जनयुद्ध’ कालका कुशल कमाण्डर हुन् । ०६३ वैशाख १० गते सिन्धुपाल्चोक सदरमुकाम चौतारामा आक्रमणको कमाण्डर रहेका सापकोटा ०५५ सालदेखि साना–ठूला गरी १६ वटा भिडन्तमा सहभागी भए । शरीरमा अझै पनि गोलीका छर्राहरू छन् । पछिल्लो समय उनी निर्वाचित सांसद, राजनीतिज्ञ र विज्ञबाट मात्र मन्त्री बनाउने, प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुखमा जाने हो भने अधिकांश अस्थिरतारुपी राजनीतिक बादल हटेर जाने टिप्पणीका कारण चर्चामा छन् ।
– हरि गजुरेल
० राजावादीको सल्बलाहटबाट गणतन्त्रवादी तर्सने स्थिति किन आयो ?
‑ बर्बादै भयो भनेर तरंगित हुन जरुरी छैन र केही होइन भनेर अवमूल्यन पनि गर्नु हुँदैन । उहाँहरू स्वतस्फूर्त चलिरहनुभएको छ वा कुनै अदृश्य शक्तिले चलाइरहेको छ ? अभिव्यक्ति हेर्दा स्वतस्फूर्त भन्ने स्थिति छैन । नयाँ पुस्ता जो १८‑२० वर्षे उमेरमा हुर्कंदै छ, यिनीहरूलाई राजतन्त्रकालीन स्थिति, त्यसको दमन, अत्याचार, निरंकुशता थाहा छैन । हामी ज–जसले निरंकुशता भोगेर आयौं, हामीले उनीहरूलाई बुझाइदिनुपर्छ ।
० चिहानमा पुगेको राजतन्त्र जुर्मुराउनुमा तपाईंहरूको हिस्सा कति ?
– व्यवस्था परिवर्तन भयो तर अवस्था फेरिएन । आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरण हुन सकेन । युवा बेरोजगार छन्, कृषकले उत्पादन गरेका उपज बजार नपाएर फ्याँक्नुपर्ने स्थिति छ । बाहिरबाट आएका खाद्य सामग्रीले स्वदेशी सामग्रीलाई विस्थापित गरेको छ । स्वदेशी कृषि उपजको मूल्य छैन । यी विषयलाई हिजो गणतन्त्रका लागि लडेका दलले राम्रोसँग समीक्षा गर्नुपथ्र्याे । हामी पटक–पटक सरकारमा बस्यौं । हाम्रो भागको हिस्सा लिन तयार छौं । वसन्तपुरमा नवजवान युवायुवतीले होली खेल्दै गर्दा राजनीतिक नेतृत्वलाई गाली गर्नुपर्ने स्थिति किन र कसका कारण आयो ? यो कसैको उक्साहटमा भएको भनेर उम्किने छुट छैन । अहिलेको प्रधानमन्त्री कम्युनिष्ट पार्टीको हुनुहुन्छ, उहाँ सोही विचारधाराअनुसार कति हिँडिरहनुभएको छ ? यत्रो घटनाक्रम अगाडि आयो, सबै गणतन्त्रवादीको मिटिङ राखी घटनाक्रमको समीक्षा गर्न किन पहलकदमी नलिनुभएको होला ? यदि केपी ओलीको ठाउँमा प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो भने यस्तै चुपचाप बस्नुहुन्थ्यो होला र ?
० तपाईंहरू तराई–मधेश जागरण अभियानमा होमिएकै बेला राजावादीहरू सल्बलाए भनेर फर्किनुभयो तर एमालेले राजावादीको आन्दोलनमा माओवादीको सहयोग भनेर आरोप लगाइरहेको छ । के भन्नुहुन्छ यसबारे ?
– राजतन्त्रसँग सबैभन्दा निर्णायक रुपमा धक्का लाग्ने गरी माओवादीले नै लडेको हो । ००७ सालमा कांग्रेस विधान सभाको चुनाव भनेर उठ्यो, ०२८ सालमा तत्कालीन मालेले हतियारै उठायो । तर, ०५१ पछिको १० वर्षे जनयुद्ध र जनआन्दोलन नै निर्णायक बन्यो र २४० वर्षे राजतन्त्र ढल्यो । त्यसअर्थमा राजावादीलाई हामीले सहयोग गर्ने कुरै हुँदैन । शनिबार मात्र पार्टी अध्यक्षको मन्तव्य हेर्नुहोस्, झन् कडा रुपमा प्रस्तुत हुनुभएको छ ।
० केपी ओलीको गृहजिल्ला झापाबाट शुरु भएको मधेश जागरण अभियान १२ दिनमै स्थगन भयो । त्यसबीचको जनभावना के पाउनुभयो ?
– हामीले १८ महिना सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्यायसहितको समृद्धि र समाजवादको मार्गचित्र निर्माण गर्यौँ । यस्तै, गिरिबन्धु, भुटानी शरणार्थी, बालमन्दिरको छानबिन तीव्रताको साथ अगाडि बढायौं । अहिलेको सरकार डेडिकेटेट र टंकलाइन विवादमा प¥यो, कुलमान घिसिङमाथि झम्टियो । सेटिङका कतिपय काम सम्पन्न गर्ने गरी रातारात अध्यादेश ल्यायो । यी सबै हेर्दा डे वनदेखि नै सरकार बिचौलिया र सेटिङको काममा उद्यत देखिन्छ । १२ दिने जागरण अभियान क्रममा झापादेखि बाराका जनतामाझ पुग्दा उत्साहप्रद समर्थन रह्यो । कैयौँ सुझाव छन्, हामीले सच्याउनुपर्ने ।
० तपाईंंहरूले राजदूत बनाएका लक्की शेर्पाजस्ता कैयन् पात्र आज माओवादीमा छैनन् । कुनै राजनीतिक नियुक्ति दिनुपर्दा अझै पनि बाहिरकै मान्छे खोज्नुपर्ने स्थिति छ । ब्युरोक्रेसीमा पनि पकड छैन । कसरी टिक्छ माओवादी ?
– यो गम्भीर समीक्षाको विषय हो ।
० ६२÷६३ मा माओवादीको जुन प्रकारको राप ताप थियो, दुई दशकको अन्तरालमा क्रमशः क्षयीकरण हुँदै गएको अवस्था छ । के लाग्छ तपाईंलाई ?
– पहिलो त हामी चिरा–चिरा प¥यौँ । हामी आएको कोर्स सही कि गलत भनेर अन्तरसंघर्षमै रुमल्लियौं । शहीद, घाइते, बेपत्ता, आन्दोलनमा योगदान गरेकादेखि जनतालाई समेत माओवादीभित्रको कचिंगल, द्वन्द्व, विभाजनले निराश बनायो । विभाजित माओवादीलाई एकीकृत तुल्याउने, जनतासँग सम्बन्ध सुदृढ, व्यवस्थित बनाउने र संगठनलाई जीवन्तता दिने कामसहित ०८४ मा स्पष्ट मार्गचित्रका साथ प्रस्तुत भयौं भने गत उपचुनाव, पत्रकार महासंघको निर्वाचनसम्मलाई हेर्दा माओवादीमा सुधार आएजस्तै राम्रो परिणाम देखिन सक्छ ।
० विप्लवसँगको एकता कहाँ पुगेर अड्कियो ?
– छलफल चलिरहेको छ । सबै कम्युनिष्ट पार्टीको बलियो केन्द्र बनाएर समाजवादको बाँकी कार्यभार पूरा गर्नतर्फ लाग्नुपर्छ ।
० तर, पहिले यही मोर्चामा रहेका उपेन्द्र यादव तपाईंहरूसँग बिच्किएका छन्, उनलाई किन मनाउन नसकिएको ?
– उपेन्द्रजीले सत्ताकेन्द्रित राजनीति गर्नुभयो । अध्यादेशमा उहाँको नाटक हेरौं न, एउटा अध्यादेश राम्रो, अर्काे नराम्रो भन्ने हुन्छ र ? उहाँको दृष्टिकोणमै समस्या देखियो । खासमा उपेन्द्रजीले राजनीतिक रुपमा बेइमानी गर्नुभयो । कमरेड प्रचण्डले उहाँकै लागि, पार्टीभित्रको विरोधका बाबजुद हाम्रै पार्टीबाट उठाएको भए पनि जितिने कमरेड पार्टी छोडेर अन्यत्र जाने गरी साथ दिनुभयो । भइरहेको सांसदलाई उपराष्ट्रपति बनाएर उपेन्द्रजीका लागि उपचुनावको मैदान खाली गराएर सांसद बनायो कसले ? समकालीन राजनीति गर्ने अरु नेताले यस्तो गुन लगाउलान् ? हुन त कमरेड केपी ओलीले चालबाजीका साथ उहाँको पार्टी फुटाइदिनुभयो । त्यसमा प्रचण्ड र ओली दुवै भएर विभाजन गरिदिए भन्ने परेको छ । त्यसपछि उहाँ भड्किनुभएको हो ।
० प्रचण्ड प्रधानमन्त्री हुँदा उपेन्द्रको पार्टी फुटाइयो । केपीले कतै यो कुरा बोल्नुभएको छैन तर सिन्धुली पुगेर प्रचण्डले उपेन्द्रको पार्टी मैले फुटाइदिएको हुँ भन्नु आवश्यक थियो र ?
– सीधै हामीले फुटाइदियौँ त भन्नुभएको छैन । उक्त अभिव्यक्तिलाई आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने काम भएको छ । त्यति पनि नबोलेको भए ठीकै हुन्थ्यो कि !
० पार्टीभित्रको नर्सरी मानिने अखिल क्रान्तिकारी, कुनै समय भर्भराउँदो वाइसिएल आज किन भुत्ते भएका ?
– पार्टीकै रापताप त घटेको छ भने ती जनसंगठनको स्थिति पनि कमजोर हुने नै भयो । बीचमा विद्यार्थी संगठन अलिकति आन्तरिक द्वन्द्वमा रुमल्लिएको थियो । अहिले व्यवस्थापन गरेका छौं । उमेर हद लागू भएको छ । निर्वाचनबाटै नेतृत्व छनोट भएको छ । विद्यार्थी संगठनले अब गति लिन्छ, नेताको गोजीबाट निकालेको नाम होइन । आमरुपमा जनवादको अभ्यास गरेर देशैभरका प्रतिनिधिले भोट हालेर जिताएको टिम हो । समाजको ठूलो हिस्सा कि बेरोजगार छ कि विदेशमा छ । राज्यले ती कुरा सम्बोधन गर्न नसक्दा वाइसिएलमा मात्र चार्मिङ ल्याउनु चुनौतीपूर्ण कुरा हो । यी विषयसहित उठाएर अब वाइसिएललाई सक्रिय बनाउनुपर्छ ।
० संसद भनेको जाने, हाजिर लगाउने र फर्कने मात्र थलो हो ? दुई वर्ष बित्दासम्म कुनै कानुन निर्माण हुन सकेको छैन । संसदीय समितिमा कोरम नपुगेर बैठक स्थगन हुन्छ । यी घटनाक्रम देख्दा जनताले कोबाट आशा गर्ने ?
– प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र निर्वाचन प्रणालीमा पुनर्विचार गरौं । आज एउटा सांसदले विकास निर्माणको ठेक्का लगाउन टेबल–टेबल चहार्नुपर्ने स्थिति छ । ठेक्काको पैसा भुक्तानी भएन भनेर खरिदार, सुब्बा, सचिव हुँदै मन्त्रीसम्मलाई भेट्न अर्थ मन्त्रालय धाउनुपरेको छ । विकास निर्माणका काममा बजेट पार्नका लागि पहल पनि गर्नुपरेको छ । ब्युरोक्रेसीले अटोमेटिक गर्नुपर्ने काम सांसदले गर्नुपरेको छ । विकास निर्माणको काम गर्ने अलग्गै संघ संस्था छन्, तिनका काम पनि सांसदले गर्नुपरेको छ । जनताको सुख दुःख बुझ्न गाउँ–गाउँमा पनि पुग्नुपर्छ । अव्यवस्थाका कारणले कामको लोड छ, बहुसंख्यक सांसद कानुन बनाउने, गुणस्तरीय कानुनमा योगदान गर्नेभन्दा मन्त्री, प्रधानमन्त्री हुनेतिर लागे । बकुल्लाले माछा कुरेझैं धैर्यतापूर्वक बस्ने बाध्यता छ सांसदलाई । सांसदले मन्त्री हुन नपाइने र कानुन निर्माणको काममा डेडिकेडेट भएर लाग्ने हो भने अहिलेको समस्या समाधान हुन्छ ।
० अध्यादेशमा तपाईंहरूको आपत्तिचाहिँ के–के हो ?
– संसद बस्न नसक्ने परिस्थिति र कानुन नभएका कारण जनताले दुःख नपाएको स्थितिमा मात्र अध्यादेश ल्याउने हो । अहिले कुनै विपत्ति थिएन, संसद बोलाऊ भनेर हामी कराइरहेका थियौँ । त्यस्तो परिस्थितिमा ६ वटा अध्यादेश र ३१ वटा कानुन ल्याइयो । त एउटा कर्पाेरेट हाउससँग इन्ट्रेस्ट जुध्ने गरी अध्यादेश आएको छ । अध्यादेश भूमिहीन सुकुम्बासी र गुठी समस्याबारे बोल्दैन, सीधै गिरिबन्धुलाई ताकेर उसको समस्या हल गर्ने गरी आउँछ । उद्योगभित्रका कर्मचारी, श्रमिक, मजदुरलाई के गर्ने भनेर केही बोल्दैन, सिधै निजीकरणको मात्र कुरा गर्दछ । कहीँ न कहीँ कर्पाेरेट हाउसको गन्ध आउँछ । धितोपत्र बोर्ड, विद्युत प्राधिकरणमा उहाँहरूको रवैया हेर्नुहोस्, दुईवटा ठूला परियोजनालाई कार्यविधि भत्काएर आफ्ना आफन्तलाई प्रोजेक्ट बाँड्ने, जगदुल्ला हाइड्रोमा मन्त्रीज्यूको हस्तक्षेप, सिञ्चाइका आयोजना ठेक्का लफडा के–के छन्, के–के । यी त बाहिर आएका विषयवस्तु मात्र हुन्, भित्र भित्र के के खिचडी पाकिरहेको छ ?
० राजनीति बूढाखाडाका कारण बिग्रियो भन्ने भाष्य स्थापित भएको छ । कांग्रेसमा गगन विश्वप्रकाश, एमालेमा योगेश, गोकर्ण, माओवादीमा तपाईंहरूजस्ता युवा पछि परिरहने र बूढाखाडालाई मात्र नेता मानेर कहिलेसम्म हिँड्ने हो ?
‑ व्यक्ति विशेष, नेता विशेषमा छलफल गरेर यो विषय हल हुँदैन । राजनीतिमा इन्ट्री हुन्छ तर एक्जिट हुँदैन, छिर्छ तर बिदा हुँदैन, यसैको परिणाम हो यो । यसलाई उमेर हद, कार्यकाललगायत विषय राखेर विधिसम्मत हल गर्नुपर्छ । नेतृत्व रातारात जन्मने होइन । नियमितता र आकस्मिकताको संयोग हो नेतृत्व । तीन पटक लगातार जितिरहेको क्षेत्रबाट सभामुख पनि हुनुभयो अग्नि सापकोटा । उहाँ नयाँ पुस्तालाई छोड्न तयार हुनुभयो र संयोगले म आइपुगेँ । उहाँले नमानेको भए मैले जतिसुकै कुस्ती खेले पनि पाउँदिन थिएँ ।
० एउटा सरकारले विकास निर्माणको काम अगाडि बढाउँछ । उक्त सरकार ढलेपछि त्यो काम ठप्प हुन्छ । यो स्थितिले देश कसरी उँभो लाग्ला ?
– आजको मूल समस्या नै यही हो । अघिल्लो सरकारले लगाएको ठेक्काको भुक्तानी यो सरकारले गर्दैन । उसको रुचि आफूअनुकूलको बाटो खोज्ने र ठेक्का लगाउनेतिर केन्द्रित हुन्छ ।
० तपाईं एनआरएन बद्री केसी समूहले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन विदेश जान लागेको विषयलाई लिएर पार्टीभित्र बबालै मच्चियो । के हो खास लफडा ?
– एनआरएनले बैंककमा अन्तर्राष्ट्रिय युवा सम्मेलन र कम्बोडियामा साउथ एशियाको संगम भन्ने कार्यक्रम राखेको छ । सोही कार्यक्रमका लागि निम्ता गर्नुभयो । एमाले र कांग्रेस पार्टीका युवा नेतालाई पनि निमन्त्रणा आयो । हामी सबैलाई थाहा छ, एनआरएनमा केही विवाद छ, यसबारे पार्टीको एउटा तहसँग परामर्श गरेँ । परराष्ट्र मन्त्रालय, एनआरएनका केही पदाधिकारीसँग पनि सल्लाह भयो तर हामी निकटकै एनआरएनका केही साथीले त्यो कार्यक्रम बहिष्कार गर्नुभएको रहेछ । हामीले बहिष्कार गर्ने, पार्टीकै सांसदले भाग लिँदा असजिलो हुन्छ भनिसकेपछि त्यसलाई मानेर उक्त कार्यक्रमलाई क्यान्सिल गरिदिएको हो ।
टिप्पणीहरू