स्वास्थ्यमन्त्री पौडेलविरुद्ध अन्तर्राष्ट्रिय मञ्चमा चर्को नाराबाजी

पछिल्लो समय राजनीतिक नेतृत्वप्रति सर्वसाधारणको वितृष्णा बढ्दै गएको छ । देश–विदेशमा उनीहरुविरुद्ध नारा लाग्न थालेको छ । नेताहरु पुगेको कार्यक्रममा नारा लाग्नु स्वाभाविकझैं भइसकेको छ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हरेक कार्यक्रममा नाराबाजी हुन्छ ।
‘केपी चोर,देश छोड’,‘केपी मूर्दावाद’ लगायतको नारा लाग्छ । प्रधानमन्त्री ओली मात्र नभई अन्य नेताको विरोधमा पनि चर्को आवाज उठ्न थालेको छ । यसवीच कार्यक्रमका लागि दुबई पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलविरुद्ध नेपालीहरुले नाराबाजी गरेका छन् । अन्तर्राष्ट्रिय मञ्चमा आयोजित कार्यक्रममा समेत विरोध भएपछि सामाजिक सञ्जालमा ‘नेताहरु सच्चिने कि सक्किने’ भनी बहस चलेको छ ।
हिजो साँझ दुबईको कृकपार्कमा ‘नेपाल फेस्टिभल, २०२५’ आयोजना गरिएको थियो । प्रमुख अतिथि थिए मन्त्री पौडेल । उनले सम्बोधन गर्ने क्रममा चर्को नाराबाजी भएको हो । सहभागीहरुले ‘ए चोर, देश छोड’ लगायतको हुटिङ्ग गरेका थिए । सहभागीहरुको विरोधको आवाज उनको भाषणभन्दा पनि चर्को सुनिएको थियो ।
सामाजिक सञ्जालमा सो भिडियो भाइरल बनेको छ । देशमा भाषण सुन्न छोडे भनेर विदेश आएका नेताको बेहाल भएको भन्दै रघुधन भुजेलले कटाक्ष गरेका छन् । उनले लेखेका छन्,‘देशमा भाषण सुन्न छाडे भनेर विदेश आएका होलान् तर विदेशमा झन् बाठा भइसके जनता ।’
केही समयपछि नेताहरु लुकेर हिँड्नुपर्ने अवस्था आउने ध्रुव चौधरीको भनाइ छ । ‘यस्तै माहौल रह्यो भने कुनै दिन यिनीहरु लुक्दै हिँड्नुपर्ने हुन्छ । तर, भ्रष्टाचारीलाई लाज लाग्दैन भन्छन्’,उनले लेखेका छन् । त्यसैगरी, शम्भु श्रेष्ठले नेताहरुलाई जनताले विदेशमा पनि नछोड्ने उल्लेख गरेका छन् । लेख्छन्,‘विदेशमा पनि नछाड्ने भए नेताहरुलाई जनताले ।’
टिप्पणीहरू