ओलीका नाममा करोडौंको ओइरो

ओलीका नाममा करोडौंको ओइरो

शाहीशासनमा राजा–महाराजाको व्यक्तिगत शोख पूरा गर्न राज्य कोषबाट मनलाग्दी खर्च गरिन्थ्यो । राजा र राजपरिवारका सदस्यको खुशीका खातिर सम्झौता हुँदैनथ्यो । राजालाई मन परेका कलाकार विदेशबाट झिकाएर भए पनि दरबारमा नाचगान गराइन्थ्यो । समग्रमा भन्दा ‘मौसुफ सरकार’ को रहरका अगाडि राज्यका प्राथमिकता सधैँ ओझेलमा पर्थे । 

शासकहरूका लहड पूरा गर्न राज्यको ढुकुटी रित्याउने यस्तो चलन गणतन्त्रपछि पनि रोकिएको छैन । जनताको शासन भनिएको यो १७ वर्षे अवधिमा प्रमुख दलका शीर्ष नेताको व्यक्तिगत आकांक्षाका लागि राज्य शक्तिको चरम दुरूपयोग भएका थुप्रै उदाहरण छन् । त्यसमध्ये प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम अग्रपंक्तिमा आउँछ । युवा संघको एस्कर्टिङमा ‘आइ लभ यु केपी बा’ को नारा सुन्दै हिँड्ने बानी परेका ओली वरपर प्रशंसक भेला गरेर कर्णप्रिय शब्द सुन्न मन पराउने नेतामा पर्नुहुन्छ । चट्टानी अडान लिने भनी प्रचारित इखालु स्वभावका उहाँ प्रायः राजर्षी ठाँटमा देखिने गर्नुहुन्छ । नेकपाकालमा उहाँका लागि पार्टी बैठकमा विशेष प्रकारको छुट्टै कुर्सि राखिएको विषय निकै चर्चामा रह्यो । यसबाहेक अर्को एउटा स्वभाव पनि छ आफूलाई मनमा लागेको कुरा गरेरै छाड्ने । ‘हिमवत खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’, र केपी ओली कप फुटबल प्रतियोगिता त्यसैको नमुना हो । 

मदन भण्डारी कला–साहित्य प्रतिष्ठानलाई आयोजक बनाएर सञ्चालन गराइँदै आएको ‘हिमवत खण्ड सम्मिलन’ अन्तर्गत यस वर्ष पनि विभिन्न कार्यक्रम भए । चैत पहिलो साता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देशी–विदेशी पाहुनालाई भव्य स्वागत गरिएको थियो । त्यसअघि आयोजक समिति बनाएर सरकारी खर्चमा बालुवाटारमै भव्य भोजसमेत गरियो । गोकर्ण भिलेज रिसोर्टमा प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथि बनाएर औपचारिक कार्यक्रम आयोजना गरिएको थियो, जहाँ उहाँले अन्तिम राजा ज्ञानेन्द्र शाहलाई गाली गर्दै कविता लेखेर वाचन गर्नुभयो । 

विगतका वर्षहरूमा चन्दा र सहयोग उठाएर गर्ने गरिएकोमा यस वर्ष भने पैसा नउठेपछि सरकारी स्रोत परिचालन गरिएको स्रोत बताउँछ । वास्तवमा देशका लागि उपलब्धिविहीन यो कार्यक्रम प्रधानमन्त्री ओलीको रुचिअनुसार लहडको भरमा गरिएको हो । जानकारहरू भन्छन्, ‘कञ्चनजंघादेखि काश्मिरसम्मको यो क्षेत्र हिमवत खण्डमा पर्छ भन्दै उहाँले व्याख्या गर्नुभयो, त्यसलाई वैधानिकता दिन करोडौँ खर्चिएर कार्यक्रम गरियो ।’

ओलीको इच्छाअनुसार आयोजना हुँदै आएको अर्को कार्यक्रम हो, केपी ओली कप फुटबल । लोकतन्त्रमा सामान्यतः जिउँदो मान्छेको नाममा यस्ता कार्यक्रम कमै हुने गरेको पाइन्छ । तर, एमालेको भ्रातृ संगठन युवा संघले भने केही वर्षदेखि पार्टी अध्यक्षका नामबाट बर्सेनि फुटबल खेलाउँदै आएको छ । देशको लागि उपलब्धि शून्य यो प्रतियोगितामा करोडौँ खर्च हुने गरेको छ । यो वर्ष १६ करोड हाराहारीमा खर्च भएको बताइएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा इटालीका विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोनलाई उपस्थित गराइएको थियो । उनको लागि सवा ५ करोड खर्च गरेको आयोजक युवा संघले उद्घाटनको दिन कलाकार टोलीलाई २० देखि २५ लाख दिएको बताइन्छ । रमाइलो कुराचाहिँ, जसको नाममा १६ करोड खर्च गरेर फुटबल खेलाइयो, रंगशालामा उहीविरुद्ध मूर्दावादको नारा लाग्यो । दशरथ रंगशालामा फाइनल खेल चलिरहँदा कुटाकुट नै हुनेगरी नाराबाजी भएको थियो । 

समाचार स्रोतका अनुसार केपी ओली कप र प्रेस चौतारीका नयाँ अध्यक्ष गणेश पाण्डेले ओलीका नाममा निकालेको कितावका लागि पहिले नै करोडौँ रकम उठाइएकाले हिमवत् खण्डको कार्यक्रममा भने सोचेजस्तो पैसा संकलन भएन । कृषि विकास बैंकका सिइओ गोविन्द गुरुङले बोर्डबाट निर्णय गराएर १२ लाख छुट्याउनुबाहेक अन्तबाट स्रोत जुटाउन महाभारत पर्‍यो । 

देश आर्थिक हिसाबले अप्ठेरो अवस्थामा छ । आम्दानीभन्दा साधारण खर्च बढी हुँदा कर्मचारीलाई तलव खुवाउनसमेत दातासँग हात पसार्नुपर्ने स्थिति बन्दै छ । यस्तो आर्थिक संकटका बेला जनता र राज्यसँग जोडिएका कुरा प्रधानमन्त्रीको प्राथमिकतामा पर्नुपर्ने हो । तर, शासकको रहर पूरा गर्न लहडका भरमा अनुत्पादक क्षेत्रमा मनमौजी खर्च गरिएको छ । वास्तवमा यो गम्भीर समीक्षाको विषय हो कि यस्ता कार्यक्रमबाट देशले के पायो ? व्यक्तिगत आकांक्षाभन्दा एक कदम माथि उठेर सोच्ने हो भने एमालेकै लागि पनि के उपलब्धि भयो ? अध्यक्षले आफ्नो नाममा खेलकुद प्रतियोगिता गराइरहँदा एमालेका एकथरी नेता चिन्ता गर्छन्, ‘फुटबल र कितावको लागि यसरी पैसा उठाउँदा भोलि पार्टीको विधान सम्मेलन र महाधिवेशन गर्नुपर्ला– देश यस्तो तन्नम हालतमा छ, व्यापारीले कति थेग्न सक्लान् !’ 

(विस्तृत ‘बा’को खुशीका लागि २४ करोड, आगामी अंकमा)
 

टिप्पणीहरू