विप्लवसँग मिलेपछि मिराज ढुंगाना झन आक्रमक

विप्लवसँग मिलेपछि मिराज ढुंगाना झन आक्रमक

जेन–जी अभियन्ता भनिने मिराज ढुंगानाले जेन–जी विद्रोह अर्थहीन हुन पुगेको टिप्पणी गरेका छन् । 

आज माईतीघरमा विरोध प्रदर्शनका क्रममा उनले भदौ २३ र २४ गतेको आन्दोलनलाई संस्थागत गर्नुपर्नेमा अर्थहीन निर्वाचनमा लगेर टुंग्याउन खोजिएको बताएका हुन् । ढुंगानाले संविधान संशोधन नगरी यथास्थितिमा हुने निर्वाचनले कुनै उपलब्धि हासिल नहुने जिकिर दोहोर्याए । 

 ‘पात्र मात्र गलत होइनन् यो सिस्टम पनि गलत छ । निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको छ । यसलाई नजरअन्दाज गरेर अन्त्यहिन निर्वाचनतिर धकेलिरहेको छ । व्यक्ति र पात्रमा मात्र होइन, संविधानमा पनि समस्या छन्’, उनले भने । 

नयाँ भनिएका राजनीतिक दलहरूले समेत यो वास्तविकता बुझ्न नसकेको ढुंगानाको भनाइ छ । निर्वाचन नजिँकिँदै गर्दा आफ्नो स्वार्थका लागि ति पार्टीका नेताहरूले बोलि फेरेको उनले बताए । 

‘अहिले आएका केही नयाँ पात्रहरुले के भन्नुहुन्छ भने संविधान मान्य छैन भन्नुहुन्थ्यो अलि पहिला अहिले निर्वाचन नजिँकिँदै गर्दा आफ्नो स्वार्थका लागि संविधान एकदम उत्कृट छ भन्नुहुन्छ । शब्द उहाँहरुको फेरिएको छ  । तर हाम्रो शब्द पहिलाकै हो’, उनले भने, ‘यत्रो विद्रोहबाट हामीले अर्थहीन निर्वाचन पाएका छौँ । यसले के फेरबदल ल्याउँछ ? हाम्रो देशको स्थितिमा । निकास पाउन गाह्रो छ ।’

आजै ढुंगाना नेतृत्वको जेनजी समूहले नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग चार बुँदे सहमति गरेको छ। दुवै जनाले संयुक्त रूपमा सहमति पत्रमा हस्ताक्षर गर्दै राजनीतिक सहकार्यलाई अगाडि बढाउने निर्णय गरेका हुन् ।

सहमतिअनुसार सर्वपक्षीय समझदारी कायम गर्दै अन्तरिम सरकार गठनका लागि संयुक्त संघर्ष गर्ने,  जेनजी विद्रोहले उठाएका मागहरू पूरा गराउन मिलेर आन्दोलन गर्नेलगायतका विषय सहमति पत्रमा उल्लेख छ ।

टिप्पणीहरू