बालेनमाथि मुख्यमन्त्रीको कटाक्ष
कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) सचिव हिक्मतकुमार कार्कीले देश जलाउने प्रवृत्तिविरुद्ध देश बनाउने शक्तिको अभियान आगामी निर्वाचनमा निर्णायक हुने बताएका छन् । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापा–५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गराउने उद्देश्यले फैलाइएका विभिन्न हल्ला र प्रचारबाजीको सन्दर्भमा कार्कीले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
कार्कीले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो निर्वाचनमा नेकपा (एमाले) को ‘देश जलाउनेका विरुद्ध देश बनाउने’ अभियान निर्णायक र सशक्त हुनेछ। डिप–स्टेटका विरुद्ध,अँध्यारो कोठामा बसेर योजना बुन्दै राष्ट्रिय झण्डा ओढेर सिंहदरबार र देशै जलाउनेहरुविरुद्ध यो अभियान हुनेछ । त्यसैले हामी जित्नेछौं।’
उनको टिप्पणी काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन साहतर्फ लक्षित रहेको बुझ्न सकिन्छ । साह फागुन २१ गतेको निर्वाचनमा झापा–५ बाट ओलीको प्रतिस्पर्धी बन्ने चर्चा र समाचार सामाजिक सञ्जालमा व्याप्त छ ।
कार्कीले पछिल्लो प्रचारलाई ‘मिडिया ट्रायल’ को संज्ञा दिएका छन् । एमाले यस किसिमका हल्ला र प्रचारबाजीबाट विचलित नहुने उल्लेख गर्दै उनले पार्टी घोषित नीति, नेतृत्व र कार्यक्रमसहित प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ युद्धस्तरमा चुनावी तयारीमा जुटेको दाबी गरेका छन् । अध्यक्ष ओलीलाई आफ्नै निर्वाचन क्षेत्रमा कमजोर देखाउने प्रयास असफल हुने लेखिएको छ ।

टिप्पणीहरू