ताप्लेजुङबाट अर्को गृहयुद्ध शुरु हुँदै छ : गीता चौहान

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुक्कुमलुङ) मा निर्माणाधीन केबलकारले मुलुकभर तरंग ल्याएको छ । प्रहरी र केबलकारविरोधी पक्षबीच बारम्बार भिडन्त हुँदा धेरै घाइते भएका छन् । झडपको क्रममा गोलीसमेत चलेको छ । आन्दोलनकारीले थप आन्दोलन चर्काउने भनेका छन् । यस विषयमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको ताप्लेजुङ जिल्ला अध्यक्ष गीता चौहानसँग जनआस्थाकर्मी अनुषा थापाले गरेको कुराकानीको सम्पादित अंश :
० पाथीभरामा केबलकार बनाउनुहुन्छ कि हुँदैन ? तपाईंको संगठन पक्षमा कि विपक्षमा ?
– यस मन्दिरमा अद्भूत शक्ति छ । यहाँ केबलकार बन्नु भनेको हिन्दू धर्ममाथि प्रहार हो ।
० विकासविरोधीले केबलकारको विरोध गरिरहेको आरोप छ नि ?
– प्रकृति दोहन र समुदायको आस्थासँग जोडिएको विषयमा विरोध गर्दा विकास विरोधी होइन्छ ? विकास कसका लागि ? मानवका लागि होइन ? जनताको ज्यान लिएर गरिएको विकासको औचित्य के ? उहाँहरूको लिँडेढिपीले हामीलाई आश्चर्यचकित बनाएको छ । उहाँहरूले १० हजार ३६८ रुख काट्न सम्झौता गर्नुभएको छ । धेरै रुख काटिसक्नुभएको छ । वन नियमावलीमा एउटा रुख काटेबापत २५ वटा विरुवा रोप्नुपर्छ । ढकालजीले त्यहाँ रुख रोप्नुभएको छ ? जंगल फँडानी हुँदा दुर्लभ रेडपाण्डाहरू बस्ती पसेका छन् । रुख काट्नु र जनावरको बासस्थान उजाड्नु विकास हो ?
० दुईतर्फी हठको कारण के जस्तो लाग्छ ?
– कसैकसैको नजर पाथीभराबाट उठ्ने भेटीमा छ । पाथीभरामा बर्सेनि १८ करोड रुपैयाँँ भेटी उठ्छ । नत्र त्यहाँ के हिरामोती जोडिएको छ ? भन्ने मेरो प्रश्न हो । त्यो जग्गा कञ्चनपुर क्षेत्र संरक्षण समितिको हो । तर, त्यसलाई व्यक्तिका नाममा लगियो । व्यक्तिले सात लाख रुपैयाँँमा किनेको जग्गा ढकालजीले २९ करोड ८५ लाखमा खरिद गर्नुभयो । हामीसँग त्यसको प्रमाण छ । ताप्लेजुङबासीले चन्दा उठाएर त्योभन्दा पनि उहाँ पछि हट्न तयार हुनुहुन्न । फेरि त्यहाँ वर्षैभरि पर्यटक आइरहने पनि होइनन् । वर्षमा जेनतेन पाँच महिना पर्यटन सिजन हुन्छ । २४ घण्टा बत्तीको सुविधा पनि छैन । २४ सैं घण्टा बिजुली बल्ने ठाउँमा त लगानी उठाउन गाह्रो छ भने उहाँले मौसम र बत्तीको ठेगान नभएको ठाउँमा किन केबलकार बनाउन खोजेको ?
० केबलकार बन्न नदिने निर्णयबाट तपाईंहरूचाहिँ पछाडि नहट्नुहुने नै हो ?
– ६ वर्षअघिदेखि त्यहाँ केबलकार निर्माणको किचलो शुरु भएको हो । ६ महिनायता ताप्लेजुङमा निरन्तर आन्दोलन भइरहेको छ । माघ १२ गते त गोली नै चल्यो । ताकेर छातीमा ७.६ एमएमको गोली हानिएको छ । ताप्लेजुङबासी मरे पनि, सुरक्षाकर्मी मरे पनि आखिर मर्ने नेपाली दाजुभाइ, दिदीबहिनी नै हुन् ।
० केबलकार बन्दा दर्शनार्थीलाई झन् सहज हुँदैन र ?
– केबलकार बन्दा फाइदा हुने ढकालजी र केही राजनीतिक दललाई मात्र हो । पाथीभरा दर्शन गर्न आउनेको सामान बोक्ने ६ सय जना भरियाले त्यहीँबाट गुजारा चलाउँदै आउनुभएको छ । हजारौं सवारी चालकले पर्यटकलाई पाथीभरासम्म पु¥याएर आफ्नो घरपरिवार पाल्नुहुन्छ । दर्शनार्थी हिँडेरै दर्शन गर्न जान रुचाउनुहुन्छ । अहिले सहज बाटो बनेको छ । किन चाहियो केबलकार ?
० तपाईंकै पार्टीको यसमा धारणा के छ ?
– केबलकार निर्माणको विषय पार्टीसँग सम्बन्धित छैन । यो नितान्त जनताको आस्थासँग जोडिने कुरा हो । हामीले सभापति शेरबहादुर देउवालाई भेटेर कुनै पनि हालतमा केबलकार बनाउन दिनुहुँदैन भनी ध्यानाकर्षण गरायौं । त्यसपछि गृहमन्त्री रमेश लेखकले संसद् बैठकबाट पाथीभरा संरक्षणकारीलाई वार्तामा बोलाउनुभएको छ । मन्त्रीस्तरीय बैठक भयो भने हामी वार्तामा जान्छौं । पक्राउ परेका संरक्षणकारीलाई निःशर्त रिहाई र केबलकार खारेजी हाम्रो माग हो । सरकारले यी माग सम्बोधन गरेन भने अर्को गृहयुद्ध ताप्लेजुङबाट शुरु हुन्छ ।
० जिल्लामा कांग्रेसले केबलकारको विरोध गरेको छ, अन्य पार्टी के भन्छन् ?
– सबैको एउटै स्वर छ– केबलकार बन्नु हुँदैन । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले विरोधै गरेका छन् । फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले मात्रै निर्माणमा जोड गरिरहनुभएको छ । जनतालाई पेलेरै केबलकार बनाउने उहाँको नियत छ । जुन हामी सफल हुन दिँदैनौं । उहाँहरूले जबरजस्ती गर्न खोज्नुभयो भने रगतको खोला बग्छ । किराँत, लिम्बुवानको स्वभाव सबैलाई थाहा छ ।
० ढकालजी निर्णयबाट पछाडि हुनुहोला ?
– उहाँको कुरा सुन्दा मानसिक रूपमा ब्याक भइसक्नुभयो जस्तो लाग्छ । मलाई चाहिँ यस योजनामा उहाँ पनि फस्नुभयो कि जस्तो लाग्दैछ ।
जन आस्था साप्ताहिकको गत अंकबाट साभार
टिप्पणीहरू