बाहिर आइसकेपछि मैले ढाक्ने कुरै रहेन

बाहिर आइसकेपछि मैले ढाक्ने कुरै रहेन

पार्टीभित्रको नर्सरी मानिने अखिलको स्कूल कमिटीबाट थालेको राजनीतिक यात्रालाई आरती लामाले अहिले नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीसम्म ल्याइपुर्‍याएकी छन् । उनी उक्त पार्टीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षसमेत थिइन् । तर आन्तरिकपत्रमार्फत हटाइएपछि असन्तुष्ट छिन् । भन्छिन्, ‘अरु जनसंगठनको नेतृत्वलाई भेला, सम्मेलन अथवा अधिवेशन गरेर हेरफेर गरिए पनि युवा र अनेरास्ववियुमा त्यस्तो हुन सकेन । उनको हजुरबुवा सहित बुवा सुरेन्द्र लामा कम्युनिष्ट राजनीतिमा सक्रिय छन् । सर्लाहीको एक राजनीतिक परिवारमा जन्मिएकी आरती विद्यालय कमिटी हुँदै अनेरास्ववियुको महासचिव, अध्यक्ष र पार्टीको केन्द्रीय सदस्य हुँदासम्म धेरै राजनीतिक उतारचढाव देखे, भोगेकी छन् । ०६५ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्यमा विजयी हुँदा कमाण्डर थिइन्, रामकुमारी झाँक्री । केन्द्रीय कमिटीमा दोस्रो पटक विजयी भएर जनकपुर अञ्चलको संयोजक चलाइन् । पछि नविना लामा नेतृत्वको संगठनमा सचिव हुँदै पछि महासचिव बनिन् । पार्टी फुटेपछि माधव नेपाल तिर खुलेकी उनी ‘एक व्यक्ति एक पद’को नीतिअनुसार अखिलको जिम्मेवारीबाट हटाइएकोमा असन्तुष्ट छिन् । 

‑ हरि गजुरेल

० चिहानमा पुर्‍याइएको राजतन्त्रसँग गणतन्त्रवादीहरू किन यस्तरी त्रसित भएका होलान् ? 

‑ यो असन्तुष्टि गणतन्त्र र व्यवस्थाप्रति होइन राजनीतिक दल र नेतृत्वप्रतिको हो । जनताले विकल्प खोजिरहेको कुरा त ०७९ को स्थानीयदेखि संघीय निर्वाचनमै देखिसकेका छौँ । त्यही विकल्पका रूपमा रास्वपाजस्ता दल, बालेन र हर्क साम्पाङहरू उदाए । गणतन्त्रमा जोसुकैले आफ्नो अभिव्यक्ति सार्वजनिक गर्न पाउँछन् । तर आइतबारको ¥यालीमा योगी आदित्यनाथको फोटो प्रचार गरिएको देखिन्छ । उनीहरू कहाँबाट परिचालित हुँदैछन् र यो व्यवस्थालाई कमजोर बनाउन खोज्दै छन् ? यो चिन्ताको विषय हो । 

० चितवनको ठोरी रामको मन्दिर बनाउने, क्याबिनेटमा कमल थापालाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउने, मकवानपुरबाट सूर्य चिह्नमा लडाउने, झापामा राजेन्द्र लिङदेनसँग तालमेल गर्ने केपी ओली कै कारण राजावादीहरू हौसिएका हुन् भन्ने तपाईंको ठहर हो ? 

‑ माडीमा राम मन्दिर बनाउन  प्रधानमन्त्री निवास बालुवाटारबाट रथ यात्रा थाल्नु, दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्य, जगमान गुरुङलाई प्रज्ञा प्रतिष्ठान र गंगा चौधरीलाई माननीय बनाउन के जरुरत थियो । पूर्व राजालाई स्वागत गर्नेको अग्रभागमा तिनै देखिएनन् । एमालेको मत पाएरै राजेन्द्र लिङदेनले चुनाव जितेका होइनन् ? कमल थापासँग गरिएको तालमेल लगायतका घटनाक्रम हेर्दा राजावादीलाई पक्षपोषण र मलजल गर्ने त एमाले नै हो । केपी ओली आफैले केही नभने पनि उनलाई ‘बा’ सम्बोधन गर्ने छोराछोरीले बेला बखत धर्मनिरपेक्षता, संघीयता र हिन्दूराष्ट्र आवश्यक छैन भनेर बोलिरहेको सुन्नुभएकै छ । 
० विद्यार्थी संगठनबाट उदाएका नविना लामा, रामकुमारी झाँक्रीहरु सांसद र पार्टीको केन्द्रीय सदस्यसम्म भए पछि त्यत्तिमै खुम्चिए । अझै उनीमाथि सक्षम नभएका कि नपत्याइएका ? 

‑ संविधानले ३३ प्रतिशत आरक्षण सुनिश्चित गरेसँगै ता त गरेको छ । र, नेपाल नै एउटा यस्तो मुलुक हो जहाँको राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशजस्ता ठाउँमा महिला पुगेका छन् । तर, सामूहिक बलात्कारपछि आत्महत्या, छोरी भएकै कारण जिउँदै जल्नुपरेका घटना पनि यही समाजमा देखिन्छ÷सुनिन्छ । चौतर्फी रूपमा महिला सवलीकरण हुँदै जाँदा कुनै दिन एमाले, माओवादी, एकीकृत समाजवादी वा कांग्रेसलगायत दलको शीर्ष नेतृत्व तिनले गर्ने दिन पक्कै आउँछ । त्यसका लागि राजनीतिक दलले ग्रासरुट लेभलमै महिला सहभागिता बढाउनुपर्छ । नेक्स्ट लिडर को हो ? त्यसबाट स्थापित नेतृत्वले भूमिका निर्वाह गर्नुपर्छ । तर, आफू बन्ने, अन्यलाई प्रतिस्पर्धीको रूपमा हेर्ने प्रवृत्ति पनि छ, हामीभित्र । एउटा महिलाले अर्काेलाई ‘वी आर गोइङ टुगेदर’को कन्सेप्ट राख्नु आवश्यक छ । 

० राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशजस्ता ठाउँमा महिला पुग्दा लड्ने भिड्ने संस्थाको आइजी, सेनापति किन हुन सक्दैनन् ? 

‑ त्यहाँको नियुक्तिमा बढी राजनीतिकरण छ । समस्या हाम्रो सोच मात्र होइन, संरचनामै पनि छ । सडक आन्दोलन गरेर मात्र यो सत्ता र संरचना भत्कँदैन, संविधानमा मात्र लेखेर पनि हुँदैन । क्याबिनेटमा ३३ प्रतिशत महिला सहभागिता पुग्दैन, स्थानीय तहतिर ‘उप’मा सिमित गरिएको छ । 

० १० वर्षमा पुनरवलोकन हुनुपर्ने आरक्षण व्यवस्था १८ वर्षदेखि यथावत् छ । ‘तरमारा वर्ग’लाई लाभैलाभ, लक्षित वर्गलाई अभिषाप किन ? 

‑ तर मारावर्ग मालामाल हुने विषय चिन्ताजनक र खेदजनक छ । हाम्रो देशमा अझै केही बर्ष आरक्षण आवश्यक छ । दक्षिण एशियामै निकै प्रगतिशील छ हाम्रो संविधान । तर, महिला सहभागिता र फेरि पनि सहभागिताका लागि मात्र भयो । त्यो नहुँदासम्म आरक्षण जरुरी छ । महिला पनि सक्षम छौँ भन्ने सामाजिक स्टाटस बनेपछि आरक्षण जरुरी छैन, हट्नुपर्छ । 
० जनजाति आन्दोलन बलियो बनाउन भन्दै पहिला संसदमा ककस बनाइयो । पृथ्वीसुब्बा गुरुङ, रकम चेम्जोङ, अशोक राई, विजय सुब्बाहरू त्यसमा थिए । केही एमालेबाट बिच्किएर हिँडे । जनजाति आन्दोलन कमजोर हुनुको कारण के हो ? 

‑ पछिल्लो समय जनजाति आन्दोलन अलि फितलो, कमजोर भएको हो कि भन्ने लाग्छ । एकता नदेखिएका कारण पनि यो आन्दोलन कमजोर हुन पुगेको हो । यद्यपि, म जातभन्दा वर्गीय राजनीतिमा विश्वास गर्ने मान्छे हुँ । तर हाम्रोजस्तो मुलुकमा जातलाई केही होइन भनेर नकार्ने स्थिति छैन । पछिल्लो समय कोशी प्रदेशमा जनजातिको संख्या बढी हुँदाहुँदै पनि त्यहाँ किरात प्रदेश राख्न खोज्दा सकिँदैन । वाग्मती प्रदेशमा पनि यस्तै हो । माओवादी महासचिव देव गुरुङ, एमालेमा पहिला मुख्यमन्त्री अहिले सञ्चारमन्त्रीको जिम्मेवारी पिएस गुरुङ र हाम्रै पार्टीमा राजेन्द्र राई हुनुहुन्छ । अशोक राईहरूले त्यही नाममा विद्रोह गरेर हिँड्नुभएको छ । अर्काेतिर, जनजाति मुभमेन्टलाई विदेशी डलरबाट परिचालित भनेर आरोप लगाउने गरिन्छ । 

० प्रायःजसो विद्यार्थी नेताहरूले हाइफाइको जिन्दगी बिताइरहेको देखिन्छ । के हो उनीहरूको आयस्रोत ? 

‑ विद्यार्थी राजनीति गर्नेहरू पूर्णकालीन हुने गर्छन् । तिनको गुजारा, घर र गाडी मायाबाट चल्ने कुरा भयो । मलाई काठमाडौंमा परिवार, भाइ बहिनीले टिकाएका हुन् । अहिले पनि विद्यार्थी नै हुँ, टियुमा अध्ययनरत छु । हाम्रो महासचिव घनश्याम भुषालले नै राजनीति गर्नेहरू उत्पादनसँग जोडिनुपर्छ भन्नुभएपछि हिजोदेखि नै व्यवसायमा जोडिएको छु । पहिलो व्यवसाय सफल हुन सकेन । अहिले गृह जिल्ला सर्लाहीमा टुरिज्म बेस्ड (एडभेञ्चर एक्टिभिटिज) गरिरहेको छु । म भूगोलबाटै राजनीति गरेका कारण यहाँसम्म आइपुगेको हुँ । धेरै मान्छेले राजनीतिलाई कमाइ खाने भाँडो बनाएको, चन्दाबाटै जीवनयापन गरेको कारण त्यस्ता आरोप लाग्दै आएको छ । त्यसलाई सुधार्नु जरुरी छ । 

० हिजो नविना, भक्तकुमारी, आरतीहरू एक ठाउँमै, अहिले तपाईं एसतिर लाग्नुभयो । उहाँहरूसँग कत्तिको भेटघाट/सम्पर्क हुन्छ ? 

‑ हिजो माओवादीसँगै ६६ दिन आन्दोलन ग¥यौँ । समग्र वाम आन्दोलनमा विश्वास गर्ने, साथीहरूसँग अहिले पनि सम्बन्ध सुमधुर छ । भक्त, नविनाहरू मेरो अभिभावक, उहाँहरूबाट धेरै कुरा सिक्ने मौका पाएँ । अहिले पार्टी फरक हुँदैमा उहाँहरूप्रति सम्मान कम हुन्छ भन्ने होइन तर पहिले जस्तो डे टु डे चाहिँ छैन । 

० विद्यार्थी राजनीतिबाट आएका सोभियत ढकाल र डा. दिपकप्रकाश बाँस्कोटाहरूलाई एमालेले किन पाखा पारेको होला ? 

‑ उहाँले अखिलको नेतृत्वमा दावी गर्दै गर्दा म केन्द्रीय सदस्यको उम्मेदवार थिएँ । उहाँलाई किन अवसर दिएन, स्थापित गरेन त्यो त पार्टीले नै जानोस् । आन्दोलनबाट स्थापित, लामो समय लागेको व्यक्तिलाई संगठनमा जिम्मेवारी दिएको खण्डमा पार्टी र संगठनकै हित होला । 

० विद्या भण्डारी राजनीतिमा फर्किन सक्ने अवस्था के देख्नुहुन्छ ? 

‑ मोरङमा एक हप्ताको बसाइले केपी ओली खेमामा ठूलो क्षति भएको समाचार पढियो । यो खालको सक्रियताले उहाँ राजनीतिमा फर्किनुहुन्छ कि भन्ने पनि लाग्छ । उहाँ सक्रिय राजनीतिमा फर्किएर ठूलो पार्टीको पहिलो महिला अध्यक्ष हुँदा त्यो ऐतिहासिक घटनाक्रम हुन्छ । त्यसले विशेष महत्व राख्छ । मेरो शुभेच्छा छ । 

० दुई दशकभन्दा लामो योगदान गरेको संगठनबाट सम्मानजनक बिदाइ हुनुपर्नेमा परिपत्रबाट  हटाइएपछि पार्टी बैठकमा चर्काचर्की पर्‍यो नि हैन ? 

‑ धेरै कुरा बाहिर आइसकेको छ, अब ढाक्ने कुरा रहेन । त्यो निर्णयप्रति मेरो आपत्ति छ । पार्टीको बैठक र सचिवालयमा लिखित असहमति दर्ज गरिसकें । यो विषयमा नेतृत्वले छलफल गरेर न्यायोचित कुरा ल्याउनुहुन्छ कि हुन्न थाहा छैन । हाम्रो विद्रोहको जग भनेको पार्टी नीति र विधिसम्मत चल्नुपर्छ भन्ने हो । नेकपा एमाले, केपी ओली विधिसम्मत चलेनन्, नीतिभन्दा नेतृत्व हावी भयो, मूल्य र मान्यता, आत्मसम्मान, विधि भएन भनेरै हामीले विद्रोह गरेको हो । विद्रोहको औचित्य बोली होइन व्यवहारमा हुनुपर्छ । तर म र युवा संघको सन्दर्भमा त्यस्तो देखिएन । हामीलाई पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दियो । त्यसका लागि धन्यवाद तर त्यसो गर्दा नियोजित ढंगले जिम्मेवारीबाट हटाइयो । स्थायी कमिटीको निर्णयको शिकार विद्यार्थी र युवासंघले मात्र हुनु पर्ने हो ? पार्टीको उपाध्यक्षले अनेमसंघको नेतृत्व त छोड्नुभएको छैन । एक व्यक्ति एक पद सबै ठाउँमा लागु छ त ? 

० फागुन १० गतेको बैठकमा पार्टी अध्यक्षसँग चर्काचर्की त्यसैमा परेको हो ? 

‑ अनुशासित हुँदै प्रश्न राखेको थिएँ । उहाँले त्यसलाई अस्वाभाविक रूपमा लिनुभयो । हामीले हिजो प्रश्न गर्न पाएनौँ, आफ्नो कुरा राख्न पाएनौँ भनेर विद्रोह गरेका हौं । पार्टीभित्र केपी ओली निरंकुश भए, दोहोरो संवाद भएन, बैठक राखेनन् भनेर विद्रोह गरेका हौं । तर आज यता पनि प्रश्न गर्दा एकदमै असजिलो मान्न थालियो । केन्द्रीय सदस्यको एउटा प्रश्नले नेतृत्वको जग हल्लिन जरुरी थिएन । प्रश्नको जवाफ दिने वा नदिने त नेतृत्वको विवेकको कुरा हो । 

० आगामी निर्वाचनमा कस्तो पोजिसन होला पार्टीको ?

‑हामीले आन्दोलनको कार्यक्रम घोषणा गर्दै छौँ । अहिले प्रतिगामी तत्व सल्बलाइरहेको स्थिति छ । भ्रष्टाचार, अनियमितताविरुद्ध सुशासन र समृद्धिको पक्षमा आन्दोलन गर्नु पर्नेछ । सडकबाट पार्टीलाई स्थापित गर्ने, जनताको मुद्दालाई उठाउने कुरा छ । यसले हिजोको जस्तो खुम्चिनुपर्ने स्थिति नहोला, सुधार होला । समाजवादी कार्यक्रम घोषणा गर्ने पहिलो पार्टी नै हाम्रो हो । वाम एकताका लागि मियो बन्ने र आम वाम विचार गर्नेहरूलाई ध्रुवीकृत गर्नुपर्ने भनेर हामी युवाले वकालत गरिरहेका छौँ ।

टिप्पणीहरू