रविको बाटोमा के–के छन् रोकावट

जिल्ला अदालतको निर्णय चित्त नबुझेर पुनरावेदन गर्न माथि पुगेका रवि लामिछानेलाई उच्च अदालतले थुनामा पठाएपछि धेरैलाई चासो छ– ‘अब कति समयको जेल बास हुने होला ?’ न्याय क्षेत्रका जानकारका अनुसार सर्वोच्चको आदेशमा उनी चाँडै निस्किए भने पनि कम्तीमा ६ महिना त लाग्छ लाग्छ । उनीविरुद्ध पाटन, पोखरा, बुटवललगायत उच्च र जिल्ला अदालतमा जटिल प्रकृतिका मुद्दा छन् । अहिलेसम्म कुनै पनि जिल्ला अदालतले अन्तिम फैसला दिइसकेको छैन । तलका ४ अदालतले त धरौटी र तारिखमा बाहिरै बसेर मुद्दा लड्ने अवसर मात्र दिएको हो । बाहिरै बसेर मुद्दा लड्न जिल्लाले दिएको सुविधा उल्टिएपछि अब जेल बस्नुको विकल्प त छँदै छैन ।
जानकारहरूका अनुसार हाल उच्चमा रहेका सहकारी ठगीसम्बन्धी मुद्दाका फाइल फेरि जिल्लामा फिर्ता हुन्छन् । जिल्लाले अन्तिम फैसलाका लागि प्रक्रिया अघि बढाउँछ । कथंकदाचित सर्वोच्च गए भने उच्च र जिल्ला दुवै अदालतबाट फैसलाका आधार र प्रमाण माग्नुपर्ने हुन्छ । यसरी प्रक्रिया पुर्याएर फाइल झिकाउन र त्यसलाई सुनुवाइमा लैजान कम्तीमा पनि तीन महिना लाग्छ । सर्वोच्चले बुटवलबाट मात्रै फाइल मागेर हेर्दैन । काठमाडौँ, पोखरा, चितवन, पर्सा र बुटवल सबैतिरबाट जम्मा गरेर समष्टिगतमा हेरी फैसला गर्न अति तीव्र गतिमा काम गर्दा पनि ६ महिना लाग्छ । उनी भन्छन्, ‘नेपालमा फास्टट्र्याकबाट काम हुन गाह्रो छ । उनले ०८४ सालको चुनावमा भाग लिन पाउलान् जस्तो लाग्दैन । त्यसो हुनका लागि त सबै मुद्दामा क्लिन चिट पाउनुपर्ने हुन्छ । जुन सम्भवै छैन ।’ हुन पनि एकातिर उच्च अदालत बुटवलले प्राप्त प्रमाण हेर्दा कसुरदार देखिए भनेको छ भने सबैतिरका मुद्दा जोडिने हुँदा सर्वोच्चले पनि तत्कालै निर्णय गरिहाल्न सक्ने स्थिति बन्दैन ।
त्यसबाहेक राहदानी दुरूपयोगको मुद्दा टाउकोमाथि झुण्डिएको तरवारका रूपमा सर्वोच्चमा विचाराधीन छ । उच्च अदालत बुटवलबाट रवि लामिछानेलाई जेल पठाउन आदेश दिने न्यायाधीश रमेश ढकाल त्यसै पनि फौजदारी कानुनका राम्रा अध्यता हुन् । उनले हालै गरेको निर्णय र आदेश त्यति कमजोर छैन कि जसलाई सर्वोच्च अदालतले त्यत्तिकै उल्टाइदियोस् । बेपत्ता आयोगको सचिव र राजस्व न्यायाधीकरणमा पनि बसिसकेका व्यक्ति हुन् । जसले गर्दा उनलाई आर्थिक क्षेत्रका अपराध र वित्तीय विषयबारे राम्रो जानकारी छ । कानुनी आधारलाई केन्द्रमा राखेर जुनसुकै निर्णय गर्न नहिच्किचाउने न्यायाधीशका रूपमा चिनिन्छन् ।
टिप्पणीहरू