एमालेभित्र बालेनको सुराकी

एमालेभित्र बालेनको सुराकी

स्ट्याटस र सामाजिक सञ्जालमार्फत आगो ओकल्ने काठमाडौँका मेयर बालेन साह समस्या पर्दा भने दुला पस्दारहेछन् । करिब २२ सय कर्मचारीलाई तीन तीन महिनादेखि तलब ख्वाउन नसकेपछि अरुलाई टुकुचामा गाड्ने धम्की दिएका उनले चेक काट्ने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई छेकबार गर्न अवैध नगर प्रहरी प्रमुख राजु पाण्डे र पिए भूपदेव साहलाई अघि सारेर आफू देवी देउताको शरणमा हिँडेपछि यस्तो स्थिति देखिएको हो । उनले आफूविरुद्ध एमालेले के कदम चाल्छ भन्ने कुराको जानकारी लिन ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई भित्रिया बनाएको स्रोतको दाबी छ । प्रजापतिले आफ्नो सर्कलभित्र बालेनका पक्ष–विपक्षमा भएका टीका–टिप्पणी सोझै जस्ताको तस्तै लगेर सुनाउने गरेको बताइन्छ । उनी गुरागाइँलाई हाजिर गराउने दिन मेयर साहजस्तै कार्यालयमा अनुपस्थित थिए । 

स्रोतका अनुसार काठमाडौं महानगरपालिकामा स्थायी, अस्थायी, करार र ज्यालादारी गरी संघीय निजामती ऐन र स्थानीय स्वायत्त शासन ऐनअनुसार नियुक्त कर्मचारी २२ सयजति छन् । जसमध्ये कर्मचारी र सफाइ मजदुर करिब ८ सय जना स्थायी होलान् । बालेन आएपछि करिब ४ सय जति महानगर प्रहरी र ४ सय जना सफाइ मजदुर करारमा थपिएका छन् । केही महिनाअघिसम्म उपमेयर सुनिता डंगोल, वडाध्यक्ष र सबैजसो कर्मचारी मेयर उनैको पक्षमा देखिन्थे । तर, कर्मचारीले तलब पाउने वातावरण सिर्जना गर्नुको बदला स्टाटस मात्रै लेखेर भोकभोकै पार्ने चाल देखेपछि विरुद्धमा उभिन ती सबै बाध्य भए । 

बालेनले ३ महिनादेखि कार्यपालिकाको बैठकसमेत नडाकी समस्या समाधानको लागि ठोस प्रयास नगर्दा यस्तो अवस्था आएको हो । उनले अवैधानिक रूपमा नियुक्ति दिएका सल्लाहकारहरूले कर्मचारीलाई फलानो काम गर, त्यो काम नगर भनी आदेश दिने, कानुनसम्मत मिल्दैन भन्दा अर्को शाखामा मिल्काउने, कामै नदिएर पेन्डुलम बनाउने अथवा कारबाहीको डण्डा चलाउने क्रम बढेपछि बिष्फोट भएको घटनाका रूपमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँको हाजिर प्रकरणलाई लिइएको छ । सुनिल लम्साल, भूपदेव साहहरूको सल्लाहमा विभागीय प्रमुखहरू महेशकुमार काफ्ले, भगवती बिडारी र उत्तम दाहाललगायत डेढ दर्जन बढी कर्मचारीलाई बेकामे बनाइएको थियो । यसैगरी, खरिद इकाइमा रहेका इञ्जिनियर कुन्दन नकर्मीलाई एउटा एम्बुलेन्स खरिदमा असहयोग गरेको भन्दै सिसडोलमा फोहोर–मैला हेर्न पठाइएको छ । 

निजले अवैधानिक रूपमा तीन वर्षदेखि राजु पाण्डेलाई निमित्त एसएसपी बनाई उनैमार्फत नगर प्रहरीलाई आफूखुशी परिचालन गरेको देखिन्छ । महानगर प्रहरीमा भएका चार जना डिएसपीमध्ये एक जनाबाहेक अरु सबै पाण्डेकै विरोधमा छन् । उसो त पाण्डेलाई अघि सारेर बालेनका नाममा दाइँ गर्ने पिए साहलाई महानगरको शहरी योजना आयोग (सिटी प्लानिङ कमिसन) अन्तर्गत निमित्त कार्यविधिअनुसार नियुक्ति दिइएको देखिन्छ । सो कार्यविधिले सचिवालयमा कर्मचारी राख्न पाउने व्यवस्था गरेअनुसार मेयर बालेनले छैटौं तहको अधिकृत सरहको सुविधा दिई भूपदेव साहलाई नियुक्त गरे पनि सातौँ तह र त्यसको सेवासुविधा उपभोग गरिरहेका छन् । 

प्रमुख प्रशासकीय अधिकृत गुराराइँ र कार्यपालिकाले चाहने हो भने राजु पाण्डेलाई ऐननियमविपरित तीन वर्षअघि दिइएको आठौं तहको एसएसपी पद र सेवा–सुविधा एकै निर्णयमा चट गर्न सक्छन् । ६ महिनाभन्दा बढी यस्तो सेवासुविधा दिनै पाइन्न । विद्यासुन्दर शाक्य मेयर हुँदा पाण्डेले चार वर्ष घुमेरै जागिर खाएको दावी स्रोतको छ । त्यसबेला उनी बर्दी पनि लगाउँदैनथे ।

गुरागाइँलाई फिर्ती हाजिरीका दिन अवरोध गरेपछि पाण्डेलाई कार्यपालिकाका ३२ सदस्यमध्ये २८ जनाले देखाइदिन लागेका थिए । तर, उपमेयर डंगोलले यस्तो काम विधिसम्मत हुँदैन, कार्यपालिकाबाटै उनलाई कारवाही गर्न सक्छौं, उत्तेजित नहुनुहोस् भन्दै थमथमाएपछि कुटाइबाट जोगिएको दावी स्रोतको छ । त्यसबेला पाण्डेले मेचमा चढ्ने, गुण्डागर्दी गर्ने, जनप्रतिनिधिबाहेकलाई बाहिर निकाल् भन्दै अन्य कर्मचारीलाई गालीगलौज गरेका थिए । त्यसो त महानगरपालिकाभित्र विभागीय प्रमुखका रूपमा दशौं वा नवौं तहका अधिकृत हुन्छन् तर नवौं तहको जिम्मेवारी दिइएकाले पनि पाण्डेको फूर्ति बढेको बताइन्छ । पाण्डेकी श्रीमती गंगा पन्त नेपाल प्रहरीको एसपी छिन् । गुरागाइँको हाजिरीपछि बालेनले उपमेयर सुनिता डंगोल, वडाध्यक्ष र कार्यपालिकाका सदस्य कसैको पनि फोन उठाएका छैनन् । 
 

टिप्पणीहरू