ज्यानकै मायाँ मारेर हान्न थालेपछि ती भागे

राजावादी प्रदर्शनका क्रममा गत शुक्रबार कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट भयो । कान्तिपुर, अन्नपूर्ण पोस्ट, एकीकृत समाजवादीको कार्यालयपछि आन्दोलनकारीको निशानामा पर्यो भाटभटेनी । भाटभटेनीका देशभर २७ वटा आउटलेट भएमध्येको एक हो– कोटेश्वरस्थित सुपरमार्केट । जहाँ २२ वर्षदेखि कार्यरत छन्, कृष्णप्रसाद पराजुली । सिन्धुपाल्चोकको जलवीरेमा जन्मिएका पराजुलीले पुरानो भाटभटेनी नक्सालमा १३ वर्ष काम गरे । त्यसयता ९ वर्षदेखि कोटेश्वरमा छन् । भाटभटेनीमा उनको रोजगारीबाट स्नातकसम्म पढेका एक मात्रै छोरा पनि बालुवाटारस्थित भाटभटेनीको सेल्स डिपार्टमेन्टमै जागिरे छन् । शुक्रबार उनै पराजुलीले लुटेराको समूहलाई लौराले हानेर लखेटेको फुटेज अहिले चर्चामा छ । पराजुलीको यो कदमलाई गृहमन्त्री रमेश लेखक, भाटभटेनीका मालिक मीनबहादुर गुरुङदेखि ग्राहक, सुपरमार्केट प्रशासन, सर्वसाधारणसम्मले खुलेरै प्रशंसा गरिरहेका छन् ।
० तपाईं भाटभटेनीमा कसरी छिर्नुभयो र कहिलेदेखि काम गर्दै हुनुहुन्छ ?
– सिन्धुपाल्चोक जलवीरेबाट काठमाडौँ आई केही समय पाटनको मंगलबजार, सातदोबाटोसहित महालक्ष्मीस्थानका घरमा काम गरेँ । केही समय खैनी–चुरोट बेच्दै हिँडेँ । केही समय एलजी कम्पनीमा काम गरेँ, भारी बोकें । त्यसपछि मात्र भाटभटेनीमा जोडिएको हुँ । शुरुका १३ वर्ष नक्साल र यहाँ काम गरेको पनि ९ वर्ष बित्यो ।
० अस्तिको घटना कसरी हुन पुग्यो ?
– राजावादी प्रदर्शनकै क्रममा अपराह्न बाहिरबाट एक हुल मान्छे हाम्रो सुपरमार्केटबाहिर आए । भीडमा भएमध्ये कसैले यहाँ प्रचण्ड र केपी ओलीको लगानी छ, यसलाई हान्नुपर्छ भने । ती उत्तेजित हुनेबित्तिकै गेट लगायौँ । बाहिरबाट अन्धाधुन्ध ढुंगामुढा बर्साउन थाले । त्यतिखेर आफैं भाग्नुपर्ने स्थिति भयो र पछाडिपट्टि गयौँ । हामीले लगाएको सटर केही व्यक्तिले जबर्जस्ती ताने र हुलमा भएकामध्ये २५÷३० जना भित्र छिरे ।
० त्यो हुललाई तपाईं एक्लैले लाठीले हानेर लखेटिरहेको सिसिटिभी फुटेज अहिले सामाजिक सञ्जालमा छरपष्ट छ । त्यो हिम्मत र आँट कसरी आयो ?
‑ पहिला त आफू बच्नुपर्यो, भागेर किचनतिर गयौँ । हामी पछाडि गएपछि आन्दोलनकारीले गेट हल्लाएर, भाँचेर भित्र छिरे । सटर पूरै लगाउन भ्याइएको थिएन, आधा मात्र लगाइएको थियो । भित्र छिरेर सामान लुटपाट गर्न थाले । यसैगरी बसेर हुँदैन, केही प्रतिकार गरौँ भन्ने सल्लाह भयो सूर्यबहादुर र अधिकारी सरहरूबीच । भित्र गएर प्रतिकार गर्न खोज्दा सूर्यबहादुरलाई फलामको पाताले हाने र उहाँको नाकमा चोट लाग्यो । त्यसपछि हामी ट्वाइलेटमा गएर लुक्यौँ । त्यहाँबाट केही समयपछि निस्किँदा लुटपाट भइरहेको देखेपछि भित्र भएका अरु साथीले लात्तै लात्तीले हान्नुभयो । र, त्यहाँबाट लात्ती खाँदै बाहिर आएकाहरूलाई मैलेचाहिँ लठ्ठीले हानेँ । ज्यानकै माया मारेर हान्न थालेपछि उनीहरू डरैले भागे ।
० १२ जना सेक्युरिटी गार्डमध्ये तपाईं एक्लैले ती लुटेरालाई पिटिरहेको देखिन्छ । अरूचाहिँ कहाँ थिए त ?
‑ सबैभन्दा प्यारो त आफ्नै जिउ हुन्छ । जीउ जोगाउनुपर्यो र अफिस पनि । म बाहिर थिएँ । दुई जना साथी भित्र गए । उनीहरूले पालैपालो भित्रबाट लात्ती प्रहार गरे । दिपेश र सूर्यलाई उनीहरूले भित्रबाट हाने । पछाडि लौरो खोज्न गएको थिएँ तर केही भेटिएन । सानो र सेतो लिस्टी भेटियो । त्यसैले हानेको हो । बाहिर त म एक्लै थिएँ ।
० भाटभटेनी सुपरमार्केटमा यसअघि पनि यस्तो घटना भएका थिए ?
‑ २२ वर्षको जागिरे जीवनमा कहिल्यै यस्तो घटना भएको थिएन ।
० लुटेराले के–के लगे यहाँबाट ?
– रक्सी, बियर, भोड्का, घडी, मोबाइल, कस्मेटिक सामान, कम्प्युटरका पार्टपुर्जा लुटेर लगे । सिसी क्यामेरा फुटाइ । महंगा र ब्रान्डेड मोबाइल चोर्न भ्याए । आइसक्रिम राख्ने, बेकरी राख्ने फ्रिज तोडफोड भए । कस्टमरका गाडी पनि फुटाइए ।
० भाटभटेनीमा झण्डै ९० प्रतिशत महिला कर्मचारी छन् । ती आन्दोलनकारीभित्र छिर्दा तिनलाई कसरी संरक्षण गर्नुभयो ?
‑ यहाँ कार्यरत ३ सयभन्दा बढी कर्मचारीमध्ये ९० प्रतिशतभन्दा बढी महिला छन् । आन्दोलनकारी ढुंगामुढा गर्दै छिरेपछि उहाँहरू ग्रोसरीभित्र लुक्नुभयो ।
० तपाईंले गर्नुभएको कामबारे कस्तो प्रतिक्रिया आयो ?
‑ म्यानेजर मुना राईले एकदमै अनुकरणीय भूमिका खेल्नुभयो भन्नुभयो । मिनबहादुर गुरुङ्ग सरले भेटेरै धन्यवाद दिनुभयो । धेरैले तपाईंले भाटभटेनीको इज्जत जोगाउनुभयो भन्छन् तर मैले त कर्तव्य पूरा गरेको मात्र हो ।
० यो घटना भएको कति समयपछि आइपुग्यो प्रहरी ?
‑ चोरी र तोडफोड भइसकेपछि मात्र आइपुग्यो प्रहरी अर्थात् झण्डै दुई घण्टा पछाडि । यहाँका कस्टमरदेखि स्टाफहरूले पटक पटक प्रहरीलाई खबर गर्दा हाम्रै प्रहरीहरू घाइते छन्, उपचाररत छन्, कम संख्यामा छन् भन्ने जवाफ आयो । फेरि कोटेश्वरकै प्रहरीलाई खबर गर्दा त्यो भाटभटेनी भनेको कहाँ हो ? भन्दै थिए ।
० जागिरबाट खुशी हुनुहुन्छ ?
– शुरुमा जागिर खाँदा तलब ३५ सय थियो । अहिले ३५ हजार हाराहारी छ । सञ्चयकोषलगायत अन्य सेवा–सुविधा पनि हुन्छ । एउटै छोरा ऊ पनि भाटभटेनीमै काम गर्दैछ । गाउँको घर जग्गा बेचेर, यहीँबाट आएको तलब बचाएर र केही ऋण गरेर काँडाघारी हरहर महादेवमा घर बनाएको छु । खुशी छु ।
टिप्पणीहरू