धवललाई छुटाउन निर्णायक बनेको श्रीमतीको त्यो इमेल

राज्य अपराधविरुद्धको कसुर र संगठित अपराधमा तीन साता प्रहरी हिरासतमा बसेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा सांसद धवलसमशेर राणालाई छुटाउन पत्नी प्रतिमा राणाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र नै पठाएको खुलेको छ । चेतावनीसहित अंग्रेजीमा लेखिएको पत्र ईमेल गरेपछि मात्र प्रहरीले उनलाई हिरासतमुक्त गर्ने प्रक्रिया अगाडि बढाएको पाइएको छ ।
गत चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादी आन्दोलनमा उनले वितण्डा मच्चाउन प्रदर्शनकारीहरुलाई उक्साएका थिए । प्रदर्शनकारीहरु उक्साहटमा आउँदा विध्वंश मच्चियो । एक पत्रकारसहित दुई जनाको ज्यान गयो । करोडौंको भौतिक क्षति भयो । त्यसपछि प्रहरीले उनी र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई नियन्त्रणमा लिएर राज्य अपराधविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान अगाडि बढायो ।
क्यान्सर सर्भाइभर धवल र रविन्द्रविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ । पक्राउ परेपछि प्रहरी हिरासतमै बसेका उनलाई छुटाउनका लागि राप्रपाका शीर्ष नेताहरुले प्रधानमन्त्री ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए । बुढानीलकण्ठस्थित देउवा निवासमा भेटघाटका क्रममा उनीहरुले ‘राजा महेन्द्रले क्यान्सर पीडित बिपी कोइरालालाई उपचारका लागि नजरबन्दबाट निकालेर अमेरिका पठाए, तपाईँहरु चाँहि यस्तो अमानवीय व्यवहार गर्ने’ भन्दै असन्तुष्टि पोखेका थिए ।
त्यसपछि सभापति देउवाले निवासबाटै गृहमन्त्री रमेश लेखकलाई फोन गरेर उनलाई छोड्ने वातावरण मिलाउन निर्देशन दिए । स्रोतका अनुसार देउवापत्नी समेत रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा र धवल नातेदार हुन् । ‘दुवै राणा टाढाका नातेदार पर्छन् । त्यसैले पनि देउवाले उनलाई छुटाउन पहल गरेका हुन्’,स्रोतले भन्यो । देउवाले निर्देशन दिए पनि धवल छुट्ने छाँटकाँट नदेखिएपछि प्रतिमाले ओलीको ईमेलमा अन्तर्राष्ट्रिय निकायमा जाने चेतावनी दिँदै पत्र पठाएको स्रोतको दाबी छ ।
"उहाँले बाहिरबाट सबै ठीक छजस्तो देखाएपनि भित्रभित्रैचाँहि फसिन्छ कि भनेर डराउनुभएको थियो । स्वतन्त्र रुपमा बसिरहेको व्यक्ति भएर होला,२४ दिन कस्टडीमा बस्दा सातो गएको थियो ।’
‘अंग्रेजीमा पत्र आएको छ । मेरो क्यान्सर सभाईभर श्रीमान्,सांसद भइसकेको व्यक्तिलाई राज्य अपराधविरुद्धको कसुर लाउन मिल्छ ? इन्टरनेशनल कम्युनिटीमा जान्छु भन्दै उहाँले पत्र पठाउनुभएपछि प्रधानमन्त्री ओलीलाई दबाब भएको हो’,स्रोतले भन्यो । राजावादी आन्दोलनको ‘जनकमाण्डर’ दुर्गा प्रसाईँ पनि क्यान्सर पीडित हुन् । उनले आफूलाई घाँटीको क्यान्सर पीडित बताउँदै आएका छन् । उनी थुनामा रहिरहँदा धवल भने हाजिरी जमानीमा छुटेर उपचार गराइरहेका छन् ।
हिरासतमुक्त भएपछि उनले प्रहरीको व्यवहार राम्रो भएको भन्दै तारिफ गरेका छन् । खानपिनमा समस्या नभएको र थुनामा हुँदा पनि आफू ढुक्क रहेको बताएपनि धवल हिरासतमा रहँदा निकै डराएको प्रहरी स्रोत बताउँछ । बाहिर सब ठीक छजस्तो देखाएपनि मुद्दा लागेपछि उनी भित्रभित्रै गलेको बुझिएको छ ।
स्रोत भन्छ,‘जति नै ढुक्क छु भने पनि मान्छे मुद्दा लागेपछि गल्छ,उहाँको हकमा पनि त्यही देखियो । उहाँले बाहिरबाट सबै ठीक छजस्तो देखाएपनि भित्रभित्रैचाँहि फसिन्छ कि भनेर डराउनुभएको थियो । स्वतन्त्र रुपमा बसिरहेको व्यक्ति भएर होला,२४ दिन कस्टडीमा बस्दा सातो गएको थियो ।’
टिप्पणीहरू