सिंगै राजपरिवार एकैछिनमा सोत्तर

सिंगै राजपरिवार एकैछिनमा सोत्तर

रुसी भाषामा जारको अर्थ हुन्छ– सम्राट् । त्यस्तो सम्राट् जोसित ईश्वर बराबरको शक्ति हुन्छ । सन् १५४७ मा राजा इभान (चतुर्थ) ले पहिलो पटक आफूलाई जार घोषित गरेका थिए । रुसमा जब क्रान्तिको आगो दन्कियो त्यसबखत गद्दीमा थिए– निकोलस (द्वितीय) । उनको निरंकुश शासनविरुद्ध सन् १९०५ मा पहिलो क्रान्ति भयो । यो क्रान्तिको नेतृत्वकर्ता पादरी फादर जर्जी ग्यापोन थिए । पछि रुसी क्रान्तिका नायक भ्लादिमिर लेनिन पनि यो क्रान्तिमा सक्रिय रहे । यो क्रान्तिको उद्देश्य जारलाई फ्याँक्ने थिएन, उनलाई संवैधानिक भूमिकामा सीमित पार्ने थियो तर लेनिनलगायत कम्युनिष्ट नेता भने जारकै विरुद्ध थिए । जारले निशस्त्र जनतामाथि अन्धाधुन्द गोली चलाउन सेनालाई आदेश दिए, ५ सय जनाको ज्यान गयो । पहिलो क्रान्ति असफल भएको ठीक १२ वर्षपछि उनै लेनिनको नेतृत्वमा सन् १९१७ को फ्रेब्रुअरीमा बोल्सेभिक क्रान्ति भयो । क्रान्तिले राजतन्त्र अन्त्य गर्‍यो । जार निकोलसलगायत परिवारका सम्पूर्ण सदस्यलाई अलेक्ज्याण्डर दरबारमा नजरबन्द गरियो । पछि पश्चिम साइबेरियाको ताबोल्स्क नगर लगियो । 

त्यहाँ ठूलो जेल भए पनि जारको परिवारलाई जेलमा राखिएन । क्षेत्रीय गभर्नरको भव्य बंगलाबाट केही दिनपश्चात एकातेरिनबर्गमा स्थानान्तरण गरियो । क्रान्तिको सफलतापछि गठित नयाँ सरकारले सन् १९१८ को जुलाईमा जारसहित परिवारका सबैलाई मार्ने निर्णय गर्‍यो । जारलाई थुनिएको घरको सुरक्षा हेर्ने जिम्मा बोल्सेभिक नेता तथा प्रहरी गुप्तचर ‘चेका’ का जवान याकोभ युरोभ्स्कीको थियो । उनले २० अप्रिलमै लेनिनको नाउँमा पत्र लेखेर सो परिवारलाई एउटा भवनमा सुरक्षित राखिएको जानकारी दिएका थिए । जुलाई १६ को दिन याकोभ पार्टी नेतृत्वबाट आउनुपर्ने कोडको प्रतीक्षामा थिए । जुलाई १७ को राति साढे १ बजे उनले कोड प्राप्त गरे । लगत्तै ११ जनाको टोली माथि निदाइराखेको निकोलसको परिवारलाई उठाउन पुग्यो । याकोभको खल्तीमा एउटा कोल्ट पेस्तोल र ७ वटा गोलीको कार्टरिज थियो भने अन्यसित रिभल्भर । 

ढोका राजपरिवारका डाक्टर युगिन बोत्किनले खोले । याकोभले उनलाई शहरमा अशान्ति फैलिएका कारण सबैलाई जमिनमुनिको गोदाममा लानुपर्ने जानकारी दिए । बोत्किनले कुरा बुझे किनभने बोल्सेभिक विरोधी सेनाको टुकडी एकातेरिनबर्गतर्फ बढिरहेको सूचना पहिले नै आइसकेको थियो । याकोभले राजपरिवारका सबै सदस्यलाई छिटो लुगा लगाउन भने । त्यसपछि बोत्किन सबैलाई उठाउन गए । तयार हुन ४० मीनेट लाग्यो । ५० वर्षीय निकोलस र १४ वर्षका छोरा अलेक्सीले सैनिकको जस्तो कमिज, प्यान्ट र बुट लगाए भने ४६ वर्षीया रानी अलेक्ज्याण्ड्रा र ४ छोरीहरू २३ वर्षीया ओल्गा, २१ वर्षीया तातियाना, १९ वर्षीया मारिया र १७ वर्षीया अनास्तासिया पनि लुगा लगाएर बाबुको पछिपछि हिँडे । निकोलसले छोरो अलेक्सीलाई दुई हातले बोकेका थिए किनभने त्यसबखत उनी होमिफिलियाबाट ग्रस्त थिए र हिँड्न सक्दैनथे । अलेक्सी ४० किलोका थिए तैपनि निकोलस अलिकति पनि ढलमल नभई छोरोलाई बोकेर हिँड्दै थिए । पछिपछि रानी थिइन् जो निकोलसभन्दा अग्ली थिइन् । त्यसपछि छोरीहरू । उनीहरूले दुइटा तकिया बोकेका थिए । सबैभन्दा पछाडि कान्छी छोरी अनास्तासियाले सानो कुकुर जेमीलाई बोकेकी थिइन् । 

उनीहरूमध्ये कसैले पनि आफू मारिन लागेको भनेर अलिकति पनि शंका गरेका थिएनन् । याकोभले जमिनमुनि सबैभन्दा कुनाको कोठामा लगे । उक्त कोठा ११ फुट लामो र १३ फुट चौडा थियो । कोठाको फर्निचर पहिल्यै हटाइसकिएको थियो । खाली कोठा देखेर अलेक्ज्याण्ड्राले हामी केमा बस्ने ? एउटा कुर्सीसम्म पनि छैन भनिन् । याकोभले दुइटा कुर्सी मगाए । बेलायती इतिहासकार रोबर्ट सर्भिस आफ्नो पुस्तक ‘दि लास्ट अफ दि जार्स : निकोलस (द्वितीय) एण्ड रसियन रेभोल्युशन’ मा लेख्छन्– रानीको कुरा सुनेर सैनिक जवानहरू कानेखुशी गरे– ‘राजारानी कुर्सीमै बसेर मर्न खोजेका होलान् !’

एउटामा अलेक्ज्याण्ड्रा बसिन् भने अर्कोमा बिरामी छोरो अलेक्सीलाई बसालियो । छोरीहरूले आमा र भाइको पछाडि तकिया राखिदिए । याकोभले ‘तपाईं यहाँ बस्नुस्, तपाईं उता बस्नुस् भनेर सबैलाई उभिन लगाए । उनले फोटो खिच्न लागेको बताए । मस्कोमा राजपरिवार जिउँदो छ कि छैन भन्ने आशंका गर्न थालिएकाले यसो गर्नुपरेको उनको भनाइ थियो । तर, याकोभले फोटोग्राफरको साटो रिभोल्भर बोकेका १० जना साथीलाई भित्र बोलाए । उनीहरू छिर्नेबित्तिकै याकोभले खल्तीबाट एउटा कागजको चिर्कटो निकालेर पढ्न थाले– ‘युरोपस्थित तपाईंका नातेदारहरूले रुसमाथि आक्रमण गर्न थालेका छन्, त्यसैले युराल एक्जिक्युटिभ कमिटीले तपाईंहरूलाई मृत्युदण्ड दिने निर्णय गरेको छ ।’ स्मरणीय छ, अलेक्ज्याण्ड्राका बुबा लुइ (चतुर्थ) जर्मन ड्युक हुन् भने आमा एलिस बेलायती महारानी भिक्टोरियाकी छोरी हुन् । त्यस्तै, निकोलसकी आमा मारिया डेनमार्ककी राजकुमारी थिइन् । 

याकोभको मुखबाट सो कुरा सुनेर निकोलस अवाक बन्दै टाउको फर्काएर परिवारलाई हेरे अनि याकोभलाई खाउँलाजस्तो गरी सोधे, ‘के रे, के रे ?’

याकोभले त्यही कुरा दोहोर्‍याए । लगत्तै खल्तीबाट पेस्तोल निकाले र गोली प्रहार गरे । गोली लागेर निकोलस उभिएको स्थानबाट अघिल्तिर लडे । अरु सैनिकले पनि गोली चलाउन शुरु गरे । सबैलाई कसले कसलाई गोली हान्ने भन्ने जिम्मा दिइसकिएको थियो । यो पनि भनिएको थियो कि गोली छातीमै लागोस् ताकि कम रगत बगेर ती छिट्टै मृत्युलोक पुगुन् । कसै–कसैले आफ्नै साथीको काँधमा रिभोल्भर राखेर गोली चलाएका थिए जसको कारण उनीहरू कोही–कोही काँध जलेर घाइते भए । याकोभले ट्रक चालकलाई पहिल्यै इञ्जिन चालु गरिराख्न भनेका थिए ताकि भित्र गोली चलेको आवाज बाहिर नपुगोस्् । रानी अलेक्ज्याण्ड्रा र छोरीहरूले छातीमा गोली नलागोस् भन्न खातिर दुवै हात क्रस गर्न खोजेका थिए तर त्यसो गर्न भ्याएनन् । अलेक्ज्याण्ड्राले कुर्सीमै प्राण त्यागिन् भने ओल्गाको ज्यान टाउकोमा लागेको एउटै गोलीले गयो । निकोलसका अरु तीन छोरीलाई मर्न केही समय लाग्यो । दनादन गोली चलेकाले कोठा पूर्णरूपमा धुँवाले भरिइसकेको थियो, जसले गर्दा एकार्काको अनुहार देख्न छाडियो भने गोली चलाउनेहरू पनि खोक्दैमा हैरान भइसकेका थिए । 

अनास्तासियाले भित्तामा अडेस लागेर बच्ने कोसिस गरेकी थिइन् तर उनी पनि एकैछिनमा भुइँमा ढलिन् । त्यस्तै, कुर्सीबाट खसिसकेका अलेक्सीले भुइँमा सुतेर बाबुको कमिजको फेर समात्ने कोसिस गरेका थिए, तर एक जना सैनिकले टाउकोमा बुट बर्साए । उनै सैनिक अगाडि बढेर अलेक्सीको कानमा पर्ने गरी दुईवटा गोली दागिदिए । उक्त हत्याकाण्डमा कूल ११ जना मारिएका थिए । राजपरिवारका ७ जना सदस्यबाहेक निजी चिकित्सक बोत्किन, नोकर त्रुप्प, रानीलाई श्रृंगारपटार गर्ने देमिदामा र भान्छे खारितोलोभ । अन्तिममा देमिदामा मारिएकी थिइन् । उनले अन्तिमसम्म पनि कुर्सीको तकियाको सहायताले बच्ने कोसिस गरिन् । उनी ढलिसकेपछि पनि बन्दुकको नालले कम्तीमा ३० पटक प्रहार गरिएको थियो । सबै ढलिसकेपछि याकोभ पेस्तोलमा गोली लोड गर्नुको साटो बाहिर दौडिए र राइफल बोकेर फेरि कोठामा पसे । कोही जिउँदो नरहोस् भन्ने हेतुले फेरि लाशमाथि दनादन गोली चलाए । 

लेखक रोबर्ट मैसीले लेखेका छन्, ‘कोठा रगताम्य भइसकेको थियो । तैपनि, याकोभ गोली लागेर ढलिसकेका सबै जनाको नाडी छाम्न पुगे । त्यसपछि चारै जना राजकुमारीको शवलाई तन्नाले पोको पारेर बाहिर राखिएको ट्रकमा हालियो । सबैभन्दा पहिला निकोलसको शव लोड गरिएको थियो । सबै शवलाई टार्पोलिनले छोप्न लगाइयो । यसबीच, एक जनाले अनास्तासियाको कुकुरलाई देखे र बुटले कुल्चेर मारे । उसलाई पनि ट्रकमा हालियो । पछि याकोभले डायरीमा लेखे– नाडी छाम्नेदेखि सबै शवलाई ट्रकमा हाल्न २० मीनेट लागेको थियो । त्यसपछि ट्रक जंगलतर्फ लाग्यो । शव ट्रकबाट उतारेर घाँसेभूमिमा राखियो । एक–एक गरी सबैको लुगा फुकालियो । राजकुमारीहरूको लुगा फुकाल्दा सिलाएर राखेको रत्नको थैली फेला पर्‍यो । त्यस्तै, रानीको कम्मरमा मोतीको मालाको बेल्ट थियो । बहुमूल्य वस्तु एउटा थैलीमा राखिसकेपछि सबै लुगा जलाइयो । अनि सबै लाश त्यहीँको खाल्डोमा फ्याँक्न लगाइयो । त्यसपछि पेट्रोल र सलफ्युरिक एसिड छर्केर लास जलाइयो । यी सबै काम सक्दा बिहानको १० बजिसकेको थियो । त्यसपछि उनीहरू एकातेरिनबर्ग फर्किए । र, याकोभले युराल रिजनल सोभियतलाई आफ्नो मिसन पूरा भएको सूचना दिए । निकोलस रोमानोभ वंशका थिए । यो वंशले त्यहाँ ३ सय ४ वर्ष शासन गरेको थियो । निकोलस सो वंशका १९ औं सम्राट् थिए । 

टिप्पणीहरू