अमेरिकालाई अर्को झट्का, चीनद्वारा बोइङ हस्तान्तरण प्रक्रिया रोक्का

अमेरिकाले एकतर्फी रुपमा लगाएको चर्को भन्सार शुल्कको जवाफ चीनले अर्कै ढंगबाट ! दिएको छ । आफ्ना वायुसेवा कम्पनीहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि अमेरिकी विमान निर्माण कम्पनी बोइङ्गका कुनै पनि विमानको हस्तान्तरण प्रक्रिया हाललाई स्थगित गर्न निर्देशन दिइएको अन्तर्राष्ट्रिय उपभोक्ता तथा बजारको रियलटाइम विश्लेषक कम्पनी ब्लुमबर्गले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिको विभेदकारी निर्णयको जवाफ दिँदै चीनले आफ्ना सबै वायुसेवा कम्पनीलाई सकेसम्म बोइङका पार्टस् पनि खरिद नगर्न भनेको छ । अमेरिकाले पछिल्लो पटक चिनियाँ सामानमाथि १४५ प्रतिशतसम्म भन्सार कर लगाएको छ ।
अमेरिकी मोबाइल आइफोन र विमान बोइङको ठूलो बजार चीन पनि हो । ट्रम्पको आदेशपछि ती दुबै कम्पनी अप्ठेरोमा पर्ने निश्चित छ । आइफोन मोबाइलमध्ये ९० प्रतिशत चीनमा उत्पादन हुन्छ । बोइङको २० प्रतिशत बजार चीनको हवाई उद्योग हो । सन् २०१८ मा बोइङले २५ प्रतिशत उत्पादन चीनमा बिक्री गरेको थियो । केही वर्षदेखि बोइङले आफ्ना विमान खरिदमा चीनबाट ठूला अर्डर नआएको जनाएको छ । सन् २०१९ मा बोइङका ७३७ म्याक्स विमान दुर्घटनामा परेपछि चीनले तत्काल ती सिरिजका विमान उडानमा रोक लगाएको थियो । त्यसरी अमेरिकी विमानलाई उडान रोक लगाउने चीन पहिलो मुलुक हो ।
चीनले बोइङपछि युरोपेली कम्पनी एअरबसतर्फ आफ्नो व्यवसाय विस्तार गर्न लागेको विश्लेषणसँगै आन्तरिक उत्पादनमा समेत ठूला विमानमा जोड दिएको छ । कोम्याक सी ९१९ न्यारोबडी विमान चीनले उत्पादन गर्न थालिसकेको छ । चीनकै विभिन्न कम्पनीका उडानमा पाँच हजारभन्दा बढी बोइङ विमान प्रयोग भइरहेको छ । सात हजार पाँच सयमध्ये करिब दुई हजार एअरबस हुन् । आगामी केही वर्षभित्र चीनलाई कम्तीमा आठ हजार पाँच सय वटा ठूला विमानको आवश्यकता रहेको बताइन्छ ।
पछिल्लो समय चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशत भन्सारदर घोषणा गरिसकेको छ । हलिउडका फिल्महरु चीनका बजारमा प्रदर्शन हुन छाडेका खबरहरु पनि आइरहेका छन् ।
टिप्पणीहरू