राजीनामा स्वीकृत नगर्न प्रहरीको निर्देशन

नेपाल प्रहरीका कर्मचारीहरुको राजीनामा तत्काल स्वीकृत नहुने भएको छ । पछिल्लो समय विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभएसम्मका लागि प्रहरी कर्मचारीहरुको राजीनामा सिफारिस र स्वीकृत नगर्न भनेको हो ।
प्रहरी मुख्यालयअन्तर्गत प्रशासन शाखाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग,महानिरीक्षकको सचिवालय,सबै विभाग,ब्यूरो,नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालयलाई पत्राचार गर्दै अत्यावश्यक अवस्थामा बाहेक प्रहरी कर्मचारीहरुको राजीनामा स्वीकृत नगर्न आग्रह गरेको छ ।
हिजोको पत्रमा भनिएको छ,‘हालको अवस्थालाई मध्यनजर गरी अर्को आदेश नभएसम्म त्यहाँ तथा अन्तर्गतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको अति आवश्यक अवस्थामा बाहेक नोकरी राजीनामा सिफारिस तथा स्वीकृत नगर्न हुन अनुरोध छ ।’
गत चैत १५ गते विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘कमाण्ड’ गरेको राजावादी आन्दोलनले वितण्डा मच्चाएको थियो । सो आन्दोलनमा करोडौंको भौतिक क्षति हुनुका साथै दुई जनाको ज्यान गएको हो । उक्त घटनामा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं केन्द्रित आन्दोलनको तयारी गरिरहेको छ ।
यता, काठमाडौंमा झण्डै दुई सातादेखि शिक्षक र सहकारी पीडितहरुको आन्दोलन जारी छ । एकपछि अर्को आन्दोलन भइरहेकाले मुख्यालयले राजीनामा स्वीकृत नगर्ने निर्णय गरेको बुझिएको छ ।
टिप्पणीहरू