रवि लामिछानेलाई उम्क्याउने खेलविरुद्ध पीडितपक्ष सडकमा
फाइल फाेटाे
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको अभियोग पत्र सच्याउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध प्रदर्शन भएको छ ।
काठमाडौंको माईतीघर मण्डलामा आज सहकारी पीडितहरूले खबरदारी प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले सहकारी ठगी प्रकरणका अभियुक्तमाथि लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘राजनीतिक संरक्षण’ र ‘न्यायको उपहास’ भनेका छन् ।
सहकारी पीडितलाई न्याय दिन माग गर्दै उनीहरूले उक्त निर्णयविरुद्ध चर्को नाराबाजी गरे । महान्यायाधिवक्ता सविता भण्डारी बरालले मंगलवार विभिन्न जिल्ला अदालत (कास्की, रुपन्देही, काठमाडौं र पर्सा) मा लामिछानेविरुद्ध दायर अभियोगपत्र संशोधन गरी संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसूर फिर्ता लिन स्वीकृति दिएकी थिइन् ।
यो निर्णयपछि लामिछानेमाथि सहकारी ठगीको अभियोग मात्र कायम रहने प्रचार गराइएको छ । यद्यपि अदालतले निर्णय नगरेसम्म अभियोगपत्र संशोधन हुँदैन।
प्रदर्शनमा सहभागीहरूले यो निर्णयले सहकारी ठगीका पीडित वचतकर्ताहरूको हकहितलाई प्राथमिकतामा नराखेको र राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा कमजोर बनाइएको गुनासो गरेका छन् । यसअघि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोधका कारण गम्भीर अभियोग लगाइएको भन्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए ।
टिप्पणीहरू